काठमाडौँ । केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि आएको चिनियाँ प्राविधिक टोली चीन फर्किएको छ । तीन साता नेपाल बसेर सम्भाव्यता अध्ययन कसरी गर्ने, भौगोलिक अवस्था के–कस्तो छ आदि विषयमा टोलीले रेल विभागका इन्जिनियरसँग जानकारी लिएको थियो ।
गत पुस २५ र २६ मा रसुवा पुगी अध्ययन गर्ने ठाउँसमेत हेरेर टोली फर्किएको छ । अध्ययनका लागि आएको प्राविधिक टोली चिनियाँ नयाँ वर्ष मनाउन तीन दिनअघि बेइजिङतर्फ गएको विभागका महानिर्देशक रोहित बिसुरालले जनाए ।‘प्राविधिक टोली नआउँदासम्म अन्योल नै थियो ।
तर अब अन्योल छैन, अध्ययनको काम सुरु भएको छ,’ उनले भने, ‘प्राविधिक टोलीले अध्ययन गर्ने ठाउँ हेरेर फर्किएको छ । चिनियाँ नयाँ वर्ष मनाएर आएपछि अध्ययनको काम अघि बढ्छ ।’ प्राविधिक टोली फागुन दोस्रो सातातिर नेपाल फर्किनेछ ।‘अहिले ठाउँ हेर्ने काम मात्र भयो,
दुई दिन लगाएर आयोजना क्षेत्रको सामान्य जानकारी लिने काम पनि भएको छ,’ उनले भने, ‘जसका लागि प्राविधिक स्याफ्रुबेंसी, धुन्चे र रसुवागढीसम्म पुगेको थियो ।’चीनबाट आएको टोलीसँग रेल विभागका महानिर्देशक बिसुरालसहित विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारलगायत अधिकारी रसुवा पुगेका थिए ।
रेलमार्गको सम्भाव्यता अध्ययनका लागि गत पुस १२ मा चिनियाँ प्राविधिक टोली काठमाडौं आइपुगेको थियो । दुई देशबीचमा रेलमार्ग निर्माणको आर्थिक मोडालिटीबारे टुंगो नलागे पनि सम्भाव्यता अध्ययनको सम्पूर्ण खर्च भने चीन सरकारले बेहोर्ने प्रतिबद्धता गरेको छ ।
चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपका ६ जना प्राविधिक अध्ययनका लागि आएका थिए । उक्त रेलमार्गको चर्चा निकै पहिलादेखि भए पनि यसमा थप प्रगति हुन सकेको छैन । प्रारम्भिक अध्ययनअनुसार यसको सम्भाव्यता अध्ययन सक्न ४२ महिना लाग्नेछ ।
दुई वर्षअघिदेखि रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने भनिए पनि कोभिडका कारण चिनियाँ प्राविधिक टोली नेपाल आउन सकेको थिएन । यसअघि गरिएको पूर्वसम्भाव्यता अध्ययनमा प्रारम्भिक विषय मात्र आएका र अब हुने सम्भाव्यता अध्ययनबाट रेलमार्गको वास्तविक दूरी, सुरुङ, लागत, पुलको उचाइ, स्टेसनलगायत विषय टुंगिने जनाइएको छ ।
गत ०७८ चैतमा काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो । चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला दुई देशका उच्च अधिकारीबीच छिट्टै अध्ययन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।यसमा दुई देशका उच्च अधिकारी सहमत थिए ।
तर त्यसपछि अध्ययनका लागि चिनियाँ टोली आएनन् । उक्त रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन ०७५ मंसिरमै भएको थियो ।०७६ असोजमा चीनका राष्ट्रपति सी चिनफिङले गरेको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति भएको थियो ।
उक्त समयमा रेलमार्गको काम चाँडै सुरु गर्नेबारे दुवै देशका उच्च अधिकारी तयार थिए । ‘प्राविधिक टोली आएर अध्ययन गर्ने ठाउँमै पुगिसकेकाले अब अध्ययनको कामले गति लिनेछ,’ बिसुरालले भने ।प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौंसम्म ७२ किमि दूरी रहने रेलमार्गमा ९८ प्रतिशत पहाड पर्छ, जसलाई छेडेर रेलमार्ग बनाइनेछ ।
नेपालका लागि तत्कालीन चिनियाँ राजदूत होउ यान्छीले गत वैशाखमा पत्रकार सम्मेलनका क्रममा नेपाल र चीनबीचको रेलको सम्भाव्यता अध्ययन गर्न ५ देखि ६ वर्ष लाग्न सक्ने बताएकी थिइन् ।गत वैशाख पहिलो साता चिनियाँ सरकारी सञ्चारमाध्यम ‘ग्लोबल टाइम्स’ लाई अन्तर्वार्ता दिने क्रममा यान्छीले प्रारम्भिक अध्ययनअनुसार प्रतिकिमि सुरुङ निर्माण गर्न अनुमानित ३ अर्ब ७० करोड लाग्ने जनाएकी थिइन् ।
यसअनुसार उक्त रेलमार्ग निर्माण गर्न २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ अनुमान छ । तर अहिलेसम्म निर्माणमा खर्च, समय कति लाग्ने भन्नेबारे केही आएको छैन ।‘पहिला प्रारम्भिक अध्ययन मात्र भएकाले धेरै कुरा आउन सकेन,’ उनले भने, ‘सम्भाव्यता अध्ययनपछि यी सबै कुरा आउँछन् ।’
केरुङ–काठमाडौंसँगै चर्चामा रहेको रक्सौल–काठमाडौं रेलमार्गको भने फाइनल सर्भे गत असोजमा सकिएको छ । पाँच महिनाभित्र यसको प्रतिवेदन तयार पारिने रेल विभागले जनाएको छ । सर्भेअनुसार उक्त रेलमार्ग निर्माण गर्न ३ खर्ब २० अर्ब रुपैयाँ लाग्ने बताइएको छ ।
Leave A Comment