काठमाडौँ – आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनअघि यतिबेला स्थिर समय जारी रहेको छ । स्थिर समयमा राजनीतिक दलहरूले प्रचारप्रसार गर्न नपाउने भएपछि नेताहरू फुर्सदिला बनेका छन् ।
निर्वाचनको प्रचार अभियानमा देश दौडाहामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि लामो समयपछि फुर्सदिला बनेका छन् । सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै उनले फुर्सदको समयमा पत्नी राधिका शाक्यलाई भान्सामा साग केलाउन सघाएको जनाएका छन् ।
त्यस्तै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुराको गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै छन् । यसका लागि देउवा केही दिनदेखि डडेलधुरामा छन् ।
प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्ने जनाइएको छ ।विसं २०४८ देखि लगातार निर्वाचित प्रधानमन्त्री देउवा पुनः सोही निर्वाचन क्षेत्रबाट उमेदवार छन् । प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीका अनुसार प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नेछिन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बराह क्षेत्र नगरपालिका–१० प्रकाशपुरस्थित मतदान केन्द्रमा मतदान गर्ने उनका स्वकीय सचिव रामजी थापाले जानकारी दिए । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री कार्की सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवार छन् ।
गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा मतदान गर्नेछन् । उनी रुपन्देही क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य उमेदवार हुन् ।प्रतिनिधिसभा तथा प्रदेशसभाअन्तर्गत आइतबार हुन गइरहेको निर्वाचनमा प्रमुख दलका सबैजसो शीर्ष नेताले मतदान गर्दै छन् ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ–आफ्नो मतदाता नामावली भएको मतदान केन्द्रमा पुगी मतदान गर्नेछन् ।अध्यक्ष प्रचण्ड आफ्नो मताधिकार प्रयोग गर्न आजै अपराह्न चितवन पुगिसकेका उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
उनले भरतपुर महानगरपालिका–१४ शिवनगरस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गौर नगरपालिका–२ स्थित रामजानकी कन्या प्राथमिक विद्यालय भवनमा मतदान गर्दै छन् । सोही पार्टीका नेता झलनाथ खनालले आफैँ उमेदवार रहेको इलामको सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमावि फिक्कल, रामफोक मतदान केन्द्रमा मतदान गर्नेछन् ।
यस्तै, लोकतान्तिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले सर्लाहीको बलरा नगरपालिका–१ मा मतदान गर्नेछन् । अध्यक्ष ठाकुर महोत्तरी–३ का प्रतिनिधिसभा सदस्यका लागि उमेदवार हुन् ।
Leave A Comment