काठमाडौं । आकाशमै ककपिटमा चालक दलका सदस्यभन्दा बाहेकका व्यक्तिलाई प्रवेशको अनुमति दिँदै भिडियो अन्तर्वार्ता दिएपछि नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामा छानविनमा तानिएका छन् ।
कारण स्पष्ट पारी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमतिमा मात्र पाइलटले फोटोग्राफी वा भिडियोग्राफी गर्न सक्छन् ।उनले यो नियम तोडेसँगै नियामक निकायको छानविनमा तानिएका हुन् । छानविन प्रतिवेदन नआएसम्म उनको नाम उडानको रोष्टरबाट समेत हटाइएको छ ।
हालै एभिएसन भ्लगर साम चुईले दुबई-काठमाडौं रुटको एक भ्लगमा ककपिटबाटै पाइलट विजय लामासँग अन्तर्वार्ता लिएको सार्वजनिक भएको छ । यसबारे नेपाल वायुसेवा निगम मातहतको सुरक्षा विभागले प्राधिकरणलाई जानकारी गराएको थियो ।
सो सम्बन्धमा प्राधिकरणले छानविन सुरु गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । छानविन जारी रहँदा निगमले उडानको रोष्टरबाट उनको नाम हटाएको छ ।ककपिटमा अनाधिकृत व्यक्तिको प्रवेशले उडान सुरक्षामा असर पुग्छ ।
यसको वेवास्ता गर्दै पाइलट विजय लामाले भिडियो अन्तर्वार्ता ने दिएसँगै उनी छानविनमा तानिएका हुन् ।‘उहाँ अहिले अनुसन्धानको दायरामा हुनुहुन्छ, त्यसपछि प्रतिवेदन महानिर्देशक कहाँ जान्छ, महानिर्देशकबाट जे निर्णय हुन्छ, त्यही अनुसार कारवाही हुन्छ,’ भुलले भने ।
वायुसेवा तथा उड्डयनकर्मीहरूको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागको निर्देशनअनुसार निगमको अपरेसन विभागले पाइलट लामालाई आइतबारदेखि ग्राउन्डेड गरेको हो ।कारबाही स्वरुप लामाको मलेसिया भ्रमण समेत रद्द गरिएको छ ।
लामा सेफिट इक्युपमेन्ट इमर्जेन्सी तालिमका लागि आइतबार मलेसिया जाने तयारीमा थिए ।चर्चित एभियसन ब्लगर सम चाेइलाई विना अनुमति जहाजको ककपिटमा लगेको भन्दै लामालाई कारबाही गरिएको हो । चोइ केही दिनअघि नेपाल भ्रमणमा आएका थिए । उनले क्याप्टेन लामासँग ककपिटमा खिचेको फोटो र भिडिओ सामाजिक सञ्जालमा राखेका थिए ।
यो पनि – चालु आर्थिक वर्षको भदौको तुलनामा असोज महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको छ ।नयाँ, संस्थागत र पुन गरी गएको भदौ महिनामा मात्रै ७६ हजार ४ सय ३ जनाले श्रम स्वीकृति लिएकोमा असोजमा महिनामा ६२ हजार ७ सय ६ जनाले मात्र लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
यो सङ्ख्या अघिल्लो महिनाको तुलनामा १३ हजार ६ सय ९७ जनाले कमी हो । असोज महिनामा सबैभन्दा धेरै ३९ हजार ७९० जना दक्ष श्रमिकले श्रम स्वीकृति लिएका छन् भने १८ हजार ५ सय ७७ जना अदक्ष श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।
श्रम स्वीकृति लिनेमा ४२ सय १६ जना अर्धदक्ष, १ सय ९ जना व्यवसायीक र १४ जना उच्च सीपयुक्त श्रमिक रहेका छन् । पछिल्लो समय श्रम स्वीकृति लिनेमा दक्ष श्रमिकको सङ्ख्या बढ्दै गएको छ । भदौ महिनामा पनि ७६ हजारले श्रम स्वीकृति लिँदा ४६ हजार ६९ दक्ष श्रमिक थिए ।
असोज महिनामा सबैभन्दा धेरै मलेसिया जाने श्रमिक रहेका छन् । असोज महिनामा मलेसिया जानका लागि नयाँ, व्यक्तिगत, संस्थागत र पुन गरी २७ हजार ६२ जनाले श्रम स्वीकृति लिएका छन् ।मलेसिया पछि खाडीको देश कतार जान ९ हजार ८४५ जनाले, यूएईका लागि ७ हजार ८४५ जनाले, साउदीका लागि ६ हजार ५३६ जनाले र कुवेतका लागि ३४ सय ९७ जनाले श्रम स्वीकृति लिएका छन् ।
असोज महिनामा ६ सय ६७ जना म्यानपावर कम्पनीले रोजगारीका लागि श्रमिक विदेश पठाएका छन् । जसमध्ये २६ ओटा म्यानपावर कम्पनीले एक महिनामा एक एक जना मात्र श्रमिक पठाएका छन् भने ३२ ओटा म्यानपावरले दुई दुई जना, २३ ओटा म्यानपावर कम्पनीले तीन तीन जना, २३ ओटा म्यानपावरले चार चार जना,
१६ ओटा म्यानपावरले पाँच पाँच जना, २२ ओटा म्यानपावरले छ छ जना, १५ ओटा म्यानपावरले सात सात जना, १० ओटा म्यानपावरले आठ आठ जना, १३ ओटा म्यानपावरले नौ नौ जना, ६ ओटा म्यानपावरले दश दश जना र १५ ओटा म्यानपावरले एक महिनामा एघार एघार जना मात्र श्रमिक पठाउन सफल भएका छन् ।
१ सय १७ ओटा म्यानपावर कम्पनीले एक सयभन्दा बढी श्रमिक पठाएका छन् । सबैभन्दा धेरै वाइड स्पेस इन्टरनेशनल प्रालीले ७ सय ८८ जना पठाएको छ भने एक्सेस पार्टनर्स प्रालीले ६ सय १२ जना पठाएको छ ।
Leave A Comment