काठमाडौं । आफूलाई ‘ह्न्यासी ब्रो’ को नामले चिनाउँदै टिकटक लाइभमा आउने गरेका रिदम क्षेत्रीले गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । दुर्गेश र रिदमबीच तीन दिनअघि एउटा पिकनिकका क्रममा झडप भएको थियो ।
म्युजिक भिडियो खेल्ने कलाकारहरु टोखाको भुखेलमा शनिबार पिकनिक गएका थिए । त्यसमा रिदम पनि पुगेका थिए । बेलुकापख खाना खाइसकेपछि दुर्गेश र रिदमबीच झडप भएको हो । दुर्गेशले टिकटकमा आफूविरुद्ध जथाभावी बोलेको भन्दै थर्काएको र त्यही क्रममा आफूलाई हातपातसमेत गरेको रिदमको आरोप छ ।
उनले भनेका छन्, ‘म खाना खाएवरी एकजना दाईसँग कुरा गरेर बसिरहँदा दुर्गेश थापा आएर ह्यान्ड सेक गरे । एकछिन नियालेर हेरे अनि, ‘तँ नै होइन ह्यान्सी भन्ने ?’ भन्दै मलाई धकेल्दै घाँटीमा अँठ्याए । त्यसपछि मलाई अवि रायमाझी र रोसन सिंहले मलाई पिटे ।
दुर्गेश थापाले मलाई लडाएर लात्तिले हाने । मेरो सुनको चेन पनि लुछे । मेरो डेढ तोलाको चेन हरायो । त्यो अब दुर्गेशले तिर्नुपर्छ ।’ज्यानै मार्ने नियतले कुटपिट भएको रिदमको दावी छ । यद्यपि उनको शरीरमा गम्भीर चोट भने छैन । उनले आफ्नो खुट्टाको छाला दर्फरिएको र ओठको भित्री भागमा घाउ भएको बताएका छन् ।
दुर्गेशले भने लफडा भएको स्वीकारे पनि आफूले हात नहालेको दावी गरे । रिदमले आफूविरुद्ध मनपरी बोल्दै आएको विषयमा सोधेको बताए ।‘राम्ररी कुरा नबुझीकन मेरो विषयमा किन जथाभावी बोलेको भनेर सम्झाउन खोजेको थिएँ,’ दुर्गेशले भने, ‘त्यही बेला पछाडिबाट कसले हात हाल्यो मलाई थाहा भएन । उसले अरुलाई पनि मनपरी भनेको रहेछ ।’
यो घटनाको जरो चाहीँ पल शाह प्रकरणसँग जोडिएको छ । पल प्रकरणमा दुर्गेश पनि जोडिएपछि रिदमले उनलाई टिकटक लाइभमा पालाको पक्ष मा बोलेका थिए । युट्यूवको एउटा अन्तरवार्तामा उनले दुर्गेशलाई नचिन्ने बताएका थिए । त्यस अन्तरवार्तामा रिदमले भनेका थिए, ‘म उसलाई चिन्दा पनि चिन्दिनँ ।
दुर्गेश थापा भन्या को हो मैले अहिलेसम्म उसको गीत पनि चिन्या छैन ।’त्यसपछि युट्यूवरले सोधेका छन्, ‘भोलि तँ मलाई नचिन्ने ? भन्दै दुर्गेशले हात हाले भने के भनेर सम्झाउनुहुन्छ ?’ ‘एक म मलाई हात हाल्नका लागि कुनै माइकालालले आँट गर्नु सपनाजस्तै हो ।
मेरो हात बाँसका ठुटा हो र ? एक्सनमा कोही घाइते हुन्छ, कसैले कसलाई कुच्याउँछ, के के हुन्छ हुन्छ । उहाँलाई सम्झाउने किन ? माँ कसम छ नि, यति कुरा भन्छु… उहाँमात्र नभएर जोसुकै सेलिब्रिटी होस, गल्ति गर्नेलाई सम्झाउने होइन, पहिले बङ कि बङ कुट्ने हो अनि सम्झाउने हो ।’
रिदमको दुर्गेश, रोसन र अविविरुद्ध उजुरी दिएपछि महाराजगञ्ज प्रहरी वृत्तले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । दुर्गेशले आफू म्युजिक भिडियो सुटिङमा रहेकाले १–२ दिनमा आउने बताएका छन् ।उता वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएको डीएसपी अंगुर जीसीले पुष्टि गरे ।
त्यस क्रममा आफूले लगाइरहेको सुनको सिक्री समेत लुछेको क्षेत्रीले आरोप लगाएका छन् ।दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको उनले जानकारी दिए । ‘उजुरी परेको हो, सत्यतथ्य के हो भोलि दुवै पक्ष उपस्थित भएपछि थाहा होला,’ डीएसपी जीसीले भने ।
Leave A Comment