काठमाडौं । विगतमा नर्सिङ पढ्न तछाडमछाड गर्ने विद्यार्थीहरु पछिल्लो समय भने घट्दै गएका छन् । स्नातक तह नर्सिङ शैक्षिक कार्यक्रममा छुट्याएको कोटा अनुसार विद्यार्थी अध्ययन गर्न नआएपछि चिकित्सा शिक्षा आयोगले समेत कोटा घटाएको छ ।
आगामी शैक्षिक शत्रका लागि आयोगले स्नातक तहको नर्सिङ अध्ययनमा कोटा घटाएको हो । तर, आयोगले शिक्षण कार्यक्रम सञ्चालन गर्ने शैक्षिक संस्थाको संख्या भने केही बढाएको छ ।आयोगले चालू शैक्षिक शत्रका लागि ४३ वटा शैक्षिक संस्थाहरुलाई १४ सय ६० कोटा निर्धारण गरेको थियो ।
तर, आयोगले आगामी शैक्षिक शत्रका लागि भने स्नातक तहको लागि अध्ययन गर्ने कोटा घटाएर १३ सय ५० कोटा निर्धारण गरेको छ भने अध्यापन गराउने ८ वटा शैक्षिक संस्था थप गरेर ५० पुर्याएको छ ।विगतमा स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गर्दै आएको जानकी मेडिकल कलेजलाई आगामी शैक्षिक शत्रका लागि आयोगले नर्सिङ कक्षाको कोटा काटिदिएको छ ।
त्यस्तै, अन्य केही निजी कलेजहरुको स्नातक तह नर्सिङ तर्फको कोटा पनि आयोगले कटौति गरेको छ ।आगामी शैक्षिक शत्रका लागि नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशनको १०, नोबेल मेडिकल कलेजको २०, नोबेल कलेजको २० र एन.पी.आई. नारायणी सामुदायिक हस्पिटल लिमिटेडको १० वटा बिएस्सी नर्सिङको कोटा काटिएको छ ।
ओम हेल्थ क्याम्पस प्रा.लि.को १०, शिर मेमोरियल एड्भान्टिस्ट हस्पिटल इन्स्टिच्युटको २०, स्कुल अफ हेल्थ एण्ड अलाइड साइन्सको २०, श्री मेडिकल एण्ड टेक्निकल कलेजको २० र लुम्बिनी मेडिकल कलेजको २० वटा बिएस्सी नर्सिङको कोटा कटौति गरेको छ ।
होप इन्टरनेशनल कलेज, हाम्रो स्कुल अफ नर्सिङ, गण्डकी मेडिकल कलेज, चरक एकेडेमी पोखरा र बि एण्ड बि मेडिकल इन्स्टिच्युुटको बिएस्सी नर्सिङको कोटा पनि आयोगले आगामी शैक्षिक शत्रका लागि घटाएको छ ।चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डा. भोजराज काफ्लेले छुट्याइएको कोटा अनुसार विद्यार्थी अध्ययन गर्न नआएपछि नर्सिङको कोटा घटाएको घटाइएको बताए ।
उनले एमबिबिएस र केही विषय बाहेक अन्य मेडिकल विषय पढ्ने विद्यार्थीको संख्या घट्दै गएको बताए ।‘चालु शैक्षिक शत्रमा पनि नर्सिङ विषयमा जति विद्यार्थीले अध्ययनको लागि प्रवेशिका परीक्षामार्फत नाम निकालेका थिए, उनीहरु पढ्न गएनन्, त्यसैले कलेजहरुको अवस्थाको कारण नै केही कोटा आगामी शैक्षिक शत्रका लागि घटाइएको हो’, डा. काफ्लेले भने ।
कतिपय कलेजहरुमा आवश्यक पूर्वाधारको कारणले पनि कोटा कटौति गरेको उनको भनाइ छ । जानकी मेडिकल कलेजको विषयमा भने धेरै उजुरीहरु आयोगमा आएको र आयोगमार्फत् भर्खरै केही समय अगाडि स्थलगत अनुगमन समेत गरिएको उनले बताए ।
स्नातक तहको नर्सिङ अध्ययनमा विद्यार्थीको आकर्षण नहुनुमा मुख्य दोष सरकारकै रहेको नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष तारा पोख्रेल बताउँछिन् । सरकारले नर्स अध्ययन गरेकाहरुको लागि रोजगारको व्यवस्था नगरेको र निजी क्षेत्रमा असाध्यै न्यून तलबमा काम गर्नु पर्ने अवस्था भएकाले अध्ययनमा आकर्षण कम भएको उनको भनाइ छ ।
‘१८/२० लाख खर्च गरेर पढ्नुपर्छ, ८/१० हजारमा काम गर्नुपर्ने अवस्था छ, यस्तो अवस्थामा यो क्षेत्रमा विद्यार्थीको आकर्षण कसरी हुन्छ,’ उनले प्रश्न गर्दै भनिन्, ‘अहिले नर्सको दरबन्दी जति छ त्यसमा सरकारले आधा दरबन्दी पूर्ति नगरी खाली नै राखेको छ,
दुर्गमबाट सुगममा सरुवा भएर आउन निकै सोर्स फोर्सको प्रयोग गर्नुपर्ने अवस्था छ, त्यस्तै लामो समयदेखि बढुवा पनि भइरहेको छैन ।’आयोगमा कार्यरत एक अधिकारीले चिकित्सा क्षेत्रमा डाक्टरहरुको मोनोपोली रहेको र नर्सहरुको पीडा कसैले नसुन्ने अवस्था समेत भएकोले पनि पछिल्लो समय नर्स बन्ने विषयमा विद्यार्थीको आकर्षण घटेको धारणा राखे ।
होप इन्टरनेशनल कलेजका प्रिन्सिपल जयन्द्र झाले विगतका वर्षहरुमा कोभिडको कारणले विद्यार्थीहरु कोटाअनुसारको संख्यामा अध्ययन गर्न नआएको बताए । उनले अहिले आउने वातावरण बनेको भएपनि आयोगले कोटा कटौति गरेको बताए । बिपिएच लगायत केही विषयमा विद्यार्थी अभाव देखिएपनि नर्सिङमा भने खासै समस्या नरहेको उनको भनाइ छ ।
आगामी शैक्षिक शत्रका लागि ८ वटा नयाँ संस्थाले बिएस्सी नर्सिङ कार्यक्रम सञ्चालन गर्ने कोटा पाएका छन् । पोखरा एकेडेमी अफ हेल्थ साइन्स, सान इन्स्टिच्युट अफ नर्सिङ, मदन भण्डारी एकेडेमी अफ हेल्थ एण्ड साइन्स, कृष्ण मेडिकल एण्ड टिचिङ रिसर्च सेन्टर, देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युट,
राप्ती एकेडेमी अफ हेल्थ साइन्स, नेशनल एकेडेमी फर मेडिकल साइन्स र बिपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सले आयोगमार्फत बिएस्सी नर्सिङ कक्षा सञ्चालनको लागि कोटा पाएका छन् ।चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक शत्रमा सञ्चालन हुने चिकित्सा शिक्षा अन्तर्गतका सम्पूर्ण विषयको प्रवेश परीक्षा लिने कार्य आइतबारसम्म सम्पन्न गरिसकेको छ ।
आयोगका सदस्य सचिव डा. काफ्लेका अनुसार चिकित्सा शिक्षा अन्तर्गतका सबै विषयहरुमा विगतमा एकैपटक प्रवेशिका परीक्षा लिने गरिएकोमा यसपटक भने विषयगत आधारमा भिन्नाभिन्नै ढंगले लिइएको बताए । कतिपय विषयहरुमा विद्यार्थी कम भएपछि कलेजहरुकै आग्रहमा परीक्षाको मोडेलमा परिवर्तन गरिएको उनको भनाइ छ ।
Leave A Comment