काठमाडौँ- धनगढीको ट्राफिक चौराहादेखि विमानस्थल चोकसम्म स्मार्ट स्ट्रीट लाइट राख्न काम सुरु भएको छ। धनगढी उपमहानगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा ६ लेन सडकमा २१३ वटा पोलमा ४३४ बत्ती जडान गरिने भएको हो।
आज (शुक्रबार) देखि काम सुरु भएसँगै अबको तीन महिनाभित्र ६ लेन सडक झलमल्ल उज्यालो हुने र सडक दुर्घटनाको खतरा टर्ने दाबी गरिएको छ। धनगढी उपमहानगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा २ करोड ६८ लाख ६८ हजारको लागतमा स्मार्ट स्ट्रीट लाइट जडान हुने छ।
धनगढी उपमहानगरपालिकाको ६० प्रतिसत र नेपाल विद्युत प्राधिकरणको उर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग, राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको ४० प्रतिसत लागतमा स्मार्ट स्ट्रीट लाइटको काम सुरू भएको हो। ट्राफिक चौराहादेखि मोहनपुर विमानस्थल चोकसम्मको करीब ६ किलोमिटर सडकमा २१३ पोलमा ४३४ वटा १२० वाटको बत्ती जडान गरिने छ।
६ महिनाभित्र काम सम्पन्न हुने गरि सम्झौता भए पनि ३ महिनाभित्र सबै काम सक्ने कामको जिम्मा पाएको सूर्योदय उर्जा प्रालिका इन्जिनियर रविनकुमार महतोले बताए। ‘आजबाट काम गर्न सुरु गरेका छौँ, सम्झौता अवधि ६ महिनाको भए पनि अबको तीन महिनाभित्रै हामी काम सक्ने छौँ,’ महतोले भने। ६
लेन सडक निर्माण भएसँगै रातको समयमा सवारी दर्घटना बढेको भन्दै उपमहानगरपालिकाले स्ट्रीट लाइट लाइट जडान गर्ने योजना ल्याइएको हो। सडक दर्घटना रोक्न स्मार्ट स्ट्रीट लाइट राख्न लागेको नगर प्रमुख गोपाल हमालले बताए।‘६ लेन सडक निर्माण भएपछि रातको समयमा सडक दुर्घटना बढी हुन थाले,’
हमालले भने, ‘गाईवस्तु र डिभाइडरमा ठोक्किएर दुर्घटना नहोस् र कुनै पनि नागरिकको ज्यान जाने र अङ्गभङ्ग नहोस् भनेर स्मार्ट स्ट्रीट लाइट राख्ने योजना बनाइएको हो।’ २१३ वटा स्मार्ट स्ट्रीट लाइटसँगै ६ लेन सडकमा १० वटा हाइमास्ट लाइट राख्ने उपमहानगरको योजना छ।
त्यस्तै, ६ लेन सडकको मेडियनलाई पनि हरियालीयुक्त बनाउने योजना उपमहानगरको छ। मेडियनलाई ग्रीन वेल्टको रुपमा विकास गर्ने योजना पनि लगत्तै अगाडि बढ्ने नगर प्रमुख हमालले बताए। ‘सडकलाई रातिको समयमा झलमल्ल बनाउन विभिन्न १० ठाउँमा हाइमास्ट लाइट राख्न टेण्डर भइसकेको छ,’
उनले भने, ‘६ लेन सडकको मेडियनलाई ग्रीन वेल्टको रुपमा विकास गर्ने योजना छ त्यसमा पनि नगरवासीलाई सहयोग गर्न अपिल छ।’ ६ लेन सडक निर्माण भएसँगै सवारी साधन तीव्र गतिमा चलाउन थालेसँगै दुर्घटनाको दर पनि बढेको पाइएको छ।
६ लेन सडकमा हरेक हप्ता रातिको समयमा साना तथा ठुला सडक दुर्घटना भइरहेकाले सडक क्षेत्र सुरक्षित बनाएर दुर्घटना टार्ने योजना अनुरुप सडकमा स्मार्ट स्ट्रीट लाइटसँगै हाइमास्ट लाइट राख्ने योजना बनाइएको हो।
Leave A Comment