चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको आइतबार नै नागरिकताको प्रतिलिपि लिने भएका छन् ।सर्वोच्च अदालतले लामिछानेले प्रयोग गरेको नागरिकता बदर गरेपछि नयाँ प्रतिलिपि नागरिकता लिन लागेका हुन् ।
‘आइतबार नै काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट उहाँ (रवि लामिछाने)ले नागरिकताको प्रतिलिपि लिनुहुनेछ, हामी तयारीमै छौं’–लामिछानको स्वकिय सचिव प्रकाश सिग्देलले भने ।उनका अनुसार नागरिकताको प्रतिलिपि लिने बित्तिकै लामिछाने चितवन आउने छन् ।
उनी गत मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नं.२ बाट निर्वाचित भएका थिए । लामिछानको सांसद पद खारेज भएसंगै यस निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुने भएको छ । उपनिर्वाचनमा पनि लामिछाने नै चितवन २ बाट उम्मेदवार बन्ने बताइएको छ ।
यो पनि – सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद बदर गरिदिएको छ। गत मंसिरको चुनावमा लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। उनको नागरिकता र राहदानी विवादित थियो।
आज फैसला गर्दै सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएको हो। ‘रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत रूपमा नेपाली नागरिकता पुन: कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको हुँदा निजले प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार हुन वा सो पदमा निर्वाचित भई कायम रहन मिल्ने देखिएन,’ फैसलामा भनिएको छ।
साथै सर्वोच्चले लामिछानेले चितवन २ मा उम्मेदवार हुन पाउने अवस्थासमेत नरहेको प्रष्टाएको छ। ‘निजले चितवन २ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार हुन पाउने अवस्था नरहेकोमा उम्मेदवार भई निर्वाचितसमेत भएको देखिँदा निज प्रत्यर्थी रवि लामिछानेलाई उम्मेदवार कामय गर्ने,
निजलाई निर्वाचित घोषणा गर्ने, प्रमाण पत्र दिनेलगायत कामकारबाही नेपालको संविधानको धारा १३३ को उपधारा २ (३) तथा धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ,’ फैसलामा भनिएको छ।साथै संविधान र कानूनको व्याख्यासम्बन्धी गम्भीर र महत्वपूर्ण प्रश्नसमेत सन्निहित रहेको पाइएको भन्दै
निवेदकले निर्वाचन अधिकृत समक्ष दिएको उजुरको तथ्य तथा कानूनी आधारमा प्रवेश गरी निर्वाचन आयोगबाट निर्णय भएको अवस्थासमेत नदेखिएको सर्वोच्चको भनाइ छ।रविले २०५० सालमा नेपाली नागरिकता लिएको, २०७० सालमा अमेरिकी नागरिकता लिएको र त्यसपछि २०७५ सालमा अमेरिकी नागरिकता त्याग्ने प्रयोजनका लागि नेपालस्थित अमेरिकी
दूतावासलाई सूचना दिई २०७५ साल असार १४ गते अमेरिकी नागरिकता त्यागेको देखिएको फैसलामा उल्लेख छ।उनले नेपाली नागरिकता पुन: कायम गर्न नेपाली नागरिकता ऐन २०६३ को दफा ११ तथा नेपाल नागरिकता नियमावली २०६३ को नियम ११ बमोजिम निवेदन नदिएको पनि सर्वोच्चको भनाइ छ।
Leave A Comment