Latest
img

‘व्यापार घाटा २२ खर्ब छ, जम्मा १२ खर्ब राजश्व उठ्छ, कहाँबाट देश विकास हुन्छ ?’

काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले देशमा भइरहेको भ्रष्टाचारलाई आगामी निर्वाचनबाट निमिट्यान्न बनाउने शक्ति निर्वाचित गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीवार गुल्मी निर्वाचन क्षेत्र नम्बर १ ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार भएकाले आसन्न निर्वाचनबाट भ्रष्टाचारलाई निमिट्यान्न बनाउने शक्तिलाई विजयी गराउन आवश्यक रहेको बताए । नेताहरुले लुटेको सम्पत्ति फिर्ता गर्नुपर्ने दिन आइसकेको भण्डारीको भनाई छ ।

उनले राजनीतिक दलहरुले नेपालमा रोजगारीको अवसरको खोजी नगरी युवाहरुलाई विदेश पठाउने गरेको भन्दै यस्ता तत्वहरुलाई निर्वाचनबाट जनताले पराजित गर्न आवश्यक भएको बताए । भण्डारीले नेपालले अहिले ७ खर्ब विदेशी ऋणको ब्याज तिरिरहेको र २२ खर्ब व्यापार घाटा रहेकाले देशको अर्थतन्त्रलाई सुधार गरी बलियो बनाउने शक्तिलाई जनताले निर्वाचनबाट चुन्नुपर्ने बताए ।

उनले नेपाली राजनीतिमा बेइमान नेताहरु भएको बताए । बेइमान नेताहरुका कारण देश र देशको सौन्दर्यलाई चिन्न नसकेको भण्डारीले बताए । उनले खरको छाना हालेर बस्नेहरुलाई गरिब भनेर विस्थापित गर्ने र अहिले शहरमा खरकै छाना बनाएर करोडौं कमाइरहेको बताए ।

भण्डारीले भने, ‘हामीलाई थाहा छ, नेपालको रोग के हो ? नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार हो । अब जोसुकै होस्, जुन पार्टीको होस्, जतिसुकै ठूलो होस्, हामीले अब मंसिर ४ गते यी तत्वलाई पराजित गर्नुपर्छ । यो लुटेको सम्पत्ति नेपाल आमालाई फिर्ता गर्नुपर्छ ।

युवाहरुलाई विदेश पठाएर नेपालमा अवसरको खोजी नगर्ने दोस्रो रोग हो । नेपाललाई रित्तै गर्ने, जोश छैन, जाँगर छैन । यसको निधान हामीले गर्नुपर्छ ।’ उनले थपे, ‘आज हामी ७ खर्ब विदेशी ऋणको ब्याज तिर्दैछौँ । २२ खर्ब व्यापार घाटा छ । १२ खर्ब राजश्व उठ्छ जम्मा ।

कहाँबाट विकास गर्ने नेपालले । हाम्रा घरका बस्तीलाई हामीले गरिब बस्ती भनेर हेप्यौँ, तर अहिले शहरमा खरको छानोले छाएको टहरा बनाएर करोडौंको व्यापार गरिरहेका छन् । न हामीले देश चिन्यौँ, न त हाम्रो सौन्दर्य नै । हामी नेपाली भुमिका बेइमान सन्तान र नेताहरु हौँ ।

अब यसको अन्त्य हामीले गर्नुपर्छ र मंसिर ४ गते बिदाइ गर्नुपर्छ ।’नेता भण्डारीले मुलुकलाई दुरावथामा पुर्याउने नेताहरुलाई आसन्न निर्वाचनबाट बिदाई गर्नुपर्ने बताए । उनले आसन्न निर्वाचन आफूले जिते गुल्मी जिल्लालाई नमूना जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरे ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment