Latest
img

मतदानस्थलमा रविसँग सेल्फी खिच्नेको भीड, प्रदेशसभाका उम्मेदवारलाई रवि लामिछानेको ‘नो भोट’

काठमाडौं । यस आम चुनावका एक चर्चित उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले काठमाडौंको क्षेत्र नम्बर ३ स्थित पानीट्यांकी मतदान केन्द्रबाट आफ्नो भोट खसाएका छन् । चितवन-२ बाट उम्मेदवारी दिएका लामिछानेले आफ्नो मतदाता नामावली रहेको काठमाडों-३ मा मतदान गरेका हुन् ।

लामिछानेले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फ मतदान गरेका थिए । तर, प्रदेशसभाका उम्मेदवारलाई भोट नहालेको उनले बताए । प्रदेशसभाको मतपत्र खाली छोडेर उनले बाकसमा खसाएका थिए ।मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै रविले आफ्नो पार्टी प्रदेशसभा चुनावमा सहभागी नभएकाले आफूले कसैलाई पनि भोट नदिएको बताए ।

प्रदेशसभाको विद्यमान संरचना आफूहरु असहमत रहेको उनको भनाइ थियो ।लामिछानेले भने, ‘हामीले अहिलेको प्रदेश संरचनामाथि प्रश्न उठाइरहेका छौं । त्यसले प्रदेशको चुनावमा सहभागी भएनौं । मैले आफ्नो अधिकार प्रयोग गरेर प्रदेशको मतपत्र खाली छोडेको छु ।’

लामिछानेले प्रतिनिधिसभाको मत खसाएपश्चात मतपेटिकालाई ढोगेर निस्किएका थिए । उनले मुलुकलाई अहिलेको कठिन अवस्थाबाट बाहिर निकाल्ल्न आफ्नो पुस्ता तयार भएर आएको बताए ।‘लोकतन्त्रको सुन्दर पक्ष मतदानबाहेक केही होइन । तीसौं वर्ष जुन असन्तुष्टि हामीले व्यक्त गर्‍यौं, त्यसलाई संस्थागत गर्ने अर्को उपाय छैन ।

मुलुक मुठ्ठीभर मान्छेको चंगुलमा फँसेको छ । यसबाट बाहिर निकाल्न हाम्रो पुस्ता तयार भएर आएको छ,’ रविले भने ।आज राति कस्तो सपना देख्नुभयो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफूलाई निदाएर देखिने सपनाभन्दा ब्युँझिएको बेला देखेको सपनामा विश्वास रहेको बताए ।

उनले भने, ‘मैले देशको समृद्धि र सुशासनको सपना देखेको छु । त्यो पूरा गर्न आगामी दिनहरूमा कटिबद्ध भएर लाग्नेछु ।’त्यस्तै उता नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको बताएका छन्। दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गर्दै उनले यस्तो बताएका हुन्।

एमाले यो निर्वाचनबाट बलियो राष्ट्रिय शक्ति बन्ने दाबी उनले गरे। उनले भने, ‘मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको छ। राजनीतिक परिवर्तनका लागि राजनीतिक दलहरूबीचको सहकार्य विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यक्ता पर्दछ। हामी राष्ट्रिय शक्ति निर्माणको अभियानमा छौँ।’

नेपालको राजनीतिक दलहरूमा नेकपा एमाले त्यो सामर्थ्य राख्ने उनले बताए। उनले कुनै एक शक्तिको बहुमत जरुरी रहेको उनको भनाइ छ। ‘यो चुनावले त्यो दिशातर्फ मुलुकलाई डोर्याइउनेछ। मेरो उम्मेदवारी पनि त्यसै प्रयोजनका लागि छ। म धेरै नै उत्साहित छु, किनभने मुलुकलाई स्थायित्व चाहिएको छ, विकास र समृद्धि चाहिएको छ।

त्यस्तो अवस्थामा मुलुकले सही दिशा प्राप्त गर्नका लागि दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व, बलियो राजनीतिक शक्तिको आवश्यक्ता पर्छ। त्यसमा हामी छौँ,’ उनले भने।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment