चन्द्रागिरि
चन्द्रागिरि नगरपालिकाले बिहीबार राति पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई तत्काल किरिया खर्चबापत ५० हजार रूपैयाँ दिने भएको छ।
चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीले शुक्रबार बिहान घटनास्थल अवलोकन तथा पहिरो पीडितका आफन्तजनसँग कुराकानी गर्दै उक्त जानकारी दिएका हुन्।
राति साढे एक बजे चन्द्रागिरि नगरपालिका-२ तल्लो मसिनेस्थित ध्यानकेन्द्र पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार मृतकहरूमा श्रीमान-श्रीमती र छोरी छन्।
मृतक काभ्रे धुलिखेल नगरपालिका-१२ घर भई ध्यानकेन्द्र बस्ने ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीय रेखा र डेढ वर्षीया छोरी सारफी तीन वर्षयता चन्द्रागिरिमा घर बनाएर बस्दै आएका थिए।
पहिरोले उनीहरू बसेको कच्ची घर बगाएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार उनीहरूको शव बिहान ६ बजे निकालिएको थियो।
पहिरोले थप क्षति हुन नदिन स्थानीय क्षेत्रमा अवरूद्ध बाटो खुलाउने काम भइरहेको उनले बताए।
स्थानीयवासीका अनुसार ध्यान केन्द्रमा बसेका श्रेष्ठ परिवार दमका बिरामी थिए।
Leave A Comment