महोत्तरी । महोत्तरीको बर्दिवासबाट स्वस्तिक छाप लगाएको मतपत्र बोकेको भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार साँझ ७ बजे बर्दिवास ३ स्थित गौरीडाँडाबाट स्वस्तिक छाप लगाएको मतपत्र बोकेको एच आर ३६ एस ५४७१ नम्बरको भारतीय गाडी
नियन्त्रणमा लिइएको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिए ।सूर्य चिन्हमा स्वस्तिक छाप लगाएको २ सय ६२ थान नमूना मतपत्र फेला परेपछि गाडी नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ ।पक्राउ परेको गाडी इलाका प्रहरी कार्यालय बर्दिवासको नियन्त्रणमा रहेको प्रहरी प्रमुख पंगेनीले जानकारी दिए ।
मौन अवधिमा आचारसंहिता विपरीत चुनावी प्रचारका सामग्री लिएर हिँडेको गाडी र चालकसहित निर्वाचन कार्यालयमा कारबाहीका लागि सिफारिस गरिने एसपी पंगेनीले बताए ।त्यस्तै यता मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई पक्राउ गरेको छ ।
निरौलासहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल छन् ।
उनीहरूलाई अहिले प्रहरी प्रभात बुढानिलकण्ठमा राखिएको छ । उनीहरू हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट पक्राउ परेका हुन् । उनीहरुले पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो । काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् ।
Leave A Comment