Latest
img

‘कोसी प्रदेश’ मन परेन भन्दै काठमाडौंको माइतीघरमा ५०/ ६० जनाको प्रदर्शन

काठमाडौं । कोसी प्रदेश नामकरणविरुद्ध सङ्घीय राजधानी काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ । आइतबार काठमाडौंसहित कोसी प्रदेशका अधिकांश शहरहरूमा पहिचानवादीहरुले हड्ताल गरेका छन् । ‘कोसी प्रदेश’ खारेजको मागसहित पहिचान पक्षधर संघसंस्थाहरुले बिरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा प्रदेश नं. १ को नाम पहिचानका आधारमा राखिनुपर्ने माग दोहोर्‍याउदै आएका केहि पहिचानवादी समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो । उनीहरूले कोशी खारेज गरेर पहिचानसहितको सङ्घीयताको मर्मअनुरूप नाम राखिनुपर्ने माग गरेका छन् ।

बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै आदिवासी जनजाति महासंघका पुर्वाध्यक्ष गोविन्द छन्त्यालले अब आदिवासीहरु एक ठाउँ हुनुको अर्को विकल्प नरहेको बताए । ‘हामी यहाँ खेलाचीँ गर्न उभिएका हैनौं । हिजो हाम्रो आन्दोलन बिथोल्नेहरुले राई र लिम्बु मिल्दैनन् भन्थे ।

हिजो मसाल जुलुस देखियो हैन त ! विविधता भएको समाजमा कहिलेकाहीँ मतभिन्नताहरु हुन्छन्, कहिलेकाहीँ कुराकानी नमिलेको जस्तो हुन्छ । तर, ती काँग्रेस, एमाले, राप्रपामा भएका खसआर्य एक भएजस्तो हामी आदिवासीहरु पनि एक हुनुको विकल्प अर्को छैन ।’, उनले भने ।

छन्त्यालले सभ्यताको आधारमा प्रदेशको नामकरण गरिनुपर्ने माग राख्नु जातीय भएको आरोपको खण्डन गरेका छन् । उनले भने, ‘मैले पढेको राजनीतिशास्त्रमा जातीय त्यसलाई भनिन्छ, जो एउटै जाती एउटै भाषा, एउटै संस्कृति, एउटै धर्म भएका मान्छेले साशन सत्ता कब्जा गर्छन् र सासन गर्छन् ।

अहिले नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधिश, सिडियो, सचिव, आर्मीको चिफ सबै एउटै जातीका छन् । हो, यो चाहिँ जातीय हो ।’ यस्ता किसिमको जातीय संरचनालाई भत्काउनुपर्ने उनको धारणा थियो ।यस्तै, प्रर्दशनलाई सम्बोधन गर्दै नेपाल मगर संघका सहअध्यक्ष गंगाबहादुर थापाले गुमेको अधिकार फिर्ता पाइछोड्ने बताए ।

‘चोमोलुङ्माको कसम ! हामी त्यो फिर्ता गरेरै छाड्छौं । चोमोलुङ्मा हाम्रो काखमा छ । हामी किरात लिम्बुवान, शेर्पालुङ, ताम्सालिङ, नेवा, तमुवान, मगरात, थरुवान राज्य स्थापित गरेरै छाड्छौं ।’, थापाले घोषणा गरे ।प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूले ‘कोशी प्रदेश खारेज गर’,

‘किरात लिम्बूवान् शेर्पालुङ नामाकरण गर’, ‘चोमोलुङ्माको कसम प्रदेश नं. १ को नाम किरात नै लेखाउँछौँ’लगायत लेखिएको पर्चाहरू बोकेका थिए ।आन्दोलनकारीहरुले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामासमेत माग गरेका छन् । कार्कीले पहिचानसहितको सङ्घीयताको मर्मलाई कुल्चेर नामाकरण गरेको आरोप लगाउँदै उनीहरूले मुख्यमन्त्री कार्कीको राजीनामा मागेका हुन् ।

गत फागुन १७ गते बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरहरु आन्दोलित बन्दै आएका छन् । शनिबार प्रदेशभर राँके जुलुस निकालेका उनीहरुले आइतबार काठमाडौंसहित कोशी प्रदेशका अधिकांश शहरहरूमा हड्ताल तथा प्रदर्शन गरेका हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment