काठमाडौं । हरिबोधिनी एकादशीलाई तुलसीको विवाह गर्ने दिन भनेर चिन्ने गरिन्छ । वैदिक सनातन हिन्दू धर्ममा मात्रै तुलसीको ब्याख्या छैन् ।आयुर्वेदमा पनि निकै महत्वपूर्ण भूमिका खेल्ने तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज्ञानिनक रुपमा पनि निकै महत्व रहेको छ ।
तुलसीलाई हिन्दू धर्मालम्वीहरुले आ–आफनो घरमा पनि तुलसीको मठ बनाएर पूजा गर्ने गर्दछन् । हजारौं वर्षदेखि सनातन संस्कारीहरु बिहान उठेर तुलसीको पूजा गर्दै पानी चढाएपछि नमन गरेर मात्र आफ्नो दैनिकी सुरु गर्छन् । कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी, जसलाई ठूली एकादशीको नामले पनि चिनिन्छ ।
उक्त दिन तुलसीको पूजाका साथै विवाह गर्ने प्रचलन छ । त्यस दिनमा विशेष गरि भगवानको विष्णु पूजा अर्चनासहित तुलसीको विवाह गरिन्छ । सनातन धर्म अनुसार असाढ शुक्ल एकादशीदेखि सुतेर भगवान विष्णु ४ महिनापछि आफनो पवित्र निद्राबाट उठेको मान्यत रहेको छ ।
कात्तिक १८ गते शुक्रबार अर्थात एकादशीको दिन बिहान सबेरै सूर्योदय हुनु भन्दा अगाडि उठेर सफा पानीले स्नान गर्दा निकै उत्तम योग हुन्छ । यदि नजिकै खोला, नदी छ भने त्यहाँ गएर स्नान गर्नुपर्छ ।तर सम्भव नभए घरमै शुद्ध पानीमा तिल, जौँ, कुस राखेर पवित्र नदी गंगा, यमुना,सरस्वती, शिन्धु आदिको नाम स्मरण गर्दै स्नान गर्दा पनि हुन्छ ।
स्नान गरिसकेपछि पवित्र वस्त्र धारण गर्नुहोला । उक्त दिन भगवान विष्णु सुतिरहने हुँदा शंख वा घण्टी बजाएर उठाउनुपर्छ ।पाँच वटा बाँसको लिङ्गा काटेर ल्याइ तुलसीको मठलाई आर्कषक बेहुली जस्तै बनाएर सिङ्गार्नु पर्छ । तुलसीको छेउमा भगवान विष्णुको फोटा राखेर वा मुर्तीलाई राखेर पूजा गर्नु होला ।
एउटा नरिवल, पहेँलो फुल हातमा लिएर पुस्पाञ्जली लिनु पर्ने हुन्छ । यी सम्पूर्ण सामान हातमा लिएर तुलसीको ७ पटक परिक्रम गर्नुपर्छ । त्यसपछि तुलसीलाई माला लगाइदिनु होला ।भगवान विष्णुको माला र तुलसीको एकआपसमा साटासाट गरेपछि तुलसीको जल खानु पर्दछ ।
त्यस पछि फुल, चन्दन, सुपारी, दक्षिणा राखेर भगवान विष्णु र तुलसीको लगन गाँठो बाँधेर सिन्दूर लगाइदिनुपर्छ ।
Leave A Comment