काठमाडौं । source: https://sadaksanchar.com/?p=12704
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने घोषणा गरिसकेका छन् ।
उनी २०७४ मा पनि यहींबाट चुनिएका थिए । तर पाँच वर्षमा धेरै कुरा फेरिएको छ । हिजो प्रचण्डलाई चुनाव जिताउन भूमिका खेलेको नेकपा एमाले, आज उनीसँग छैन ।
हिजो प्रचण्डलाई भोट माग्ने यमबहादुर परियार, अञ्जनकुमार तिमिल्सिनाहरू पनि माओवादी केन्द्र छाडेर एमालेतिर लागेका छन् ।
हिजो प्रचण्डका प्रतिस्पर्धीलाई सघाएको नेपाली कांग्रेस भने आज प्रचण्डसँग छ । यद्यपि उनलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा चितवन कांग्रेस विभाजित छ, तर मूल नेतृत्वले प्रचण्डलाई समर्थन छ ।
राप्रपा उपाध्यक्ष पाण्डे पनि माओवादी अध्यक्ष प्र्रचण्डसँग चुनावी प्रतिस्पर्धा गर्ने तयारीमा छन् । तर उनले एमालेको साथ पाउँछन् कि पाउँदैनन् भन्ने प्रष्ट भइसकेको छैन ।
फेरि होला त एमाले–राप्रपा तालमेल ? स्थानीय निर्वाचनमा एमाले र राप्रपाबीच जिल्लाका ७ मध्ये २ पालिकामा तालमेल भएको थियो ।
तालमेल भएको भरतपुर महानगरपालिका र माडी नगरपालिका दुवै चितवन–३ मै पर्छन् । भरतपुरमा तालमेलले ठूलो प्रभाव परेन, मेयर–उपमेयर दुवै सत्तारुढ गठबन्धनले जित्यो, तर माडीको मेयर एमालेले जित्यो ।
४ मंसिरको प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले र राप्रपाबीच तालमेलको प्रयास भइरहेको छ ।
राप्रपा उपाध्यक्ष पाण्डेले एमालेका जिल्लादेखि केन्द्रसम्मका नेतासँग छलफल भइरहेको जानकारी अनलाइनखबरलाई दिए ।
यो पटक मलाई समर्थन गरेर जाने भन्ने छलफल भइरहेको छ’ उनले भने, ‘म साझा उम्मेदवार हुने सम्भावना बढी छ ।’
तर चितवन–३ मा उम्मेदवार सिफारिस भएका एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने भने राप्रपाले आफूहरूलाई समर्थन गरे सहकार्य हुने बताउँछन् ।
‘चितवन–३ मा यसै पनि राप्रपाभन्दा एमाले ठूलो दल भएकाले उसले सहयोग गर्दा नतिजा आउँछ’ उनी भन्छन्, ‘अन्यथा तालमेल गर्ने कुरै आउँदैन ।’
चितवन–३ को गणित: २०७४ मा कांग्रेसको सहयोगमा चुनाव लडेका पाण्डेलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ९ हजार ३४१ मतले हराएका थिए ।
एमालेको समर्थन पाएका प्रचण्डले ४८ हजार २७६ र पाण्डेले ३८ हजार ९३५ मत पाएका थिए ।
३० वैशाखको स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएको मत हेर्दा यो क्षेत्रमा एमाले र कांग्रेस हाराहारीका शक्ति हुन् भने माओवादी केन्द्र तेस्रो र राप्रपा चौथो दल हो ।
तर एमालेले समर्थन गरे कांग्रेसको विद्रोही पक्षको समेत साथ लिएर चुनाव लड्ने पाण्डेको तयारी छ ।
विवादित छवि: पाण्डेले लामो समयदेखि राजनीति गरेको क्षेत्र हो, चितवन । उनी २०७० सालको संविधानसभा निर्वाचनमा चितवन क्षेत्र नं. ५ बाट विजयी समेत भएका थिए ।
चितवनको निर्वाचन क्षेत्र पुनर्संरचना गर्दा उनको क्षेत्र ३ मा परेको छ ।
यो क्षेत्रमा पाण्डेको सांगठनिक भन्दा पपुलर मत रहेको मानिन्छ । २०७४ मा छोटो समय वन तथा भूसंरक्षण मन्त्री भएका पाण्डे कालिका कन्स्ट्रक्सनका मालिक समेत हुन् ।
उनी बेलाबेला विवादमा मुछिन्छन् । बाँकेको सिक्टा सिंचाइ आयोजनामा कमसल काम गरी भ्रष्टाचार गरेको अभियोगमा पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेविरुद्ध २ अर्ब १३ करोडको भ्रष्टाचार मुद्दा हालेको थियो ।
थुनछेक बहसका क्रममा ४ करोड रुपैयाँ धरौटी राखेर रिहा भएका उनले गत असारमा विशेष अदालतबाट सफाइ पाएका छन् ।
बाबुराम निवासमा प्रचण्डको डिनर मिटिङ : के-के भयो कुराकानी ?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
शुक्रबार साँझ टोखास्थित भट्टराईको निवासमा अध्यक्षद्वयबीच भेटवार्ता भएको हो । भेटवार्तामा अध्यक्ष प्रचण्डसँग गम्भीर वैचारिक राजनीतिक छलफल भएको भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
अध्यक्ष भट्टराईले भनेका छन् : ‘ऐतिहासिक जनयुद्धका उपलब्धी संस्थागत हुनुको सट्टा गुम्दै गैरहेको र प्रतिगामी शक्तिहरूले टाउको उठाउँदै गैरहेको सन्दर्भमा प्रचण्डसँग गम्भीर वैचारिक–राजनीतिक छलफल भएको छ ।’
उनले छलफलमा जनयुद्धको क्रान्तिकारी सारतत्वको सही संश्लेषण गर्दै एक्काइसौं शताब्दीमा समाजवादको नयाँ कार्यदिशा विकास गर्न सहकार्यमा जोड दिइएको समेत बताएका छन् ।
अध्यक्ष प्रचण्ड भट्टराई निवासमा साँझ डिनरका लागि पुगेका थिए । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भट्टराईको दल माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्दैछ।
यो पनि हेर्नुहोस, राष्ट्रिय भूमि आयोगमा एक लाखभन्दा बढी निवेदन
राष्ट्रिय भूमि आयोग कैलाली जिल्ला समितिमा एक लाख १० हजार सात सय ९६ निवेदन दर्ता भएका छन् । भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जा प्राप्तिका उक्त निवेदन दर्ता गराएका हुन् ।
कैलालीका १३ स्थानीय तहमध्ये १० स्थानीय तहका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जाका लागि निवेदन दर्ता गराएका जिल्ला समितिका सदस्यसचिव सुदर्शनसिंह धामीले जानकारी दिए ।
जिल्लामा सबैभन्दा बढी अव्यवस्थित बसोबासीले ९३ हजार पाँच सय ६६, भूमिहीन सुकुम्बासीले नौ हजार छ सय ६४ तथा भूमिहीन दलितले सात हजार पाँच सय ६६ निवेदन दर्ता गराएको उनले बताए ।
सदस्यसचिव धामीका अनुसार धनगढी उपमहानगरपालिकाका १७ हजार चार सय ५३, गोदावरी नगरपालिकाका १८ हजार ६४, भजनी नगरपालिकाका नौ हजार तीन सय १३ र कैलारी गाउँपालिकाका छ हजार आठ सय सात भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दर्ता गराएका छन् ।
त्यसैगरी घोडाघोडी नगरपालिकाका १३ हजार ५७, लम्कीचुहा नगरपालिकाका १७ हजार पाँच सय ३३ र गौरीगङ्गा नगरपालिकाका १२ हजार तीन सय ४८ जनाको निवेदन दर्ता भएको जनाइएको छ ।
बर्दगोरियाका छ हजार दुई सय ९४, जोशीपुर गाउँपालिकाका चार हजार चार सय दुई र जानकी गाउँपालिकाका पाँच हजार पाँच सय २५ जनाको निवेदन दर्ता भएको छ ।
टीकापुर नगरपालिका, मोहन्याल गाउँपालिका र चुरे गाउँपालिकाको तथ्याङ्क नआएको र लगत सङ्कलन भइरहेको जनाइएको छ । आयोगले २०७८ चैत २५ गते धनगढी उपमहानरपालिकाका २२ र यही भदौ ७ गते लम्कीचुहा नगरपालिका बल्चौरका एक सय २४ भूमिहीन दलित परिवारलाई लालपुर्जा पनि वितरण गरिसकेको छ ।
सदस्य सचिव धामीले लगत सङ्कलनको काम जारी रहेकाले अझै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीको सङ्ख्या बढ्ने बताए ।
धनगढी उपहानगरपालिका, गोदावरी, भजनी, लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिका गरी पाँच स्थानीय तहमा नाप नक्साको काम भइरहेको छ भने बाँकी पालिकामा प्वाइन्ट कायम गर्ने, लगत सङ्कलन गर्ने, नाप नक्साको तयारी गर्ने काम भइरहेको छ । संविधानमा भएको व्यवस्थाअनुसार पहिलो प्राथमिकतामा भूमिहीन दलित दोस्रोमा भूमिहीन सुकुम्बासी र तेस्रोमा अव्यवस्थित बसोबासी रहेका छन् ।
Leave A Comment