काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने टिप्पणी गर्नुभएको छ ।
आज बुधवार गोरखा–काठमाण्डौ सम्पर्क समन्वय समितिले आयोजना गरेको निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने बताउनुभएको हो । उहाँले गोरखामा माओवादी पार्टीलाई रेकर्डसहित विजय गराउनुपर्ने बताउनुभयो ।
रेकर्डसहित जितेको नेता भनेपछि केन्द्रमा भुमिका खेल्ने शक्ति आर्जन हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, – ‘म विशेषरूपले तपाईँहरूलाई भन्न चाहन्छु, हामीले गोरखामा रेकर्ड बनाउनु छ । गोरखाबाट हामीले रेकर्ड बनाएर माओवादी पार्टीलाई जितायौँ भने रेकर्डसहित आएको नेता भनेपछि मात्रै केन्द्रमा भुमिका खेल्नसक्ने शक्ति आर्जन हुन्छ ।
माओवादी स्वाट्ट देश र दुनियाँमा देखियोस् क्या गोरखाबाट । गोरखाबाट संसारमा माओवादी देखियोस् ।’अध्यक्ष दाहालले जनताको घर–घरमा गएर मतदाता शिक्षा दिन नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले आफू गोरखामा चुनाव उठ्न आउनु गोरखावासीका लागि चुनौती भएको पनि बताउनुभयो ।
आफू कहाँ जान्छ, कहाँ बस्छ भन्ने कुरा माइक्रोस्कोपबाट हेरिने गरेको भन्दै त्यो कुरा गोरखावासीका लागि चुनौती भएको उहाँको भनाइ छ ।अध्यक्ष दाहालले राष्ट्रिय एकताको सन्देश दिनका लागि आफू गोरखामा गएर चुनाव लडेको जिकिर गर्नुभयो ।
Leave A Comment