काठमाण्डाै – निर्वाचन आयाेगले मतगणना स्थलमा तारजाली नलगाइने बताएकाे छ । आज बुधवार पत्रकार सम्मेलनमा बाेल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतगणना स्थलमा तारजाली नलगाइने बताउनुभएको हाे ।
प्रमुख आयुक्त थपलियाले मतपत्रको सुरक्षा र गणना स्थलको सुरक्षाका लागि सीसी क्यामेरा भने राख्ने जानकारी दिनुभयाे । विगतका चुनावमा मतपत्र चपाउनेजस्ता घटना भएपछि मतपत्र सुरक्षाका लागि भन्दै मतगणना स्थलमा तारजाली लगाइँदै आएको थियो ।
यसबैची राजनीतिक दल र उम्मेदवारहरूले भोलि बिहीवारदेखी जुलुस, आमसभा र कोणसभा गर्न पाउनेछन् । आयोगको पूर्वनिर्धारित कार्यक्रमअनुसार भोलिदेखि मङ्सिर २ गतेसम्म जुलुस, आमसभा र कोणसभा गर्न पाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।
प्रचारप्रसारको यो अवस्थामा चुनावको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारहरूलाई उहाँकाे आग्रह छ ।निर्वाचन आयोगले एक सय वटा मतदान केन्द्रलाई अपाङ्गमैत्री मतदान केन्द्र बनाउने निर्णय गरेको छ । आज बुधवार आयाेगले एक वटा अपाङ्गमैत्री मतदान केन्द्र बनाउने निर्णय गरेकाे हाे ।
यी मतदान केन्द्रमा साङ्केतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिकासम्बन्धी ब्रेल सामग्री, रङ्गीचङ्गी डोरी तथा पोल, र्याम्प निर्माण, ह्विलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि टेबुल तथा कुर्सीको व्यवस्था गरिने भएको छ ।
त्यस्तै निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्षरूपमा सम्पन्न गर्न/गराउन सरकारलाई सात बुँदे निर्देशन दिएकाे छ । आयाेगले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका सम्बन्धित निकायहरूमा निर्देशन दिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सात बुँदे निर्देशन दिएको हाे ।
Leave A Comment