Latest
img

मंसिर २ गते देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले चुनावलाई लक्षित गर्दै चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने भएका छन् ।

सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते बन्द हुनेछन् ।गृहमन्त्रालयले आज सूचना जारी गरी विदासम्बन्धी जानकारी दिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा सरकारी कार्यालय र सार्वजनिक

संस्थानहरु ४ र ५ गते तथा मतदानस्थल रहेका शिक्षण संस्थाहरु २ गतेदेखि ५ गतेसम्म बन्द हुने उल्लेख छ ।आगामी मंसिर ४ गते देशभर एकैचरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनमा शिक्षक तथा कर्मचारीहरुलाई पनि खटाइएको छ ।

यो पनि- निर्वाचन आयोगले मतदान हुनुभन्दा ४८ घण्टा अघिबाट निर्वाचन प्रचार–प्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ। आयोगको निर्देशन अवज्ञा गर्दै त्यस्ता गतिविधि गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ।

आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टाअघि निर्वाचन प्रचार–प्रसारका कुनै पनि गतिविधि गर्न नपाउने उल्लेख गरेको भन्दै आसन्न निर्वाचनका उम्मेदवार र कार्यकर्ताहरुलाई यस बारेमा पुनः सचेत गराएको हो।

निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान अघिका ४८ घण्टामा निर्वाचन प्रचार–प्रसारसम्बन्धी कुनै पनि कार्यक्रम गर्न नपाउने बताए। उनले विगतमा आयोगले मौन अवधि तोक्ने गरेको तर यसवर्ष भने मौन अवधि नरहेकाले र यस समयलाई स्थिर समयको रुपमा प्रयोग गर्नुपर्ने बताए।

उनले मंसिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचार–प्रसारसम्बन्धी सम्पूर्ण कामहरु निषेध हुने बताए। कुनै पनि प्रकारको निर्वाचनसम्बन्धी प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही गर्ने उनले चेतावनी दिए। ‘निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि निर्वाचनसँग सम्बन्धित कुनै पनि कार्यक्रमहरु गर्न पाइँदैन।

सम्पूर्ण कार्यक्रम निषेध गर्दछ,’ उनले भने, ‘विगतमा हाम्रो अभ्यासलाई हेर्दा यसलाई मौन अवधि भनेर सम्बोधन गरेको रहेछ। बीचमा हामीले कहाँ छ मौन अवधि भनेर हेर्दा कतै पनि भेटेनौं। त्यसैले हामीले त्यसलाई मौन अवधि भनेर मानेनौं केही ठाउँमा यो भन्दाअघि शून्य समय भन्यौं।’

४८ घण्टाको समय भनेको स्थिर समय भनेर सम्बोधन गर्ने भएकाले त्यहाँ अन्य गतिविधि गर्न नपाइने उनले बताए। ‘कुनै पनि प्रकारको प्रचार–प्रसारसम्बन्धी वा यसलाई मत देउ, यसलाई नदेउ भनेर निर्वाचनको सन्दर्भमा स्थिर समयमा कुनै दलका नेतालाई भोट देउ, नदेउ भन्न पाइँदैन,’

उनले भने, ‘यदि कसैले प्रचार–प्रसार गर्यो भने यो निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मान्छ। कडा नै सजाय मान्छ।’प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आसन्न मंसिर ४ गते एकै चरणमा हुँदैछ। आयोगले आसन्न निर्वाचनका लागि आफ्नो तयारी अन्तिम चरणमा पुगेकोसमेत बताएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment