Latest
img

बैंकले ऋण नदिँदा निर्माण क्षेत्रमा मन्दी, सिमेन्ट उद्योगमा वित्तीय संकट

काठमाडौं । हिउँद लागेको छ । यस यामलाई विकास निर्माणका समयका रुपमा पनि लिइन्छ । विकास निर्माणको समय सुरु भए पनि सिमेन्ट तथा छडको माग भने न्यून भएको पाइएको छ । पछिल्लो केही समययता सिमेन्ट तथा रडको खपत न्यून रहेको व्यवसायीहरुले बताएका छन् ।

नेपाल राष्ट्र बैंकले गरेको कडाइ तथा देशमा तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले घर तथा आवास निर्माणका लागि सहजरुपमा ऋण नदिँदा सिमेन्ट तथा रडको माग नभएको व्यवसायीको भनाइ छ ।बजारमा निर्माण सामग्रीको माग न्यून हुँदा मूल्यसमेत घट्न थालेको निर्माण सामग्री व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

बैंकले ऋण नदिँदा तथा तरलता अभावका कारण निर्माण क्षेत्रमा मन्दी आएको उनको भनाइ छ । उनका अनुसार दसैंयता सिमेन्ट प्रतिबोरामा ५० र छड प्रतिकेजी सातदेखि नौसम्म सस्तो भएको छ । तरलता अभावकै कारण घर बनाउने घट्न थालेपछि फलामजन्य सामग्रीको मूल्य घटेको व्यवसायीको भनाइ छ ।

तरलता अभावका कारण पछिल्लो समय बजारमा माग घट्दा अधिकांश सिमेन्ट उद्योगले उत्पादन कटौती गर्न थालेका छन् । निर्माणजन्य गतिविधि न्यून हुँदा खपत हुन नसकेको तथा खपत नहुँदा अहिले सिमेन्टमा उद्योग वित्तीय सङ्कट देखिन थालेको सिमेन्ट उद्योगीले बताउन थालेका छन् ।

बजारमा सिमेन्टको मागमा उच्च गिरावट आएपछि हाल सञ्चालनमा रहेका अधिकांश सिमेन्ट उद्योगले क्षमताभन्दा न्यूनमात्रामा सिमेन्ट उत्पादन गर्दै आएका छन् । नेपाल सिमेन्ट उत्पादक सङ्घका उपाध्यक्ष ताराप्रसाद पोखरेले सिमेन्टको माग न्यून हुँदा क्षमताअनुसार उत्पादन नभएको बताए ।

निर्माणको समय सुरु भए तापनि बजारमा चहलपहल नहुँदा न्यूनमात्रामा सिमेन्ट खपत हुन थालेको उनको भनाइ छ ।उनले पछिल्लो केही दिनयता धेरै सिमेन्ट उद्योगले १५ देखि एक महिनाको समय राख्दै उद्योगले न्यूनमात्रामा न्यून उत्पादन गर्न थालेका छन् ।

गत भदौमा मात्र गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर प्रमाण चिह्न (एनएस) पाएको हुवासिन सिमेन्टले सीमितमात्रामा मात्रै उत्पादन गरिरहेको छ ।हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार सिमेन्टको माग कम हुँदा केही समयका लागि उत्पादन कटौती सीमित गरिएको छ ।

सिमेन्ट उत्पादकका अनुसार एक दर्जन हाराहारीमा उद्योग बन्द छन् । बजारमा सिमेन्टको बिक्रीवितरण भइरहेको भए पनि उद्योगमा उत्पादन भने कटौती गरिएको र सटडाउनकै अवस्थामा छभन्दा पनि फरक नपर्ने उनको भनाइ छ ।उत्पादन लागतभन्दा कम मूल्यमा ठूलो रकम नोक्सानी व्यहोरेर सिमेन्ट बिक्री गरिएको कम्पनीको दाबी छ ।

‘हामीले उद्योग स्थापना गरेसँगै विभिन्न खालको समस्या बेहोर्नुपरेको थियो, अहिले बजारमा आर्थिक मन्दी आउँदा ठूलो रकम नोक्सानी खाएर भए पनि सिमेन्ट बिक्री सुरु गरेका थियौँ’, उनले भने, ‘बजारमा सिमेन्टको माग नहुँदा सञ्चालन खर्चमा मात्र वृद्धि भयो । सञ्चालन खर्च र धेरै मौज्दातका कारण केही समय न्यून उत्पादन गर्नुपरेको छ ।’ रासस

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment