काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चितवनमा मतदान विथोल्न खोजेपछि प्रहरीले हवाइ फायर गरेको छ। चितवन निर्वाचन क्षेत्र नम्बर १ मा विप्लव नेकपाले मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले हवाइ फायर गरेको हो।
राप्ती नगरपालिका–८ मा रहेको ब्रह्मास्थान राष्ट्रिय आधारभुत विद्यालयको ख मतदान केन्द्र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका जलाएका हुन्। चितवनका डीएसपी सुदन आचार्यका अनुसार उनीहरुले ख मतदान केन्द्रका चार मतपेटिकामध्ये एउटा जलाएका छन्।
‘ख मतदान केन्द्रका चार वटा मतपेटिकामध्ये एउटा मतपेटिका जलेको छ। तर, मतपत्र भने जलेको छैन। ’ आचार्यले भने, ‘करिब ४५ मिनेट रोकिएको मतदान पुनः सुरु भएको छ।’ १०/१२ जनाको समूहमा आएका उनीहरुले मतपेटिका एउटा मतपेटिका जलाएपछि भागेका हुन्। उनीहरु पर्खाल नाघेर भागेका छन्।
त्यस्तै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा चितवन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.विश्वनाथ पौडेलले आइतबार बिहान ८ बजे मतदान गरेका छन् ।पौडेलले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने रत्ननगरको सहिद स्मृति क्यामपस मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
उनी आफै यो क्षेत्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेले मेघौलीबाट मतदान गरेका छन्। चितवन क्षेत्र नं.३ बाट प्रतिनिधिसिभामा प्रत्यक्षतर्फका उमेदवारसमेत रहेका नेता पाण्डेले भरतपुर–२७ स्थित जानकी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन्।
नेता पाण्डेले बिहान करिब ७ः३० बजे मतदान गरेका हुन्। उता नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन्। प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर १ मा गठबन्धनबाट साझा उम्मेदवार बनेका कांग्रेस महामन्त्री शर्माले मेचीनगर नगरपालिका ९ स्थित कविशिरोमणि मतदान केन्द्र (२) मतदान गरेका हुन्।
उनले आइतबार बिहान ९ बजेर १५ मिनेटमा मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीसँग बोल्दै शर्माले भने, ‘देशभर गठबन्धनको उत्साहजनक माहौल छ । स्थानीय तहमा जसरी पहिलो पार्टी बन्न सफल भइयो, आम निर्वाचनमा पनि पहिलो पार्टी बन्छौं।’
Leave A Comment