Latest
img

रविको समर्थनमा नारायणी किनारमा ओर्लियाे जनसागर

काठमाडौँ– चितवनको नारायणी किनारमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी सभामा राष्ट्रिय कलाकारहरुको उपस्थिति रहेको छ । सभामा चितवन र नवलपुरका विभिन्न क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, कार्यकर्ताहरु र समर्थकहरु सहभागी भएका छन् ।

जहाँ कलाकारहरु दीपाश्री निरौला, निर्मल शर्मा, रमेश उप्रेती, रचना रिमाल, किरण केसीलगायत सहभागी भएका छन् ।उक्त कार्यक्रममा सहभागी हुने क्रममा कलाकार दीपाश्री निरौलाले रविलाई राम्रो र हाम्रो मान्छे भन्दै जिताउन आग्रह गरिन्। ‘रवि राम्रो पनि हाम्रो पनि मान्छे हो’, उनले भनिन्, ‘घण्टी बजिसकेको छ सबैले समर्थन गरिसक्नु भएको छ।’

त्यसैगरी रमेश उप्रेतीले पनि कुनै दलको कार्यक्रममा आफू पहिलो पटक सहभागी भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउन आग्रह गरे। अर्का कलाकार किरण केसीले देशमा परिवर्तनका लागि रविलाई जिताउनुको विकल्प नरहेको बताएका छन्।त्यस्तै चितवन पुगेका कलाकार निर्मल शर्माले पनि भावी सन्ततिलाई विकासित नेपालकोबारेमा कथा सुनाउने हो भने घण्टीलाई भोट हाल्नुपर्ने तर्क गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो पार्टीको सरकार बनेको एक महिनामा विदेशिएका युवाहरूलाई नेपाल ल्याएर रोजगार दिने बताएका छन्। चितवनको नारायणी नदी किनारमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्दै रविले उक्त कुरा भनेका हुन्।

‘फ्रि भिसा फ्रि टिकटको स्किम आएको भन्ने सुनेको छु। ल मेरो पनि आज एउटा स्किम लैजानुहोस्, हाम्रो सरकार बन्यो भने एक महिनाभित्र विदेशमा बसेका क्षमतावान सय मानिसलाई यही देशमा त्यही सुविधासहितको रोजगार दिइनेछ। विस्तारै अमेरिका, युरोपका गल्लीमा नेपालमा रोजगार पाइन्छ भन्ने पोस्टर टाँसिनेछ। त्यसका लागि म आफैं जानेछु,’ लामिछानेले भने।

यसअघि आफूले न्याय नपाउँदा चितवनले न्याय दिएकाले चितवनलेनै सिंगो देशलाई न्याय दिने पनि उनले बताए। ‘यहाँ केही गर्छु भन्नेले केही नगर्नेलाई जवाफ दिनुपर्ने रहेछ। अब जवाफ दिने होइन समाधान खोज्न यो बाटो रोजेको छु। अब जवाफ दिएरै छाड्नेछु । मलाई जहिल्यै घेराबन्दीमा पार्ने गरिएको छ।

अहिले फेरि म एउटा चक्रब्यूहमा छु। चक्रब्यूहबाट मलाई मंसिर ४ गते भोट हालेर निकाल्न सक्नुहुन्छ। सबका कानमा हिजै घण्टी बजाएकै हो। अब ब्याण्ड बजाउने हो,’ लामिछानेले भने। नेता भनेको सेवक भएको बताउँदै उनले भने, ‘तपाई‌ंको उपचार जहाँ हुन्छ मेरो पनि त्यहीँ हुन्छ। सरकारी अस्पताल बाहेक अन्यत्र उपचार गर्न जाँदिनँ। सबैका लागि स्वाथ्य, सबैका लागि शिक्षा हुनुपर्छ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment