Latest
img

यी हुन् कतार विश्वकप उपाधिका ३ ठूला दाबेदार

काठमाडौं । ३२ राष्ट्र, २९ दिन, ६४ खेल र अन्तिममा १ विजेता । २२ औं संस्करणको फिफा विश्वकप आइतबार राति कतारमा सुरु हुँदैछ । पहिलो पटक मध्यपूर्वी देशमा हुन लागेको विश्वकप फुटबलको महाकुम्भमा कतारले आयोजककै रुपमा विश्वकपमा डेब्यू गर्दैछ ।

विश्वका उत्कृष्ट ३२ राष्ट्रले प्रतिस्पर्धा गर्ने विश्वकप फुटबलको उपाधि कसले जित्ला अहिले सबैभन्दा ठूलो चासोको विषय बनेको छ । डिसेम्बर १८ अर्थात पुस ३ गते विश्वकपले विजेता पाउनेछ । तर अहिले भने कसले जित्ला भन्ने सबैतिर चासो र कौतुहलता छ ।

सर्वाधिक ५ पटकको च्याम्पियन ब्राजिल २ दशकपछि फेरि विश्वकप जित्ने लक्ष्यमा छ । साविक विजेता फ्रान्स लगातार दोस्रो पटक विश्वकप जित्ने इटली र ब्राजिलको कीर्तिमान बराबरी बनाउन चाहन्छ । अन्तिम पटक विश्वकप खेलिरहेका लिओनल मेसीको अर्जेन्टिना ३६ वर्षपछि विश्वकप जित्दै मेसीको अन्तिम विश्वकप सम्झनलायक बनाउन चाहन्छ ।

यस्तै चार पटकको विजेता जर्मनीदेखि पूर्व विजेताहरु स्पेन र इंग्ल्याण्ड पनि च्याम्पियन बन्ने लक्ष्यमा छन् । कुनै उपाधि नजिती फिफा वरियताको शीर्ष स्थानमा पुगेको बेल्जियमको गोल्डेन जेनेरेसन पहिलो पटक विश्वकप जित्न प्रयास गरिरहेको छ । तीन पटक फाइनल पुगेर पनि पराजित भएर उपविजेतामा ह्याट्रिक गरेको नेदरल्याण्ड्स अप्रत्यासित नतिजा निकाल्ने दाउमा हुनेछ ।

यसबाहेक एसिया र अफ्रिकन राष्ट्रहरु पनि विश्वकपमा अहिलेसम्मकै उत्कृष्ट नतिजा निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो पटक जाडो मौसममा हुने लागेको विश्वकपका लागि युरोपका ठूला लिगहरु सबैलाई ब्रेक दिइएको छ । घाइते भएका केही स्टार खेलाडीहरु यसपटक विश्वकपमा देखिने छैनन् । केही टिममा परेर पनि अन्तिम समयमा घाइते भए ।यी कतार विश्वकपका मुख्य तीन दाबेदार

१. ब्राजिल सदाबाहर दाबेदार :ब्राजिल विश्वकप फुटबलको सदाबाहर दाबेदार हो । यसको प्रमाण पनि उत्तिकै बलियो छ । ब्राजिलले सर्वाधिक ५ पटक जितेको छ । अर्को विशेषता भनेको ब्राजिलले अहिलेसम्मको सबै २१ विश्वकप खेलेको छ र सबै विश्वकपमा छनोट हुने एक्लो टिम हो ।

यस्तै ब्राजिल फिफा वरीयताको शीर्ष स्थानमा रहँदै कतार पुगेको छ । फिफाले २७ अक्टोबर २०२२ मा जारी गरेको वरीयतामा ब्राजिलले बेल्जियमलाई पछि पारेको हो ।ब्राजिलिलयन टिममा उत्कृष्ट खेलाडीहरुको भिड नै छ । धेरैले ब्राजिलको यो टिमलाई उत्कृष्ट टिम मानेका छन् । ब्रा

जिलको अट्याकमा यति धेरै विकल्प छन् । जसमा स्टार नेमारदेखि भिनिसियन जुनियर, रिचार्लिसन, गाब्रीएल जेसस, रोड्रिगो, गाब्रीएल मार्टिनेली देखि भेट्रान थियागो शिल्भा, डानी अल्भ्स, एलिसन बेकर, कासेमिरो, फाबिन्हो लगायत छन् ।प्रशिक्षक टिटेका लागि पहिलो रोजाईँमा खेलाउनका लागि पनि विकल्पहरु छन् ।

सन् २००२ मा एसियन राष्ट्र जापान र दक्षिण कोरियामा संयुक्त रुपमा आयोजना विश्वकप आयोजना हुँदा च्याम्पियन बनेको ब्राजिल दुई दशकपछि विश्वकप एसियामा पर्काउँदा त्यही इतिहास दोहोर्‍याउन चाहन्छ ।खेलकुद तथ्यांक कम्पनी अप्टाले गरेको विश्लेषणले पनि ब्राजिल कतार विश्वकपको सबैभन्दा ठूलो दाबेदारको रुपमा रहेको सार्वजनिक गरेको छ ।

२. फ्रान्स साविक विजेता: फ्रान्स साविक विजेताको हैसियतमा कतार पुगेको छ । विश्व वरियतामा चौथो स्थानमा छ । सन् २०१८ मा रुसमा भएको विश्वकप उपाधि जित्दै दुई दशकपछि पहिलो उपाधि जितेको फ्रान्स पनि कतार विश्वकपको दाबेदारको रुपमा छ ।

फ्रान्स चार वर्षअघि जितेको उपाधि रक्षा गर्दै इटली (१९३४ र १९३८) र ब्राजिल (१९५८, १९६२) पछि लगातार दुई पटक विश्वकप जित्ने कीर्तिमान बनाउन चाहन्छ । विश्वकै मूल्यवान खेलाडी किलियन एम्बाप्पे लगायत नाम चलेका खेलाडीसहित कतार पुगेको फ्रान्सलाई त्यसका लागि पहिला समूह चरण पार गर्नुपर्ने हुन्छ ।

दाबेदार हुँदाहुँदै पनि दुई विषय भने फ्रान्सको पक्षमा छैन । एउटा साविक विजेताको रुपमा प्रदर्शन अर्को स्टार खेलाडीहरुको चोट ।पछिल्लो दुई दशकलाई हेर्ने हो भने विश्वकपमा साविक विजेताको प्रदर्शन बिर्सनलायक नै छ । सन् २००६ मा ब्राजिल क्वार्टरफाइनल पुग्नुबाहेक १९९८ देखि यताको विजेताले समूह चरण पार गर्न सकेको छैन ।

१९९८ मा च्याम्पियन बनेको फ्रान्स आफै पनि चार वर्षपछि २००२ मा समूह चरणबाटै बाहिरिएको थियो ।विश्व च्याम्पियन बनेपछि फ्रान्सले २०२१ नेशन्स कप जितेको थियो । तर युरो कपको अन्तिम १६ बाटै बाहिरिएको फ्रान्सले पछिल्लो नेशन्स लिगमा भने राम्रो प्रदर्शन गर्न सकेन ।

डिडियर डेसच्याम्पसको टोलीले पछिल्ला ६ खेलमा जम्मा एक खेलमात्र जितेको छ ।विश्वकप सुरु हुने दिन बिहानै फ्रान्सलाई अर्को झट्का लागेको छ । बालोन डे’ओर विजेता भेट्रान फरवार्ड घाइते हुँदै विश्वकपबाट बाहिरिए । सन् १९९८ पछि पहिलो पटक विश्वकपमा बालोन डे’ओर विजेता देखिने छैनन् ।

यसअघि नै मिडफिल्डका खम्बाद्वय पउल पोग्बा र एन गोलो कान्टेको चोट प्रान्सको लागि अर्को टाउको दुख्ई बन्नेछ । यी दुई यसअघि नै विश्वकपबाट बाहिरिसके । यस्तै विश्वकपका लागि घोषणा गरिएको टिममा समावेश भएका डिफेण्डर प्रेसनेल किम्बेम्पे र फरवार्ड क्रिस्टोफर एनकुन्कु पनि चोटकै कारण विश्वकपबाट बाहिरिसकेका छन् ।

यति हुँदाहुँदै पनि फ्रान्सको परवार्ड लाइनमा एमबाप्पे, भेट्रान ओलिभर जिरुड र एन्टोनी ग्रिजमन छन् ।मिडफिल्डमा नयाँ खेलाडीहरु एडुवार्डो कामाभिंगा, ओर्लियन चुवामेनी छन् । मिडफिल्डमा एड्रियन र्‍याविओट, युसुफ फोफानामा फ्रान्स निर्भर छ ।कप्तान ह्युरो लोरिस गोलकिपिङमा छन् भने डिफेन्समा बेन्जामिन पाभार्ड, लुकास र थियो हर्नान्डेज दाजुभाइ, जुल्स कोन्डे, विलियन सालिबा लगायत छन् ।

३. अर्जेन्टिना जित्ने भावना: वर्तमान विश्वकप फुटबलका सुपर स्टारमध्ये एक लिओनल मेसी । मेसीकै कारण अर्जेन्टिनाको कतार विश्वकपको उपाधि दाबेदारको रुपमा छ । पाँचौं पटक विश्वकप खेल्दै कीर्तिमान बराबरी गर्न लागेका ३५ वर्षीय मेसीले कतार विश्वकप आफ्नो लागि अन्तिम हुने बताइसकेका छन् ।

मेसी अहिले नेतृत्तव कर्ताको रुपमा परिपक्क बनिसकेका छन् । अर्जेन्टिनाका अन्य खेलाडीहरु पनि मेसीका लागि जित्नुपर्छ भन्ने भावनामा छन् । पछिल्लो समय अर्जेन्टिनी टिम एकजुट देखिएको छ र टिम भावना उच्च छ । यसैको परिणाम हो अर्जेन्टिना २०१९ यता हारेको छैन ।

यस्तै कतार विश्वकपअघि अर्जेन्टिना लगातार ३६ खेलमा अपराजित छ । साउदी अरेबियाविरुद्ध पहिलो खेलमा हार टारे अर्जेन्टिनाले ३७ खेलमा अपराजित हुने इटलीको कीर्तिमान बराबरी गर्नेछ ।अर्कोतर्फ अर्जेन्टिना कोपा अमेरिकाको साविक विजेता पनि हो ।

ब्राजिललाई उसैको मैदान १-० ले पराजित गर्दै अर्जेन्टिनाले गत वर्ष कोपा जित्दै २९ वर्षको उपाधि खडेरी तोडेको थियो । त्यही प्रदर्शन र नतिजालाई दोहोर्‍याउन चाहन्छ अर्जेन्टिना । कोपा र युरो विजेताबीच खेलाइएको फिनाल्सियामा पनि अर्जेन्टिनाले इटलीलाई हराएर उपाधि जितेको थियो ।

यसले पनि अर्जेन्टिना किन विश्वकपको दाबेदार हो भनेर पुष्टि गर्छ ।दुई पटकको च्याम्पियन अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा डिएगो म्यारडोनाको प्रेरणादायी प्रदर्शनमा विश्वकप जितेको थियो । त्यसपछि उपाधि दाबेदार बन्दै आएपनि ‘ला अल्बिसेलेस्टे’ ले उपाधि जित्न सकेको छैन ।

मेसीसहित टिम ३६ वर्षपछि अर्जेन्टिनालाई फेरि च्याम्पियन बनाउने लक्ष्यसहित कतार पुगिसकेको छ । अर्जेन्टिनाको अग्रपंक्तिमा मेसीसहित अनुभवी एन्जल डि मारिया र राइजिङ स्टार जुलियन अल्भारेज हुनेछन् । उनीहरुलाई एन्जल कोरेअ, पाउलो डिबलाको साथ हुनेछ ।

जिओभानी लो सेल्सो चोटका कारण विश्वकपबाट बाहिरिएका छन् । तर अर्जेन्टिनी मिडफिल्डमा लिएन्ड्रो परेडास, रोड्रिगो डे पउल, युवा स्टार एन्जो परेज छन् । उनीहरुलाई एजेक्वेल पालासिओस र एलेक्सिस म्याक एलिस्टरले साथ दिनेछन् ।अर्जेन्टिनालाई कोपा जिताउन उत्कृष्ट प्रदर्शन गरेका एमिलियानो मार्टिनेजले गोलपोष्ट

सम्हाल्नेछन् भने डिफेन्समा प्रिमियर लिगमा खेल्ने लिसान्ड्रो मार्टिनेज र क्रिस्टियन रोमेरोसहित भेट्रान निकोलस ओटामेन्डी, निकोलस मोनिटेल र निकोलस ट्याग्लिफिको छन् ।फुटबल पण्डितहरुले अर्जेन्टिनी टिमलाई कम्प्याक्ट टिमको रुपमा विश्लेषण गरेको छ ।

क्लब फुटबलमा सबै उपाधि जितेका मेसीले गत वर्ष कोपा जितेर राष्ट्रका लागि पनि उपाधि चाखिसके । यसअघि चार पटक विश्वकप खेल्दा सन् २०१४ मा फाइनल पुगेपनि जर्मनीसँग पराजित हुँदा मेसीनजिक पुगेर पनि टाढिए । यस पटक विश्वकप जित्दै आफ्नो ट्रफी क्याबिनेटमा विश्वकप ट्रफीलाई पनि समावेश गर्ने मेसीको लक्ष्य छ । त्यसका लागि टिम एकजुट छन् ।

मेसीसँगै पोर्चुगलका क्रिस्टियानो रोनाल्डो अनी मेक्सिकोका कप्तान आन्द्रेस गुएर्ड्राडो र गुइलेर्मो ओचाओ कीर्तिमानी पाँचौं पटक विश्वकप खेल्दैछन् । यसअघि चार खेलाडीले यो उपलब्धी हासिल गरेका थिए भने यस पटक एकै संस्करणमा उक्त सूचीमा चार खेलाडी थपिनेछन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment