काठमाडौँ क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आज बिहान पशुपतिनाथ मन्दिरमा रूद्राभिषेक पूजा गरेका छन्। धर्मपत्निसहित गएका मिश्रले पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टसँग रूद्राभिषेक पूजा गरेका हुन्।
रूद्राभिषेक पूजा भगवान पशुपतिनाथको कृपा प्राप्तिका लागि गरिने पूजा हो। रूद्राभिषेक पूजामा भगवान शिवको विभिन्न रूप मध्येको एक शिवलिङ्गको पूजा अर्चना गरेर अभिषेक गरिन्छ। पूजापछि मिश्रले यो देश आफ्नै जीवनकालमा रूपान्तरण गर्न सकियोस् भन्ने कामना गरेको बताए।
मिश्रले पछिल्लो समयमा संवैधानिक राजसंस्था, संघीयता खारेजी तथा हिन्दू–वौद्ध राष्ट्रको एजेण्डालाई उठाइरहेका छन्। उता आसन्न संसदीय चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी अधिवक्ता सोबिता गौतमलाई मोडल रेश्मा घिमिरेले पनि समर्थन गरेकी छन् ।
सोविता काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा उम्मेदवार भएकी छन् ।रेश्माले ‘अब पालो युवा पिँढीको’ भन्दै सोबितासँगका तस्बिरहरू आफ्नो आधिकारिक फेसबुक पेजमा पोष्ट गरेकी छन् । रेश्माले स्टाट्समार्फत नै गौतमलाई आफ्नो पूर्ण समर्थन रहने बताएकी छन् ।
यहीँ मंसिर चार गते हुने आसन्न संसदीय चुनावलाई लिएर पछिल्लो समय कलाकारहरू पनि सक्रिय देखिन्छन् । कुनै पार्टी विशेष नभई स्वतन्त्र तथा युवा उम्मेदवारले जिते देशमा केही परिवर्तन हुन सक्ने अधिकतम कलाकारहरूको भनाई छ।केही दिन अघि मात्र नायिका वर्षा सिवाकोटीले पनि पेप्सीकोलामा आयोजित कोणसभामा सोबितालाई आफ्नो समर्थन जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी उपहार दिएकी थिइन्।
वर्तमान अवस्थामा राजनीतिक पुस्तान्तरणको बहस चलिरहेको र विभिन्न अन्तरवार्तामा सोबिताले प्रस्तुत गरेका एजेण्डा भिजन र सङ्कल्पहरू मन परेको कारण आफूले सोबितालाई समर्थन जनाएको वर्षाले नेपाल प्रेसलाई बताएकी थिइन।
Leave A Comment