Latest
img

बाचा पूरा नगरे मलाई गर्ने कारबाहीको व्यहोराको कागज बनाउनुहोला, म ल्याप्चे लगाउँछु: रवी लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले आफूले चुनावमा गरेका बाचा पूरा नगरे मतदाताले जस्तो कारबाही गरे पनि भोग्न तयार रहेको बताएका छन् । मतदातालाई कारबाहीको व्यहोराको कागज तयार गरेर राख्न आग्रह गर्दै उनले त्यसमा आफूले ल्याप्चे लाउने बताए ।

आज बाचा पत्र सार्वजनिक गर्दै लामिछानेले भने, ‘हामीले गरेको बाचा पूरा नगरेमा के गर्नुहुन्छ त्यसको ड्राफ्ट तयार गरेर राख्नुहोला र तपाईंलाई के कारबाही गर्न मन छ, त्यसमा लेख्नुहोला, म हस्ताक्षर गरेर आउँछु । तपाईंहरुले त्यसलाई फ्रेममा राखेर राख्नुहोला ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सबै उम्मेदवारलाई मतदातासमक्ष गरेका बाचामा हस्ताक्षर गर्न निर्देशन दिए । हस्ताक्षर नगर्ने उम्मेदवारलाई मत नदिन पनि उनले आह्वान गरे । ‘हाम्रा उम्मेदवार कसैले हस्ताक्षर गर्न मानेनन् भने मत नदिनुहोला,’ उनले भने ।

लामिछानेले जनताका सामान्य भन्दा सामान्य माग र चाहनालाई बाचापत्रमा समेटेको बताए । बाचापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री हुनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको अवधारणा छ ।महामन्त्री मुकुल ढकालले यो बाचापत्र जनतामा सर्वाधिकार रहेको बताए ।

यसमा गरिएका बाचा जसले कपि पेष्ट गरे पनि र सरकारमा पुगेर कार्यान्वयन गरे पनि आफूहरुले धन्यवाद दिने उनले बताए । उनले वैकल्पिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीमात्र हुने जिकीर समेत गरे ।रुखबाट कागज बन्ने र कागज प्रयोग कम गरे रुख जोगिने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले डिजिटल माध्यमबाट बाचापत्र सार्वजनिक गरेको छ ।

बाचापत्रलाई वेबसाइटमा राखिने र क्युआर कोड स्क्यान गरेर पढ्न सकिने बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म निर्माण केन्द्रको रुपमा स्थापित गर्ने घोषणा गरेको छ । विहीबार काठमाडौंमा सार्वजनिक गरिएको चुनावी ‘वाचापत्र’मा उक्त पार्टीले यस्तो घोषणा गरेको हो ।

‘नेपाललाई अन्तर्राष्ट्रिय फिल्म निर्माण केन्द्रको रुपमा स्थापित गर्न सरकारी दर्ता सेवामा शून्य शुल्कको प्रावधान राखेर प्रक्रियालाई एकद्वार प्रणालीमा ल्याइनेछ,’ वाचापत्रमा उल्लेख छ ।सातै प्रदेशमा सांस्कृतिक केन्द्रहरुमा स्थापना गरी नयाँ पुस्तालाई त्यसको महत्व र संरक्षणमा सहभागी हुन प्रोत्साहित गर्ने समेत उल्लेख छ ।

यसअघि प्रमुख दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्रले पनि कला, साहित्य, संस्कृति, संगीत र फिल्मलाई पनि चुनावी घोषणापत्रमा समेटेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment