तीन वर्षअघिको कुरा हो। तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) नेपालमै भएको थियो। कुस्ती प्रतियोगिता भने काठमाडौंमा नभएर जनकपुरमा भएको थियो। कुस्ती खेल्न कञ्चनपुरबाट जनकपुर पुगेकी थिइन् संगीता धामी। छोरी खेल्न हिँडेसँगै धनकुमारीका आँखा टिभीमा गइरहन्थे।
आफ्नो उमेर समूहको प्रतियोगितामा सबैलाई उछिनेर संगीताले स्वर्ण पदक जितिन्। कुस्तीमा नेपाली महिलाले सागमा जितेको त्यो पहिलो स्वर्ण थियो। छोरीको ऐतिहासिक स्वर्णसँगै धनकुमारीका आँखा भरिए। छोरीले पदक थापेको दिन सम्झिँदै धनकुमारीले मंगलबा भनिन्, ‘छोरीले स्वर्ण जित्दा आफैंले जितेजस्तो हुने रहेछ।’
भैंसीको दूध बेचेर हुर्काएकी छोरीले स्वर्ण पदक जितेको त्यो क्षण नै आफ्नो जिन्दगीमा भएको सबभन्दा ठूलो उपलब्धि र गौरवको अनुभूति भएको धनकुमारी बताउँछिन्। ‘छोरीले गर्दा म पनि चिनिएँजस्तो लाग्यो। मेरो छोरीको फोटोहरू पत्रिका, टिभीमा देख्न पाएँ।
मलाई कति खुसी लाग्यो भनेर मैले भन्न पनि जान्दिनँ,’ मंगलबार यो कुरा सुनाइरहँदा पनि धनकुमारीका आँखा भरिए। जब छोरीले दुनियाँको सामु स्वर्ण पदक थापेका फोटाहरू पत्रिका र टिभीमा छ्यापछ्याप्ती भए, उनलाई लाग्यो पति र यो समाजसँगको लडाइँ मैले जितेँ।
उनका पति प्रहरीको असई हुन्। माइतीले प्रहरीमा असईको जागिर छ सुख पाउलिन् भनेर धनकुमारीको बिहे संगीताका बुवासँग गरिदिएका थिए। १५ वर्षको उमेरमा बिहे गरेकी उनले १७ वर्षमा पहिलो छोरीलाई जन्म दिइन्। त्यसपछि फेरि अर्की छोरी जन्मिन्।
धनकुमारीको गर्भमा संगीता भएका बेला उनका पतिले दोस्रो बिहे गरे। छोरी मात्र पाएको भन्दै श्रीमानले दोस्रो बिहे गरेपछि धनकुमारीका झन् दु:खका दिन सुरू भएका थिए। संगीता ८ वर्षकी हुँदासम्म उनका बुवा साथसाथै थिए। बेलाबेला आउँथे। कान्छी छोरी जन्मिएपछि भने उनी धनकुमारी र छोरीहरूबाट सधैंका लागि टाढा भए।
घरको काम, खेतीपाती र श्रीमानले बाहिरबाट कमाएर दिएको पैसाले धनकुमारीको गुजारा चलेको थियो। अब एक्लै परिन्। चार छोरी हुर्काउन परेको सकस सम्झेर उनलाई अहिले पनि ऐठन हुन्छ। पैसा सापटी मागेर गाईभैंसी पालिन्। दूध बेच्दै छोरीहरूलाई हुर्काइन्।
बिहानै चारै बजे उठेर दूध दुहुने, भैंसीको स्याहार गर्न र अरू काम भ्याउँथिन्। गाउँबाट बजारसम्म साइकलमा राखेर दूध बेच्ने काम भने छोरीहरूलाई लगाउँथिन्। जेठी छोरीलाई उनले कक्षा ८ सम्म पढाइन्। माथिल्लो कक्षा पढाउन नसकेपछि १४ वर्षको उमेरमा बिहे गरिदिइन्।
माइलीलाई १० कक्षासम्म पढाउन सकिन्। उनको पनि १८ वर्षमै बिहे गरिदिइन्। ‘चारै छोरीलाई धेरै पढाउँला भन्ने चाहना त थियो तर एक्लो प्रयासले सकिनँ,’ धनकुमारीले भनिन्। त्यसपछि घरमा धनकुमारी, साइँली छोरी संगीता र बहिनी मात्र भए। दूध बेच्न बजार जानुपर्ने काम संगीताको भागमा पर्यो।
स्कुलमा साथीहरू उनलाई ‘भैंसीवाली’ भनेर जिस्काउँथे थाले। उनीहरूको ठट्टाले मन पोल्थ्यो।’दूध बेच्नु नराम्रो कुरा त होइन, साथीहरू किन पो मलाई जिस्काउँथे! मलाई अहिलेसम्म थाहा छैन,’ उनले भनिन्, ‘पहिला पहिला उनीहरूले जिस्काउँदा धेरै नराम्रो लाग्थ्यो, अहिले लाग्दैन।’
उनी ठूलो कक्षा पढ्न बजारको स्कुल पुगिन्। कुस्ती खेलबारे उनले त्यहीँ थाहा पाएकी हुन्। स्कुलमा कुस्ती खेलाउने प्रशिक्षकहरू आउँथे। उनले चासो देखाइन्।बुवाको अपहेलना सम्झेर पनि केही गरेर देखाउने धोको थियो। उनलाई लाग्यो- अपहेलनालाई शक्तिमा बदलेर देखाउने खेल यही हो!
त्यसपछि स्कुल छुट्टीपछि कुस्ती खेल्न थालिन्।’स्कुलबाट भोकै पनि जान्थेँ। मैदान पुग्दा खेल सिक्ने रहरले भोक हराउँथ्यो,’ उनले भनिन्।संगीताले खेलप्रति देखाएको लगाव देखेर प्रशिक्षक प्रभावित भए। ‘कुस्ती गेम धेरै हुन्थेनन्। गुरूहरूले तिमी प्रतियोगिता खेल्न पाए, गोल्डमेडल ल्याउँछौ भन्थे,’ संगीताले भनिन्, ‘उहाँहरूको धापले मेरो हौसला बढ्थ्यो।’
नभन्दै उनी बेलाबेलामा हुने प्रतियोगितामा सहभागी हुन पाइन्। प्रदेश र राष्ट्रियस्तरको खेलमा उनले स्वर्ण पदक जितेर ल्याइन्। सात वर्षमा निरन्तर जीत हासिल गरिन्। सबभन्दा ठूलो जीत भने उनले १३ औं सागमा हासिल गरिन्। उक्त खेलकुद प्रतियोगितामा कुस्ती खेल्न जनकपुर पुगेकी संगीताले ५५ केजी तौल समूहको फाइनलमा बंगलादेशी खेलाडीलाई हराएर स्वर्ण पदक जितिन्।
योसँगै दक्षिण एसियालीस्तरमा भएका कुस्ती प्रतियोगितामा नेपालले स्वर्ण पदक जितेको पहिलोपटक थियो। तर संगीता र देशको भन्दा पनि ठूलो जीत उनकी आमा धनकुमारीको थियो। संगीताले स्वर्ण ल्याएर देशलाई जिताएकी मात्र थिइनन्, छोरीले पनि गर्न सक्छन्, उनीहरूले इज्जत कमाउन र नाम उज्यालो बनाउन सक्छन् भन्ने देखाइदिएकी थिइन्।
भर्खरै पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि उनले स्वर्ण पदक जितिन्। तर यो खुसीले मात्र उनीहरूको घरव्यवहार चल्दैन। आफ्नो घर छैन। पहिलेको घरमा भैंसीगोठ छ। उनका ठूलाबाले जग हालेर बनाउँदै गरेको घरमा उनीहरूलाई बस्न दिएका छन्।
दुइटा कोठामा उनीहरू बसेको १० वर्ष पुग्यो। संगीताले खेलकुदबाट पाएको पैसाले बहिनी र घरखर्च जोहो गर्छिन्। बहिनी कक्षा ११ मा पढ्दै छिन्। उनलाई विज्ञान पढाउने सपना भए पनि पैसा नपुगेर व्यवस्थापन पढाएको संगीताले बताइन्। उनी आफू भने स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन्।
खेलकुद प्रतियोगिता हुन एक वर्ष लाग्छ। खेलकुदमा जागिर अवसर नपाइने देखेपछि संगीतालाई अहिले चिन्ता छ। सकेसम्म सरकारी जागिर खाने सोच बनाएकी उनलाई प्रहरी वा सेनामा जान मन छ।’सरकारी जागिर गरे आमा, बहिनीलाई पाल्न सकुँला, जग्गा किनेर घर बनाउँला भन्ने सोच छ,’ उनले भनिन्।
असई र सेनामा उनले प्रयास गरिन् तर लिखित परीक्षा र मेडिकलमा सफल भइनन्। ‘अब एकचोटि फेरि सेनामा दिन्छु। निस्किएन भने विदेश जाने तयारी गर्छु,’ उनले भनिन्। देशका लागि गोल्डमेडल ल्याउने खेलाडी देशबाटै बाहिरिने अवस्था आउँदा उनलाई नरमाइलो लाग्छ। तर खेलमा उनलाई धेरै आश छैन।
‘खेलमा मभन्दा धेरै अनुभवी दाइहरू समेत अवसर नपाएर पलायन हुनुभएको छ। म त भर्खर आउँदैछु, के पाउँछु र?’ उनले भनिन्।जीन्दगीको गुजारा चलाउने उल्झनमा अल्झिएका बेला उनी अहिले म्यादी प्रहरी भएकी छन्।आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेपछि साथीले संगीतालाई म्यादी प्रहरी बन्न सुझाइन्।
संगीतालाई चुनावमा खटिन पाउनु अवसरजस्तै लागे पनि ‘स्वर्ण पदक विजेता खेलाडी भएर म्यादी जागिर खाइछ’ भन्छन् कि भन्ने डर थियो। साथीले उनलाई चाहिएका बेला थोरै भए पनि पैसा आउँछ भनेर सम्झाइन्।’साथीले जाऊ, के नै भन्लान् र पैसा चाहिएको छ भनेपछि म गएँ। नाम पनि निस्कियो,’ संगीताले भनिन्।
आजभोलि उनी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ड्युटी गर्छिन्। बिहान साढे ११ बजेसम्म खटेपछि १५ मिनेट साइकल चलाएर घर जान्छिन्। खाना खाई फेरि दिउँसो २ बजेदेखि अपराह्न ४ बजेसम्म खट्छिन्।दक्षिण एसियास्तरमा कुस्तीमा पहिलो पटक स्वर्ण जितेर इतिहास रच्ने संगीता आर्थिक अभावका कारण म्यादी जागिर खानुपरेको बताउँछिन्। सेतो पाटि बाट
Leave A Comment