काठमाडौं । निर्वाचन आयोगले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरण सोधेको छ ।प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको उजुरी परेपछि निर्वाचन आयोगले बिहीवार चलचित्र विकास बोर्डका अध्यक्ष केसीलाई स्पष्टीकरण सोधेको हो ।
नवलपरासी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद चौधरीको चुनाव प्रचारप्रसारमा सहभागी भएकोबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।सरकारी पदमा बहाल रहेको व्यक्तिले जानाजान चुनावमा उम्मेदवार रहेका व्यक्तिको प्रचारप्रसार गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा ४४ बमोजिम विभागीय कारबाहीसमेत हुनसक्ने आयोगले जनाएको छ ।
सरकारी पदमा बहाल रहेको व्यक्ति कुनै दलका उम्मेदवारको चुनाव प्रचारप्रसारमा सहभागी हुने काम निर्वाचन आचारसंहिता २०७९ को प्रतिकूल हुने भएको भन्दै आयोगले यस विषयमा स्पष्टीकरण पेस गर्न भनेको छ ।त्यस्तै नेपालमा छायांकन भएको बलिउड हिन्दी फिल्म ‘उचाइ’को रेडकार्पेट प्रिमियर बुधबार बेलुका मुम्बईमा सम्पन्न भएको छ ।
विशेष शोमा बलिउड अधिकांश स्टारहरु उपस्थित रहे ।अनुपम खेरले फिल्मको विशेष शो राखे, जसमा फिल्मका कलाकारसहित सलमान खान, अक्षयकुमार, कंगना रनौत, जया बच्चन, भाग्यश्री, टाइगर श्राफ लगायत सहभागी रहे ।शोमा जया बच्चनले सामुन्ने उभिएकी अभिनेत्री कंगनालाई बेवास्ता गरेर अघि बढेको कुराले चर्चा पाएको छ ।
कंगनाले नमस्कार गर्दा पनि जयाले इग्नोर गरेकी थिइन् ।निर्देशक सुरज वर्जत्यको हात समातेर सलमान खान हिंडेको दृश्यले पनि चर्चा पायो । निर्माण कम्पनी राजश्री प्रोडक्सनकै ब्यानरबाट अनुपम खेर र सलमान खानले करिअर स्थापित गरेका हुन् ।
अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा, डेनी डेनजोङ्पा लगायतको अभिनय रहेको फिल्म उचाइको अधिकांश छायांकन नेपालमा गरिएको हो । नेपालमा समेत यो फिल्म शुक्रबारदेखि प्रदर्शन हुँदैछ ।सुशान्तकुमार श्रेष्ठ लगायत केही नेपाली फिल्म निर्माता तथा कलाकारले उचाइलाई नेपाली फिल्म सरह मानेर कर छुट दिन माग गरेका छन् ।
अधिकांश छायांकन नेपालमा भएको, नेपाली प्राविधिक र कलाकार संलग्न रहेको, नेपाली भाषा पनि समेटिएको र डेनीजस्ता नेपालीभाषी पनि संलग्न भएकाले उचाइलाई सहुलियत दिनुपर्ने माग उनले राखेका छन् ।झण्डै एक महिनासम्म नेपालमा रहेर छायांकन गरिएको फिल्मले नेपालको पर्यटन प्रवर्द्धनमा फाइदा पुग्ने आशा लिइएको छ ।
Leave A Comment