काठमाडौँ – अभिनेता प्रदीप खड्का नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा खुलेर भोट मागेका छन्। मंगलबार बर्दघाटमा नवलपरासी–१ बाट कांग्रेस उम्मेदवार विनोद चौधरीको चुनावी सभामा सहभागी भएर प्रदीपले चौधरीलाई भोट मागेका हन् ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएको कार्यक्रममा अभिनेता खड्का पुगेका हुन्। प्रदीपलाई आयोजकले मञ्चमै आसन ग्रहण गराएका थिए। कालो चस्मा र कोटमा सजिएका प्रदीप देउवा र प्रचण्ड भन्दा पछाडिको लहरमा बसेका थिए।
प्रदीपले आमसभालाई सम्बोधन गरेर विनोद चौधरीलाई जिताउन मतदातालाई आग्रह गरे। यसअघि राजनीतिमा नखुलेका प्रदीपले आगामी चुनावमा गठबन्धनको पक्षमा आफूलाई उभ्याएका छन्। भारतबाट स्वदेश फर्किएलगत्तै प्रदीप उम्मेदवार चौधरीलाई भोट माग्न सिधै नवलपरासी पुगेका हुन्।
यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू विकासका लागि राजनीतिमा आएको बताएका छन् ।चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानालाई तिव्रता दिँदै आएका उनले यस्तो बताएका हुन् ।नवलपरासी १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा साझा उम्मेदवार रहेका चौधरीले विकासका लागि आफ्नो जित आवश्यक रहेको पनि बताए ।
चौधरीले विकासमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्ने बताए ।उनले मतदाताहरुले पनि यसपटक आफूलाई रुचाएको दाबी गरे । काँग्रेस नेता चौधरीले सुस्ता बाढी, किसानका समस्यादेखि विकास निर्माणका लागि पहल गर्ने वाचा गरेका छन् ।
यता प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले दिएको अभिमत पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफूले जितेमा संसद विघटन नगर्ने पनि बताएका छन् ।पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा आयोजित लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
यस क्रममा देउवाले जनताले नेकपा एमालेलाई दिएको अभिमत केपी ओलीले बीचमै घाँटी निमोठेको भन्दै अब लोकतान्त्रिक गठबन्धनलाई अत्यधिक वहुमतले विजय गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न आग्रह गरेका थिए ।पश्चिम नवलपरासी १ मा भने सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका विनोद चौधरी उम्मेदवार छन् ।
Leave A Comment