काठमाडौं । विश्वका धेरै मन्दिरमा भगवानसँग मनमनै वर माग्ने गरिन्छ । तर पाल्पाको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने प्रचलन छ ।सत्यवती बजै देविका कानले नसुन्ने भएकाले भक्तजनहरुले चिच्याएर वर माग्छन् ।
गत कार्तिक २१ गते उक्त मन्दिरमा चिच्याएर वर माग्ने भक्तजनहरुको भिड लागेको थियो ।यस वर्ष सत्यवती बजैको दर्शन तथा पूजा गर्न साइत जुरेकाले गत वर्ष भन्दा धेरैको संख्यामा भक्तजनको उपस्थित रहेको मन्दिर व्यवस्थापन समितिले जानकारी गरायो ।
यस वर्ष कात्तिक महिनामा चर्तुदर्शी र पूर्णिमाका दिन सत्यवती बजैको दर्शन गर्न उत्तम समय रहेको ६८ वर्षी भक्तालु लक्ष्मी राना मगरले बताइन् । साइत जुरेको समयमा सत्यवती बजैको दर्शन गरेमा मनको इच्छा पुरा हुने विश्वास गरिन्छ । उक्त मन्दिरमा मागेको कुरा पुरा हुने विश्वासका आधारमा छिमेकी देश भारतीय पनि उक्त मन्दिरमा पुग्छन् ।
नेपालका पनि ७७ बाटै जिल्लाबाट भक्तालुजनहरु आउने गर्दछन् । यस मन्दिरमा लामो समयसम्म बिरामी परेकाहरु पनि आएर आफूलाई छिट्टै निको होस भन्दै चिच्याउछन् । सन्तान नभएकाहरुले पनि छोराछोरी माग्छन् । उक्त मन्दिरमा मागेका कुराहरु पुरा भएको भन्दै खु:शी साट्नका लागि थुप्रै भक्तालुहरु आउछन् ।
विगतका वर्षहरुमा कात्तिक चर्तुदर्शीका दिन भक्तजनहरु सत्यवतीको मन्दिरमा बास बस्ने, पूजा गर्ने, बिहान देविसँग चिच्याएर वर मागेर साँझ तिर फर्कने चलन छ । केही वर्ष यता कात्तिक शुक्लापक्षको त्रियादशीको दिनदेखि पूर्णिमाको दिनसम्म राति सत्यवतीको पूजा गर्दै चिच्याएर वर माग्ने गरिन्छ ।
Leave A Comment