Latest
img

मतदाता प्रभावित पार्न हिडेको संकामा गाडीको हावा खुस्काईदिए

दाङको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले प्रयोग गर्ने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मौन अवधिमा स्रोत साधनको दुरूपयोग गरी निर्वाचन प्रभावित पार्न खोजिएको आरोपसहित शनिबार घोराही-१७ का स्थानीयले मेयर चढ्ने रा १ झ १४५ नम्बरको गाडीको हावा खुस्काइ दिएका थिए।

गाडीको हावा फालिदिएपछि गाडी स्थानीयले नियन्त्रणमा लिएका थिए। जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले उक्त गाडी जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको बताए। ‘हामीले पनि सरकारी गाडी प्रयोग भए/नभएको नियाल्ने गरेका छौं,’ उनले भने, ‘बिहान स्थानीयले मेयर चढ्ने गाडी नियन्त्रणमा लिएर हावा खुस्काइ दिएको खबरपछि प्रहरी पुगेर गाडी लिएर आएको हो।’

चुनाव प्रभावित पार्न उक्त गाडी प्रयोग भएको आरोप स्थानीयको छ। दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मा खड्का प्रतिस्पर्धामा छन्। उनीहरू बीच कडा प्रतिस्पर्धा रहने अनुमान गरिएको छ।

यसअघि पनि नगर प्रमुख चौधरी निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै एमाले महासचिव पोखरेलको चुनावी प्रचारमा हिँडेको आरोप लाग्दै आएको थियो। मेयर चौधरी लगातार दोस्रो कार्यकाल मेयरमा निर्वाचित भएका व्यक्ति हुन्। थारु गाउँमा उनको प्रभाव रहेको हुँदा निर्वाचन प्रभावित पार्न उनको गाडी प्रयोग भएको आरोप प्रतिपक्षी दलहरूको छ।

यसबारे मेयर चौधरीको भने कुनैपनि प्रतिक्रिया आएको छैन। जिल्ला प्रहरी कार्यालय दाङले सो गाडिमा मेयर नरहेको र मेयरका धर्मपत्निलाई आफ्ना आफन्तको घरमा धान काटेर सकेको खुसियालिमा सहभागी हुन गाडि छोड्न गएको जनाएको छ ।

यो पनि – निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ। मतदानका लागि आयोगबाट जारी मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपुर्जा, राहदानी र सवारी चालक अनुमतिपत्रको सक्कलप्रति आवश्यक पर्ने आयोगले जनाएको छ।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदानका दिन मतदान केन्द्रमा जाँदा ती परिचयपत्रको सक्कलप्रति लिएर मतदान गर्न सक्नेछन्।आइतबार देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment