ऊर्जामन्त्री तथा ललितपुर–३ कि सत्ता गठबन्धन उम्मेदवार पम्फा भुसालको हार निश्चित देखिएको छ । यसअघि सोही क्षेत्रबाट जितेकी माओवादी केन्द्रकी नेतृ भुसाल यसपल्ट कमजोर देखिँदै गर्दा यो क्षेत्रले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीलाई नयाँ सांसदका रुपमा पाउने बलियो सम्भावना देखाएको छ ।
अनलाइनखबरले ललितपुर-३ का भित्री शहरका घना बस्ती, शहर छेउका बस्ती र ग्रामीण क्षेत्र गरी तीन किसिमका ठाउँमा ‘एक्जिट पोल’ गरेको थियो । यी तीन किसिमका क्षेत्रका मतदान केन्द्र (बुथ) मा मतदान गरेर फर्केका ९०–९० जना गरी २ सय ७० जना मतदातासँग हामीले गरेको सर्वेक्षणले यस्तो आँकडा देखाएको हो ।
सर्वेक्षणमा सहभागीमध्ये ३५ प्रतिशतले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टीमा भोट हालेको बताए । २४ प्रतिशतले नेकपा एमाले, ६ प्रतिशतले नेकपा माओवादी केन्द्र र ३ प्रतिशतले राप्रपालाई मत दिएको बताए । त्यस्तै ९ प्रतिशतले यीबाहेक अन्य दललाई र २३ प्रतिशतले कसलाई भोट हालेको खुलाउन चाहेनन् ।
सर्वेक्षणमा सहभागीमध्ये २८.७ प्रतिशतले अघिल्लो निर्वाचनमा एमोललाई, १०.९ प्रतिशतले माओवादी केन्द्रलाई ४ प्रतिशतले राप्रपालाई, ४ प्रतिशतले विवेकशील साझालाई र १४.२ प्रतिशतले यी बाहेक अन्य पार्टीलाई मत दिएको बताएका थिए । त्यस्तै २४.३ प्रतिशतले यसअघि कसलाई मत दिएको खुलाउन चाहेनन् भने २.४ प्रतिशतले यसअघि मतदान नगरेको बताए ।
समानुपातिक प्रणालीमा पनि २६.६ प्रतिशतले राष्ट्रिय स्वतन्त्र पार्टीलाई, २४.४ प्रतिशतले नेकपा एमालेलाई, ४.९ प्रतिशतले नेपाली कांग्रेसलाई, ६.९ प्रतिशतले राप्रपालाई, मत दिएको बताए भने २४.४ प्रतिशतले कसलाई मत दिएको खुलाउन चाहेनन् ।सर्वेक्षणमा सहभागी भएका २७० मध्ये १८ देखि ३५ वर्ष उमेर समूहका २४ प्रतिशत, ३६ देखि ५५ वर्ष उमेर समूहका ४४ प्रतिशत र ५६ वर्षमाथिका ३२ प्रतिशत मतदाता दिए ।
सहभागीमध्ये ३७.२ प्रतिशतले आफू साक्षर मात्र, १२ कक्षा पास भएका २१.१ प्रतिशत,स्नातक वा सो भन्दा माथि अध्ययन गरेका ३६ प्रतिशत र शैक्षिक योग्यता खुलाउन नचाहने ५.७ प्रतिशत थिए ।सहभागीमध्ये ४०.७ प्रतिशतले परिवारका सदस्य विदेशमा रहेका र ५९.३ प्रतिशतले विदेशमा नरहेको बताएका थिए ।
सर्वेक्षणमा पहिलोपटक भोट हाल्ने ७.३ प्रतिशत र यसअघि पनि मतदान गरेका ९२.७ प्रतिशत थिए ।ललितपुर–३ का अधिकांश मतदानस्थलमा तोसिमालाई भोट हाल्ने मतदाता भेटिए । उनीहरुले यसअघि दुई पटकसम्म सांसद भइसकेको नेता भन्दै भुसालको विकल्प खोज्ने गरी मतदान गरेको प्रष्ट उल्लेख गरेका थिए ।
ललितपुर महानगर १ को वडा कार्यालयस्थित मतदान केन्द्रमा भेटिएका ५८ वर्षीय मतदाताले भोट बदलेको जानकारी दिए । ‘यहाँ मेरो पार्टीको उम्मेदवार भएन, त्यसैले योपल्ट घन्टीलाई भोट’, उनले भने, ‘भोट जितेर अनुहार नदेखाउने नेतालाई भन्दा नयाँ मान्छेलाई नै हेरौं भन्ने लागेर भोट हालियो ।’
यस्तै प्रवृत्तिको टिप्पणी गर्ने मतदाताहरुको संख्या ललितपुर–३ मा ठूलो छ ।अनलाइनखबरले यो ‘एक्जिट पोल’ देशभरिका १६५ निर्वाचन क्षेत्रमध्ये प्रतिनिधिसभातर्फ ४ निर्वाचन क्षेत्रमा गरेको छ । यसअघिको निर्वाचन परिणामलाई आधार मानेर हामीले निर्वाचन क्षेत्र छनौट गरेका हौं ।
छनौट गरिएका प्रत्येक निर्वाचन क्षेत्रमा मतदाता संख्या घटीमा ७० हजारदेखि बढीमा १ लाख २४ हजार रहेकाले उक्त संख्याको ९० प्रतिशत ‘कन्फिडेन्स इन्टर्भल’ मा ५ प्रतिशत ‘इरर मार्जिन’ राख्दा निस्कने ‘स्याम्पल’ संख्या २७० आयो । जुन यस सर्वेक्षणको ‘स्याम्पल’ संख्या हो ।
निर्वाचन क्षेत्रहरुमा धेरै मतदान केन्द्रहरु हुने तर सबै मतदान केन्द्रमा पुग्न स्रोतको अभाव हुने भएकोले प्रति निर्वाचन क्षेत्रमा ३ बुथ छनौट गरी प्रति बुथ ९० जनासँग प्रश्नावली सोधियो ।सर्वेक्षणलाई प्रतिनिधिमूलक बनाउन मतदानका लागि बिहान, दिउँसो र अबेर आउने मतदाताहरुसँग प्रश्नहरु सोधिएको थियो ।
मतदानस्थलमा मत दिएर आउने प्रत्येक ११ जना पछिका नयाँ मतदातालाई प्रश्न गरिएको थियो ।एक्जिट पोल सर्वेक्षणका अतिरिक्त हामीले सोही निर्वाचन क्षेत्रमा हाम्रो सम्पादकीय टोलीसहित राजनीतिक संवाददाताहरुलाई परिचालित गरेका थियौं, जसले आम सर्वसाधारणको मनोभाव बुझ्न अझै सहज भयो ।अनलाइन खबर
Leave A Comment