धनगढी । राष्ट्रव्यापी चुनावी प्रचारप्रसार प्रारम्भ गर्न एक साताअघि सुदूरपश्चिम आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि चुनावी सभा सम्बोधन गर्न आज सुदूरपश्चिम पुगेका छन्। शनिबार बिहान १२ बजे ओली सुदूरपश्चिमको अस्थायी मुकाम समेत रहेको कैलालीको धनगढी ओर्लिएका हुन्।
अध्यक्ष ओली दुई जिल्लाका तीन चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम आएको एमाले प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए। उनकाअनुसार आज केहीबेरमै डोटीको दिपायलमा ओलीले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। ओली केहीबेरमा धनगढीबाट डोटीतर्फ जाने छन्।
यस्तै त्यहाँबाट फर्केर कैलालीस्थित गोदावरीको अत्तरिया र लम्कीचुहाको लम्कीमा आयोजना हुने कार्यक्रमलाई पनि ओलीले सम्बोधन गर्ने छन्। गोदावरीको अत्तरियामा २ बजे र लम्कीचुहाँको लम्कीमा ४ बजे आयोजित कार्यक्रममा ओली सहभागी हुने जनाइएको छ। यी तीनै सभालाई अध्यक्ष ओलीसहित एमालेका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले पनि सम्बोधन गर्ने छन्।
यसअघि १८ गते ओलीले दार्चुला, बैतडी र कञ्चनपुरका चुनावी सभा सम्बोधन गरेका थिए। भारतले कब्जा गरेको लिपुलेक,लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा जारी गरेका ओलीले निर्वाचन प्रचार प्रसारमा पनि सुदूरपश्चिमबाटै राष्ट्रियताको विषयलाई बुलन्द गरिरहेका छन्।
यो पनि – मतदानको दिन नजिकिँदै जाँदा दलहरूले चुनाव प्रचारप्रसारका नयाँ शैलीहरू अपनाइरहेका छन् । युवादेखि वृद्धवृद्धालाई आकर्षित गर्न नेता-उम्मेदवार विभिन्न तरिका अघि सारेका छन् ।यसमा एमाले र अध्यक्ष केपी ओली अरुभन्दा अघि देखिन्छन् ।
युवापुस्ता तथा खासगरि नयाँ भोटर्सलाई आफूतिर तान्न ओलीले यसअघि पनि दमकमा ‘ओली वीथ फस्ट भोटर्स’ कार्यक्रमको आयोजना गरेका थिए ।गएराति नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मध्यरातमा ठमेलस्थित नाइटक्लब लर्ड अफ द ड्रिंक्स(एलओडी) पुगेका छन् ।
चुनाव नजिकिँदै गर्दा उनी नेकपा एमालेको चुनावी र्याप गीत सार्वजनिक गर्न एलओडी पुगेका हुन् । मध्यरातमा ओली पुग्दा क्लबका सयौँ युवाले ‘केपी बा’ को नारा लगाए ।त्यहाँ एमाले सरकारको पालामा भएगरेका विकास निर्माण समेटिएको र्याप गाइएको थियो ।
‘सहर सहरमा ओली’ गीतमा नागरिकता विधेयकमा ओलीको अडान, अतिक्रमित भूभाग नक्सामा राखेकोलगायतका विषय समेटिएका छन् । ओली आफैँले पनि गीत गाए, रमाइलो गरे ।केपी ओलीका बारेमा बनाइएको र्याप गीत युट्युबमा भने एक हप्ताअघि नै सार्वजनिक गरिएको थियो ।
अध्यक्ष ओलीले युवाहरूमाझ लोकप्रिय रहेको र्याप गीत सार्वजनिक गर्न आफू एलओडी पुगेको उल्लेख गर्दै फेसबुकमा तस्बिरहरू पोस्ट गरेका छन् ।’सहर सहरमा ओली’ नाम दिइएको उक्त गीतमा ओलीले नागरिकता विधेयकमा अडान लिइएको, अतिक्रमित भूभाग नक्सामा राखेको, राष्ट्रवादी नेता भएको लगायतका विषय समेटिएको छ ।
पहिलेपहिले प्रायजसो लोकदोहोरी गीतमा चुनावी प्रचारप्रसार हुने गरे पनि पछिल्लो पटक भने दलहरूले युवाहरूमाझ लोकप्रिय रहेका विधामा पनि गीतहरू बनाउन थालेका छन् । शुक्रबार नै ‘केपी बा’ नाम दिइएको अर्को र्याप गीत पनि सार्वजनिक भएको थियो ।
यसअघि नेकपा माओवादी केन्द्रले पनि अध्यक्ष पुष्पकमल दाहालमाथि केन्द्रित रहेर र्याप गीत सार्वजनिक गरेको थियो । त्यस्तै शुक्रबार नै उसले चुनावी ‘रक’ गीत सार्वजनिक गरेको छ ।
Leave A Comment