राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको बैठकबाट पारित नागरिकता विधेयकको सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरेकी छन्।
राष्ट्रपति भण्डारीले शनिबार प्रधानमन्त्री देउवासँगको राष्ट्रपति कार्यालयमा भएको भेटघाटमा विधेयकमा समेटिएका केही बुँदाप्रति गम्भीर चासो व्यक्त गरेकी हुन्।
बहुचर्चित नागरिकता विधेयकलाई राष्ट्रपति भण्डारीले १४ दिनदेखि विचाराधीन अवस्थामा राखेकी छन्। १५ दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो दुवै सदनलाई दिनुपर्ने संवैधानिक व्यवस्था छ।
राष्ट्रपति कार्यालय उच्च स्रोतका अनुसार, राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासँगको भेटवार्तामा विधेयकमा समेटिएका झन्डै एक दर्जन बुँदाहरूका सम्बन्धमा गम्भीर चासो व्यक्त गरेकी थिइन्।
‘नागरिकता विधेयकका विषयमा केही बुँदाहरू प्रतिध्यानाकर्षण भएको छ। यी बुँदाहरूमा ग्यारेन्टी लिन सक्ने हो भने प्रमाणीकरण गर्छु,’ राष्ट्रपति भण्डारीको भनाइ उदृत गर्दै उच्च स्रोतले भन्यो, ‘अन्यथा संसद्मा फिर्ता पठाइदिन्छु। संसद्मा फेरि छलफल गरी केही प्रावधानहरू मिलाउनु भए हुन्छ।’
नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने संवैधानिक व्यवस्था छ।
राष्ट्रपति समक्ष पेस भएको विधेयक १६ दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो दुवै सदनलाई दिनुपर्ने संवैधानिक व्यवस्था छ।
उच्च स्रोतका अनुसार, राष्ट्रपति भण्डारीले व्यक्त गरेका बुँदाहरूमा प्रधानमन्त्री देउवाले गम्भीर नबनेकाले विधेयक प्रमाणीकरणभन्दा फिर्ता हुने सम्भावना बलियो छ।
प्रधानमन्त्री देउवासँग भेटघाट गर्नु अघि राष्ट्रपति भण्डारीले कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) र महान्यायाधिवक्ता खम्मबहादुर खातीसँग पनि भेट गरी विधेयकका सन्दर्भमा गम्भीर चासो व्यक्त गरेकी थिइन्।
सरकारले संसद्मा प्रस्तुत गरेको नागरिकता ऐन संशोधन विधेयकमाथि छलफलपश्चात् प्रतिनिधिसभाले साउन ७ गते पारित गरेको थियो। त्यस्तै राष्ट्रियसभाले साउन १२ गते विधेयक पारित गरेको थियो।
Leave A Comment