काठमाडौँ– काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले पनि प्रदेशसभा सदस्यका उम्मेदवारलाई मत नदिएर प्रदेश संरचनाप्रतिको आफ्नो असन्तुष्टि देखाएका छन् ।बालेनले प्रदेशसभा सदस्यतर्फ प्रत्यक्ष र समानुपातिक दुवैमा मतदान गरेनन्।
काठमाडौं महानगरपालिका–९ स्थित गैरीगाउँमा रहेको अन्नपूर्ण मतदान केन्द्रबाट मतदान गरेका बालेनले प्रदेशसभातर्फका मतपत्र नबुझेरै बाहिरिएका हुन् । उनी बलियो स्थानीय तह भएपछि प्रदेश संरचनालाई निरन्तरता दिन जरुरी छैन भन्ने धारणा राख्छन् ।
प्रदेशसभा सदस्यलाई मत नदिएर उनले प्रदेश संरचनाप्रतिको अरुचिलाई प्रकट गरेका हुन् । उनी सरासर मतदान केन्द्र गए । उम्मेदवारका प्रतिनिधिसँग हात मिलाए । प्रतिनिधिसभातर्फको प्रत्यक्ष र समानुपातिक मतपत्र लिएर मतदान गरे । अनि, सरासर बाहिरिए ।
त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा मात्रै मतदान गरेका थिए। उनले आइतबार बिहान काठमाडौँको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गरेका हुन्। सभापति लामिछानेले प्रदेश सभा सदस्यमा भने मत खसालेनन्।
अहिलेको प्रदेश संरचनालाई नसुधारेसम्म मत आफू सहभागी नहुने उनको भनाइ थियो। लामिछानेले भने, ‘प्रदेश संरचनामा हामीले प्रश्न उठाएका छौँ। हाम्रो चुनाव चिन्ह पनि छैन, हामी सहभागी छैनौँ। खारेजीको कुरा होइन, गरेका छैनौँ तर सुधारौँ। हामीले सोचेजस्तो देश र जनताको हितमा भए मात्रै हामी सहभागी हुन्छौँ।
हामीले जितेमा देशमा समृद्धि र सुशासन छाउनेछ। नागरिकले दुःख पाउने छैनन्। अन्य मुलुकजस्तै यो मुलुक पनि समृद्ध हुनेछ।’अब निर्बाचन सम्पन्न हुन् केहि मिनेट मात्र बाकि रहदा करिब ४५ प्रतिशत मात्र मत खसेको बुझिएको छ ।
Leave A Comment