Latest
img

राप्रपालाई भोट माग्दै मनिषा कोइराला, चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं । चुनाव नजिकिएसँगै सेलिब्रिटीहरु राजनीतिक दल र उम्मेदवारप्रति खुल्न थालेका छन् । कतिपय कलाकार उम्मेदवारसँगै घरदैलोमा भोट माग्न व्यस्त छन् भने कतिपय चुनावी कार्यक्रममा सहभागी हुँदैछन् ।

चुनावी माहोल गर्माएका बेला अभिनेत्री मनिषा कोइराला पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा खुलेकी छन् । शुक्रबार स्याङ्जाको वालिङमा हुने राप्रपाको चुनावी कार्यक्रमलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँगै मनिषाले समेत सम्बोधन गर्ने कार्यक्रम छ ।पोखरामा हुने पार्टीको चुनावी कार्यक्रमपछि लिङ्देन र मनिषा वालिङको कार्यक्रममा सहभागी हुनेछन् ।

उक्त कार्यक्रमलाई मनिषाले पनि सम्बोधन गर्ने तय भएको राप्रपा स्याङ्जाका अध्यक्ष तुलसिंह ठकुरीले जानकारी दिए ।मनिषाले पहिलेदेखि नै राजसंस्था र हिन्दू राज्यको पक्षमा आफ्नो धारणा राख्दै आएकी थिइन् । तिनै एजेण्डा बोकेको दल राप्रपाप्रति उनको सैद्धान्तिक निकटता देखिन्छ ।

सञ्जयलीला भन्सालीको फिल्म ‘हीरामण्डी’को छायांकन लगत्तै मनिषा काठमाडौं उत्रिएकी हुन् । सन् १९८९ को नेपाली फिल्म ‘फेरि भेटौंला’बाट अभिनय करिअर थालेकी मनिषाले एक समय बलिउडमा राज गरेकी थिइन् । उनको पछिल्लो नेपाली फिल्म ‘धर्मा’ हो ।

यो पनि – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार डा.तोसिमा कार्कीलाई ​चुनावी प्रचारप्रसारबारे कुनै निर्देशन नदिएको प्रस्ट्याएको छ। बुधबार आयोगले चुनाव चिह्न घन्टी बजाउँदै चुनाव प्रचार नगर्न कार्कीलाई निर्देशन दिएको समाचार बाहिरिएपछि आयोगले यस्तो बताएको हो।

‘प्रतिनिधिसभा सदस्य उम्मेदवार तोसिमा कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न आयोगले कुनै पनि निर्देशन नदिएको प्रस्ट पारिन्छ,’आयोगले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ। कार्की ललितपुर क्षेत्र नम्बर-३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुन्। उनको चुनाव चिह्न घन्टी छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment