न्यूयोर्क । अमेरिकाको आर्थिक राजधानी भनेर चिनिएको न्यूयोर्क राज्यसभामा इतिहासमै पहिलोपल्ट नेपाली मूलको निर्वाचित प्रतिनिधित्व भएको छ । डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेद्वार बनेकी नेपाली मूलकी सराहना श्रेष्ठले विपक्षीलाई भारी मतले पराजित गर्दै राज्य सांसद निर्वाचित भएकी हुन् ।
नोभेम्बर ८ का दिन भएको सो निर्वाचनको परिणाम राति अबेर आएको थियो । नेपालको काठमाडौंमा जन्मेकी श्रेष्ठका प्रतिष्पर्धी उम्मेद्वार रिपब्लिकन पार्टीका थिए । उनी न्यूयोर्कको डिक्ट्रिक १०३ बाट निर्वाचित भएकी हुन् । यो क्षेत्र बहुसंख्यक गोरा जातिको बसोबास भएको क्षेत्र हो ।
उनको क्षेत्रमा लगभग ३ प्रतिशतमात्र एशियन मूलका अमेरिकीहरुको बसोवास छ ।न्यूयोर्कमा इतिहासमै पहिलोपल्ट नेपालीले यसरी उच्च पदमा निर्वाचित भएपछि सराहनालाई सामाजिक सञ्जालमार्फत अमेरिकावासी नेपालीहरुको बधाइको ओइरो लागेको छ ।
अमेरिकाभर र संसारका विभिन्न स्थानहरुबाट उनलाई बधाइको ओइरो लागेको छ । र, अधिकांशले अमेरिकाजस्तो देशको मूलधारको राजनीतिमा नेपाली महिलाको गर्विलो उपस्थितिले इतिहास कायम गरेको भन्दै बधाइ दिएका छन् । बिगत केही बर्षदेखि उनी जलवायु परिवर्तनका विषयमा वकालत गर्दै सामाजिक काममा सक्रिय बनेकी थिइन् ।
उनले वर्र्किंग क्लास (कामकाजी) जनसंख्याले केवल बांच्नमात्र होइन त्योभन्दा राम्रो जीवन पाउनुपर्छ भन्ने मूल नारालाई अघि सारेकी थिइन् ।त्यस्तै मेरिल्याण्ड जनरल एसेम्बलीका लागि मेरिल्याण्ड राज्यको विधायक (सांसद) मा डेमोक्रयाट पार्टीका तर्फबाट नेपाली मूलका डा ह्यारी भण्डारीले पुनः जीत हासिल गर्नुभएको छ ।
उहाँ कूल १३ हजार ९४९ मत ल्याई पहिलो निर्वाचित विधायक बन्नुभएको छ । यो कूल खसेको मतको २० दशमलव २७ प्रतिशत हो ।सन् २०१८ मा सम्पन्न निर्वाचनमा विजयी भएर अमेरिकाको मूलधारको राजनीतिमा जीत हासिल गर्ने पहिलो नेपाली बन्नुभएका भण्डारीले आफ्नो क्षेत्रका नागरिकलाई शिक्षामा सुधारको अभियान अगाडि सार्नुभएको थियो ।
Leave A Comment