कुटपिटको उजुरी लिएर जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेका एक पीडितको जिल्ला प्रहरी कार्यालयको गेटबाटै मोटरसाइकल चोरी भएको छ । अग्निसाइर कृष्ण सवरण गाउँपालिका-४ मा बुधबार भएको विवाद र कुटपिटका घाइते उजुरी दिन कार्यालय जाँदा सेतो नम्बर प्लेट को. १ ब १०६९ सरकारी मोटरसाइकल चोरी भएको हो ।
बुधबार बिहान ९ बजेतिर बाबुमाथि कुटपिट भएको उजुरी दिन प्रहरी कार्यालयको गेटअगाडि मोटसाइकल राखेर भित्र गएको र उजुरी दिएपश्चात घाउ जाँचको चिठ्ठी लिएर १५ मिनेटपछि फर्किंदा मोटरसाइकल चोरी भइसकेको पीडित बरुण यादवले बताए ।
यसरी भयो घटना- अग्निसाइर कृष्णा सवरण गाउँपालिका–४ मा बुधबार बिहानै जग्गा विवादको विषयमा कुटपिटमा भएको थियो । घटनामा दुई जना घाइते भएका थिए । दाजुभाइबीचको अंशबण्डामा चित्त नबुझेको भन्दै दाजुका तीन छोराको कुटपिटबाट काका पर्ने स्थानीय ६५ वर्षीय सूर्यनारायण यादवको टाउको फुटेको छ ।
नदी नियन्त्रण विराटनगरमा इन्जिनियर रहेका मनोज यादव र उनका थप तीन भाइसहित चार जनाले बुबा र कान्छो भाइ अरुण यादवलाई ज्यान मार्ने उद्देश्यले कुटेको पीडित सूर्य नारायणको जेठो छोरा बरुण यादवले जानकारी दिए ।इट्टा प्रहारबाट सूर्यनारायण यादवको टाउको फुटेको छ ।
उनलाई बचाउन गएका भाइलाई मुक्का प्रहार गर्दा शरीरको विभिन्न भागमा चोटपटक लागेर राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरेको बरुणले बताए ।घटनापश्चात पीडितले जिल्ला प्रहरी कार्यालय सप्तरीमा दिएको ठाडो उजुरीका आधारमा प्रहरी कार्यालयले घाउ जाँचको चिठी काटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
सडक डिभिजन कार्यालय विराटनगरको मोटरसाइकल सोही कार्यालयका सब-इन्जिनियर यादवले प्रयोग गर्दै आएका थिए । मोटरसाइकल हराएको बारे जानकारी गराउँदा समेत प्रहरीले खोजबिनमा चासो नदेखाएको वरुणले गुनासो पोखे ।
Leave A Comment