पूर्व सञ्चारकर्मी एवं राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध अनेक फण्डा गर्नका लागि एक जत्था चितवनमा डेरा जमाएर बसेको बताएका छन्। आफूविरुद्ध नागरिकताका विषयमा परेको उजुरीबारे प्रष्ट पार्न सामाजिक सञ्जाल फेसबूक लाइभ गर्दै
लामिछानेले हरेक दिन कुनै न कुनै फण्डा गर्नका लागि एक जत्था चितवनमा बसेको बताएका छन्। उनले आफूलाई फिजिकल र डिजिटल रुपमा आक्रमण भइराखेको बताएका छन्। नागरिकताका विषयमा भने उनले चार वर्षअघि नै सल्टाइसकेको बताउँदै उनले अहिले अनेक खालको प्रपञ्च भइरहेको बताए।
‘यी सबै फण्डाको उत्तर दिने समय मंसिर ४ गते हो’, उनले भने। साथै उनले निर्वाचन आयोगमा परेको उजुरीबाट कतै विचलित नहुन आग्रह गरेका छन्। चितवन–२ मा लामिछानेसँगै एमालेका कृष्णभक्त पोखरेल र सत्ता गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठसँग प्रतिस्पर्धामा छन्।
यो पनि – स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रवी लामिछानेविरुद्ध नागरिकता सम्बन्धी प्रश्न उठाउँदै निर्वाचन आयोगमा उजुरी परेको छ । नवलपरासी र चितवनका दुई जनाले लामिछानेले पहिले विदेशी नागरिकता प्राप्त गरेको भए पनि नेपाली नागरिकता परित्याग नै नगरेर पछि पुरानै नेपाली नागरिकता पेश गरेर उम्मेदवारी दर्ता गराएको भन्दै छुट्टै दुई वटा उजुरी दर्ता गरेको आयोगले जनाएको हो ।
उजुरीमा विदेशी नागरिकता प्राप्त गरिसकेपछि नेपाली नागरिकता त्यागेको हुनुपर्ने र विदेशी नागरिकता त्यागेपछि पुन: नेपाली नागरिकता लिनुपर्ने उल्लेख गरिएको छ । उनीहरूले पहिले नै बदर भइसकेको नेपाली नागरिकता पेश गरेर लामिछानेले उम्मेदवारी दर्ता गराएको उजुरीमा उल्लेख गरेका छन् ।
लामिछाने विरुद्ध आयोगमा उजुरी परे लगत्तै निर्वाचन आयोगले आवश्यक कारबाहीका लागि चितवन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृतलाई पत्राचार गरेको छ । आयोगमा उजुरी पर्ने बित्तिकै आवश्यक कारबाहीका लागि सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्राचार गरिएको आयोगका सहायक प्रवक्तासमेत रहेका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।
आयोगले पठाएको पत्र चितवन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुझिसकेको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले आयोगले पठाएको पत्र आफूले प्राप्त गरिसकेको बताउँदै आवश्यक कारबाही प्रक्रियामा गइसकेको बताए ।
उनले भने, ‘आयोगमा उजुरी परेका रहेछ । आयोगले हामीलाई आवश्यक कारबाही गर्नका लागि पत्राचार गरेको छ । अब हामीले भोलि नै लामिछानेलाई स्पष्टीकरण सोध्छौ ।’मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अनुसार भोलि नै लामिछानेलाई ७ दिनको समय सीमा दिएर स्पष्टीकरण सोधिने छ ।
७ दिन भित्र लामिछानेले आफ्नो स्पष्टीकरण पेश गर्नेछन् । उनले पेश गरेको स्पष्टीकरणसँगै त्यससँग सम्बन्धित प्रमाण बुझेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगलाई पत्राचार गर्नेछ । त्यसपछि आयोगले कानूनी व्यवस्था अनुसार आवश्यक निर्णय लिनेछ ।
Leave A Comment