Latest
img

बुढीगण्डकी देखि वाइड बडी विमान खरिद काण्डको फाइल खोल्ने राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिहीबार आसन्न निर्वाचनका लागि ‘वाचापत्र’ सार्वजनिक गर्दै ‘भ्रष्टाचार गरिन्न, गर्नेलाई छाडिन्न’ भन्दै भ्रष्टाचारी आशंका गरिएका र देशव्यापी विवाद बहस भएका विभिन्न फाइलहरू खोल्ने जनाएको छ । जसमा ललिता निवास देखि यति ओम्नी काण्डसम्मका फाइल खोलिने जनाएको हो ।

आफ्नो वाचापत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले ललिता निवास सरकारी जग्गा किनेबेच काण्ड, वाइड बडी विमान खरिद काण्ड, कोभिड भ्याक्सिन खरिद काण्ड, यति र ओम्नी काण्ड, प्रिन्टिङ प्रेस खरिदको ७० करोड रुपैयाँको काण्ड लगायत सबै साना ठूला काण्डको फाइल खोलिने वाचा गरिएको छ ।

कानुन अनुसार गर्नुपर्ने काम नगरे वा ढिलो गरे अनि नगर्नुपर्ने काम गरे त्यसलाई पनि भ्रष्टाचार मानी दण्डित गरिने पार्टीले जनाएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले आफूले चुनावमा गरेका बाचा पूरा नगरे मतदाताले जस्तो कारबाही गरे पनि भोग्न तयार रहेको बताएका छन् ।

मतदातालाई कारबाहीको व्यहोराको कागज तयार गरेर राख्न आग्रह गर्दै उनले त्यसमा आफूले ल्याप्चे लाउने बताए ।आज बाचा पत्र सार्वजनिक गर्दै लामिछानेले भने, ‘हामीले गरेको बाचा पूरा नगरेमा के गर्नुहुन्छ त्यसको ड्राफ्ट तयार गरेर राख्नुहोला र तपाईंलाई के कारबाही गर्न मन छ, त्यसमा लेख्नुहोला, म हस्ताक्षर गरेर आउँछु ।

तपाईंहरुले त्यसलाई फ्रेममा राखेर राख्नुहोला ।’उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सबै उम्मेदवारलाई मतदातासमक्ष गरेका बाचामा हस्ताक्षर गर्न निर्देशन दिए । हस्ताक्षर नगर्ने उम्मेदवारलाई मत नदिन पनि उनले आह्वान गरे । ‘हाम्रा उम्मेदवार कसैले हस्ताक्षर गर्न मानेनन् भने मत नदिनुहोला,’ उनले भने ।

लामिछानेले जनताका सामान्य भन्दा सामान्य माग र चाहनालाई बाचापत्रमा समेटेको बताए । बाचापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री हुनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको अवधारणा छ ।महामन्त्री मुकुल ढकालले यो बाचापत्र जनतामा सर्वाधिकार रहेको बताए ।

यसमा गरिएका बाचा जसले कपि पेष्ट गरे पनि र सरकारमा पुगेर कार्यान्वयन गरे पनि आफूहरुले धन्यवाद दिने उनले बताए । उनले वैकल्पिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीमात्र हुने जिकीर समेत गरे ।रुखबाट कागज बन्ने र कागज प्रयोग कम गरे रुख जोगिने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले डिजिटल माध्यमबाट बाचापत्र सार्वजनिक गरेको छ ।

बाचापत्रलाई वेबसाइटमा राखिने र क्युआर कोड स्क्यान गरेर पढ्न सकिने बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म निर्माण केन्द्रको रुपमा स्थापित गर्ने घोषणा गरेको छ । विहीबार काठमाडौंमा सार्वजनिक गरिएको चुनावी ‘वाचापत्र’मा उक्त पार्टीले यस्तो घोषणा गरेको हो ।

‘नेपाललाई अन्तर्राष्ट्रिय फिल्म निर्माण केन्द्रको रुपमा स्थापित गर्न सरकारी दर्ता सेवामा शून्य शुल्कको प्रावधान राखेर प्रक्रियालाई एकद्वार प्रणालीमा ल्याइनेछ,’ वाचापत्रमा उल्लेख छ ।सातै प्रदेशमा सांस्कृतिक केन्द्रहरुमा स्थापना गरी नयाँ पुस्तालाई त्यसको महत्व र संरक्षणमा सहभागी हुन प्रोत्साहित गर्ने समेत उल्लेख छ ।

यसअघि प्रमुख दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्रले पनि कला, साहित्य, संस्कृति, संगीत र फिल्मलाई पनि चुनावी घोषणापत्रमा समेटेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment