काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । मुस्ताङको मुक्तिनाथमा घुमघामको सिजन शुरु भएसँगै मुक्तिनाथ मन्दिरमा धार्मिक पर्यटक र ट्रेकिङ गर्ने पर्यटक बढेको मुक्तिनाथ विकास समितिले जनाएको छ ।
मुस्ताङ घुम्ने र मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने पर्यटक बढेसँगै मुस्ताङ मुक्तिनाथ क्षेत्रका होटलहरू भरिभराउ छन् । वर्षको दुई सिजन मात्रै व्यापार गर्न पाउने मुस्ताङ मुक्तिनाथ क्षेत्रका होटल तथा अन्य व्यवसायीहरूमा सिजनको समयमा पर्यटक वृद्धि हुँदा उत्साहित भएका छन् ।
मुक्तिनाथमा दर्शन गर्न जाने धार्मिक पर्यटक र ट्रेकिङ गर्ने पर्यटकको संख्या बढेसँगै मुस्ताङका होटलहरूमा विदेशी र आन्तरिक पर्यटनहरूको भीड देखिन थालेको मुस्ताङका स्थानीय व्यवसायीहरू बताउँछन् । व्यवसायीहरूले विशेष गरी मुक्तिनाथ क्षेत्रमा भारतीय पर्यटकको बढी चाप देखिएको बताए ।
सामान्य अवस्थाको तुलनामा दशैं तिहारपछि मुस्ताङका होटलहरूको अकुपेन्सी दर ८० प्रतिशत भन्दामाथि पुगेको मुक्तिनाथ क्षेत्रका होटल व्यवसायीहरू बताउँछन् । इरिक इन होटलका सञ्चालक सुजन तुलाचनले तिहारपछि मुक्तिनाथ दर्शन गर्न जाने आन्तरिक, भारतीय र अन्य विदेशी पर्यटनहरूले मुस्ताङ मुक्तिनाथ क्षेत्रका होटलहरू भरिएको बताए ।
उनले नेपाली र भारतीय पर्यटकले होटलहरू फुल अकुपेन्सी चलेको बताए । उनले दुई वर्ष कोभिडको मार र यो वर्ष दशैंपछि अविरल वर्षा र बाटोको समस्याको कारण अफ्ठ्यारो परेपनि तिहारपछि भने पर्यटनको आगमन बढेकाले थप उत्साह थपेको बताए ।
मुस्ताङ, मुक्तिनाथमा रहेको ग्राण्ड समवाला होटलका सञ्चालक सुरज गुरुङले पनि तिहारपछि मुस्ताङका सबै होटलहरूमा आन्तरिक, भारतीय र विदेशी पर्यटनहरूले कोठा भरिभराउ रहेको बताए । उनले मुस्ताङमा अक्टोबर र नोभेम्बर महीना ट्रेकिङ र मुक्तिनाथ दर्शनका लागि पर्यटक बढ्ने बताए ।
मुस्ताङको मुक्तिनाथ बाटो सहज बनाउनसके सबैखाले पर्यटक भित्र्याउन सकिने उनकाे भनाइ छ । मुस्ताङ भ्रमणका लागि अहिलेको समय सबैभन्दा उपयुक्त भएकाले पनि आन्तरिक पर्यटन बढेको देखिन्छ । हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा पर्यटकीय सिजनसँगै स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बाक्लो छ ।
पर्यटकहरूको चहलपहल बढेअनुसार पछिल्लो समय मुस्ताङको मुक्तिनाथ क्षेत्रमा होटल तथा अन्य पर्यटन पूर्वाधारको विकास र विस्तार पनि बढ्दै गएको छ । मुस्ताङमा पर्यटन पूर्वाधार विकास र विस्तार तीव्र रूपमा हुँदै जाँदा मुक्तिनाथ क्षेत्र हिन्दु र बौद्ध धर्मालम्बीहरूको धार्मिक तीर्थस्थल तथा ट्रेकिङ पर्यटकको लागि प्रमुख गन्तव्य बन्नसक्छ ।
मुस्ताङका प्रमुख पर्यटकीय गन्तव्यहरू मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, कोरोला नाका, मार्फा गाउँ, ठिनी, धुम्बा ताललगायतमा पर्यटक बढेका छन् । मुस्ताङ देशकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो ।पछिल्लो समय नेपालका सबै पर्यटकीय क्षेत्रमा पर्यटक बढेसँगै १० महीनाको अवधिमा नेपालमा झण्डै ५ लाख विदेशी पर्यटक नेपाल भित्रिएको नेपाल आएको बोर्डले जनाएको छ ।
अक्टोबर महीनामा कोरोना भाइरस महामारी शुरु भएयताकै सबैभन्दा बढी संख्यामा पर्यटक भित्रिएका छन् । बोर्डको तथ्यांक अनुसार अक्टोबरमा मात्र ८८ हजार ५८२ जना पर्यटक नेपाल भित्रिएका छन् । सेप्टेम्बर महीनामा ५८ हजार ३१४ जना पर्यटक नेपाल आएका थिए । रासस
Leave A Comment