काठमाडौं – फ्रेन्च क्लब पिएसजीका एक प्रमुख खेलाडी ब्राजिलियन स्टार नेइमार फेरि गम्भीर चोटबाट पीडित भएका छन् । घरेलु लिग १ मा आज आइतबार भको खेलमा नेइमारले चोट बोकेर खेलको २५औं मिनेटमा मैदान छाडे ।
खुट्टाको जोर्नीमा गम्भीर चोट परेपछि नेइमारले उभिँदा खुट्टा टेक्न समेत नसकेपछि उनलाई स्ट्रेचरमा राखेर मैदानबाट निकालिएको थियो । मेस्सीको खुट्टमा निकै गम्भीर चोट परेको अनुमान गर्न सकिन्छ । स्ट्रेचरमा बसेर मैदान छाड्दा नेइमार रोइरहेका थिए ।
नेइमार घाइते भएसँगै च्याम्पियन्स लिगमा जर्मन क्लब बार्यन म्युनिखसँगको खेलमा उनले नखेल्ने पक्काजस्तै भएको छ । सो खेल बार्यनको घरमा हुँदैछ । पहिलो लेगमा पिएसजी आफ्नै घरमा पराजित भएको थियो । नेइमार घाइते भएपछि प्रशिक्षक क्रिस्टोफ गाल्टियरले मिडियासँग कुरा गर्दै नेइमारको चोट कस्तो हो भनेर अनुमान गर्न नसकिने र उनको आजै चेकजाँच हुने बताए ।
त्यसपछि मात्रै थप जानकारी आने गाल्टियरले बताएका छन् । क्लबले नेइमारको जाँचपछि मेडिकल अपडेट दिनेछ ।हारको ह्याट्रिक पूरा गरेर आएको फ्रेन्च क्लब पिएसजीले लगातार चौथो खेलमा हारको मुखैमा पुगेका बेला निकै रोमाञ्चक जित निकालेको छ । घरेलु लिग १ मा आज पिएसजीले आफ्नो घरेलु मैदानमा पाहुना टोली लिलविरुद्ध ४–३ को जित निकालेको हो ।
पछिल्ला ३ खेलमा लगातार हारेर आएको पिएसजी आज पनि हारको मुखैमा पुगेको थियो । तर, इन्जुरी समयमा गोल गर्दै पिएसजीले रोमाञ्चक जित मात्रै निकालेन, हारको खराब शृंखला पनि टुंग्यायो । आजको जितसँगै पिएसजी ह्याट्रिक हारको पीडा छिचोलेर जितको बाटोमा फर्किएको छ ।
आफ्नो घरमा पिएसजीले १७औं मिनेटमा २–० को अग्रता बनाएको अवस्थामा त्यसपछि लगातार ३ गोल खाएर ६९औं मिनेटमा पुग्दा २–३ ले पछि परेको थियो । तेस्रो गोल खाएसँगै पिएसजी हारतर्फ लागेको थियो । तर, खेलको अन्तिम समयमा बराबरी गोल गरेसँगै पिएसजीले इन्जुरी समयमा जित हात पार्न सफल भयो ।
पहिलो हाफमा पिएसजीले २–१ को अग्रता लिएको थियो । पिएसजीका लागि पहिलो गोल खेलको ११औं मिनेटमै एमबाप्पेले गरेका थिए । उनले लिलका २ जना खेलाडीलाई बक्सभित्र बडा जादुयी तरिकाले छलाउँदै २ जनाका बीचबाट जबर्जस्त बल छिराएर एक खेलाडीको स्लाइडिङ ब्लक समेत छिचोलेर हानेको स्लाइडिङ सटमा गोलकिपरका बलले मुनिबाट निकै उत्कृष्ट ढंगले जाली चुमेको थियो ।
एमबाप्पेले गोलकिपर सहित ४ विपक्षी खेलाडीको अवरोध छिचोल्दै निकै शानदार गोल गरेका थिए ।एमबाप्पेको दर्शनीय गोलमा ब्राजिलियन स्टार नेइमारले असिस्ट प्रदान गरेका थिए । त्यसपछि १७औं मिनेटमा पिएसजीले दोस्रो गोल पनि हान्यो । यसपटक बक्स भित्रबाट नेइमारले सजिलै गोल गरेर अग्रता दोब्बर पारे ।
उनको गोलमा पोर्चुगिज खेलाडी भिटिन्हाले असिस्ट प्रदान गरेका थिए । नेइमारको गोलसँगै पिएसजीले खेल आफ्नो पक्षमा पारेको थियो । तर, २४औं मिनेटमा लिलका लागि बाफोडे डिकिटेले शानदार सटमा गोल गरेर गोल अन्तर घटाए । पिएसजीका नेइमारले घाइते भएर खेलको २५औं मिनेटमा मैदान छाडेका थिए ।
पहिलो हाफमा ३ गोल भएको खेलमा दोस्रो हाफमा दुवै तर्फबाट ४ गोल भए । ५८औं मिनेटमा लिलले पेनाल्टी पायो, जसमा जोनाथन डेभिडले सहजै गोल गरेपछि खेल २–२ भयो । त्यसपछि ६९औं मिनेटमा लिले तेस्रो गोल गरेर खेलमा अग्रत बनायो ।यसपटक जोनाथन बाम्बाले शानदार गोल गरेर पिएसजीलाई खेलमा पछि पारे ।
२–० ले पछि परेको अवस्था उल्टाएर लिलले ६९औं मिनेटमा पुग्दा खेलमा २–३ को अग्रता लिँदा पिएसजी एकाएक दबाबमा परेको थियो । तेस्रो गोल खाएपछि पिएसजीका लागि बराबरी गोलको आवश्यकता थियो ।जहाँ खेलको ८७औं मिनेटमा केलियन एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेर टिमलाई खेलमा फर्काए ।
र, स्कोर ३–३ भयो । पिएसजीका लागि जितको मुख्य आधार नै एमबाप्पेको दोस्रो गोल थियो । उनले टिम हारको मुखैमा पुगेका बेला गोल गरेर खेल बराबरी बनाए । एमबाप्पेको गोलपछि नै पिएसजीले खेलमा लगातार दबाब बनाएको थियो । सोही क्रममा इन्जुरी समयको पाँचौं मिनेटमा मेस्सीले फ्रि किकमार्फत् शानदार गोल गरेपछि खेल पिएसजीले ४–३ ले जित्यो ।
मेस्सीले लामो दूरीबाट हानेको फ्रि किक प्रहारले बडा शानदार र दर्शनीय ढंगले जाली चुम्यो । उनको प्रहार पोलमा लाग्दै गोलमा परिणत भएको थियो ।आजको खेलमा पिएसजीको जितमा विजयी गोल ९५औं मिनेटमा मेस्सीले गरे पनि समग्र प्रदर्शन र योगदानका आधारमा एमबाप्पेको प्रदर्शन निर्णायक रह्यो ।
पिएसजीले टिमका लागि पहिलो गोल र हारको मुखमा पुगेका बेला बराबरी गोल पनि गरे । र, टिम लगातार चौथो हारबाट बच्यो । आजको खेलमा लिलले पिएसजीको घरमा ५४ प्रतिशत पोसेसन आफूसँग राख्दा जम्मा १६ पटक सट प्रहार गरेकोमा ७ सट अन टार्गेट थिए ।
पिएसजीले ४६ प्रतिशत बल पाउँदा १२ सट हानेकोमा १० सट अन टार्गेट थिए ।अब यो जितपछि पिएसजीले २४ खेलबाट कूल ५७ अंक जोडेको छ । उसले एक खेल कम खेलेको दोस्रो स्थानको मार्सेलीलाई ८ अंकले पछि पारेको छ । पिएसजीले आजको खेल जित्नुअघि
च्याम्पियन्स लिगमा जर्मन क्लब बार्यन म्युनिखसँग आफ्नै घरमा पराजित भएको थियो । त्यसअघि ऊ घरेलु लिग १ मा मोनाको र फ्रेन्च कपको अन्तिम १६ मा मार्सेलीसँग पराजित भएको थियो । च्याम्पियन्स लिगको हारपछि पिएसजीले आज अर्को खराब हार ठूलो दुःखका साथ पन्छायो ।
Leave A Comment