Latest
img

झाँक्रीले अगुल्टो मुखमा झोस्दा घाइते

नवलपुर – कावासोतीको कोइलापानी गाउँमा बिरामी निको बनाउने भन्दै मुखमा अगुल्टो झोसेर घाइते बनाउने झाँक्रीका विरुद्ध प्रहरीमा जान पीडित डराएका छन् ।घटना सामाजिक सञ्जालमा भाइरल भएपछि यो तथ्य बाहिर आएको हो ।

झाँक्रीले फेरि नराम्रो गर्न सक्ने डराएका पीडितका परिवारले घटनाको ९ दिन बितिसक्दा पनि प्रहरीमा उजुरी दिन आनाकानी गरेको स्थानीयको भनाइ छ ।स्थानीयका अनुसार काठमाडौं बसेर विभिन्न प्रतियोगितामा भाग लिँदै गरेका र्‍यापर कावासोती–१ का २० वर्षीय मिलनजंग कुँवर बिरामी भएर घर आएका थिए ।

केही असामान्य व्यवहार देखिएका उनमा ‘डिप्रेसन’ भएको जस्तो लक्षण थियो ।उनको उपचारका लागि भन्दै परिवारले नौ दिनअघि घरमा झारफुक गर्न देवचुली–१२ का ४२ वर्षीय झाँक्री दीपक सार्कीलाई बोलाइएका थिए । सार्कीले झारफुक गर्ने क्रममा अगुल्टोले मुखमा पटक–पटक झोस्दा कुँवर गम्भीर घाइते भएका हुन् ।

आगोले पोलेर प्रतिकार गर्न खोज्दा बल प्रयोग गरेर पटक–पटक झोसेको स्थानीयको भनाइ छ ।घाइते कुँवरको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कावासोतीले जनाएको छ । उनकी आमा चन्द्रकुमारीले ती झाँक्रीले उपचारका लागि १४ हजार पठाएको जानकारी दिइन् ।

‘अरु सबै मैले ऋण खोजेर गरेकी छु,’ चन्द्रकुमारीले भनिन्, ‘थुप्रै खर्च भैसक्यो होला हिसाब गरेकै छैन ।’ झाँक्रीका बारेमा प्रहरीमा किटानी जाहेरी दिनुपर्ने भन्दै प्रहरीले वास्ता गरेको थिएन ।सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि भने पीडितले लिखित उजुरी नदिए पनि शुक्रबार झाँक्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

डीएसपी सन्तोष ढकालले भने, ‘पीडकलाई पक्राउ गरेका छौं, पीडितबाट जाहेरी मागेर थप कारबाही अघि बढाउँछौं ।’ घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट साढे ४ किलोमिटर उत्तरमा पर्छ । छरछिमेकी र जनप्रतिनिधिहरूले पनि घरायसी कुरो भनेर घटनाका बारेमा जानकारी नगराएको बारेमा पनि अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

काठमाडौँ बसेर विभिन्न प्रतियोगितामा भाग लिँदै गरेका र्‍यापर समेत रहेका कावासोती-१ का २० वर्षीय मिलनजङ्ग कुँवर बिरामी भएर घर आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment