ताप्लेजुङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ। तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र फक्ताङलुङ गाउँपालिकाद्वारा आयोजित शिविरमा मोतियाविन्दुको समस्या देखिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो।
यही फागुन ८ गतेदेखि यस गाउँपालिकाका विभिन्न ठाउँमा भएको आँखा जाँच तथा सामान्य उपचारका क्रममा भेटिएका मोतियाविन्दुका बिरामीको शनिबार र आइतबार शल्यक्रिया भएको हो। नेपालका प्रख्यात नेत्र रोग विशेषज्ञ चिकित्सक सन्दुक रुइतसहित आँखाका स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरेको हो।
चिकित्सक रुइत आफू जन्मिएको गाउँमा आएर उपचारमा संलग्न भएका हुन्। शिविरमा दुई हजार चार सय ३० जना आँखाका बिरामीको जाँच तथा सामान्य उपचार भएको छ। दुर्गम मानिने यस गाउँपालिकाका विभिन्न ठाउँमा आँखा जाँच तथा सामान्य उपचार सेवा सञ्चालन गरिएको थियो।
गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया गर्ने व्यवस्थापन गरेर मोतियाविन्दुको समस्यामा परेकाको उपचार भएको गाउँपालिका प्रमुख मुक्ति लाबुङले जानकारी दिए। बिरामीलाई शल्यक्रिया गर्ने स्थानसम्म आउन सवारी साधन र खानबस्नेको व्यवस्था
गाउँपालिकाले गरेको गाउँपालिका प्रमुख लाबुङले जानकारी दिए। जटिल समस्या देखिएका चार जनालाई भने तिलगङ्गा आँखा अस्पतालमा उपचारका लागि सिफारिस भएको छ। दुर्गम ठाउँमा शिविर सञ्चालन हुँदा सेवा पाएका स्थानीयवासी भने खुसी भएका छन्।
यो पनि – वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा तारा मानन्धरलाई एक लाख रुपैयाँ सहितको अवार्ड प्रदान गरिएको छ। नेपाल चिकित्सक संघले विराटनगरमा आयोजना गरेको २९ औं अल नेपाल मेडिकल कन्फ्रेन्समा डा मानन्धरलाई बेष्ट डाक्टर अवार्ड प्रदान गरिएको हो।
संघले सज्जन-श्याम ट्रष्टसँग गरेको सम्झौता अनुसार छनोट समितिको सिफारिसका आधारमा डा मानन्धारलाई अवार्ड प्रदान गरेको हो। अवार्ड छनोट समितिको निर्णय अनुसार डा महर्जनले क्यान्सर उपचारको क्षेत्रमा गरेको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको हो।
डा मानन्धर नेपालकै पहिलो अन्को रेडियोलोजिष्ट हुन्। २०३५ सालमै क्यान्सरमा विशेषज्ञता हासिल गरेकी उनी सरकारी सेवामा लामो समय काम गरेर अवकाश पाएकी हुन्। क्यान्सर उपचारका लागि नेपालमै पहिलोपल्ट रेडियसन मेसिन वीर अस्पतालमा ल्याइएको हो २०४८ सालमा।
त्यो बेला अन्को रेडियसनमा एमडी गरेकी उनी एक्लै थिइन्। तर, २० वर्षसम्म वीरमा उक्त मेसिन चलाइन् उनले। बीचमा केही समय डा आरती साह आए पनि बाँकी सबै समय क्यान्सरको ओपिडी, केमोथेरापी र रेडियसन उनी एक्लैले धानिन्। २०६८ सालमा उनी सेवाबाट रिटायर्ड भएकी हुन्।
Leave A Comment