चितवन क्षेत्र नम्बर २ मा दिउँसो १ बजेबाट मतगणना सुरु हुने भएको छ ।बिहान ९ बजे बसेकाे सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निणर्य गरेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । व्यवस्थापन गर्न समय लाग्ने भएकाले मतगणनामा ढिलाइ भएको उनले बताए ।
‘राजनैतिक दलहरूले प्रत्येक वडाको मतदान विवरण माग्नुभएको छ । कर्मचारी पनि थप्नुपर्ने भयो । मतगणना गर्न केही ढिलाइ हुने भयाे’, उनले भने । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने, लोकतान्त्रिक वाम गठबन्धनका उमेश श्रेष्ठ र नेकपा एमालेका कृष्णभक्त पोखरेलबीच प्रतिस्पर्धा छ ।
त्यस्तै काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३७५ मतसहित अग्रता लिएका हुन्।नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरे ३०४ मतसहित दोस्रो स्थानमा छन्। गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मानुषी यमि भट्टराई २९० मतसहित चौथो स्थानमा छन्।
चौथो स्थानमा लौरो चुनाव चिह्न रहेको छ। लौरोको १०१ मत छ भने राप्रपाको हलोको ८४ मत रहेको छ ।उता प्रतिनिधि सभातर्फ कास्की–२ मा १ हजार ७ सय मत गणना भएको छ। जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलको अग्रता कायमै छ। कँडेलले ५ सय २८ मत प्राप्त गरेका छन्। एमालेकी विद्या भट्टराईले ३ सय ९७ र एकीकृत समाजवादीका श्रीनाथ बरालले २ सय ९३ मत प्राप्त गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्तले २ सय ४९ मत प्राप्त गरेका छन्। उता चितवनका तीन वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु हुनुअघि सर्वदलीय बैठक बोलाइएको छ । केही सञ्चारमाध्यम र सामाजिक संजालमा चितवन २ को मतगणनाको अपडेट भन्दै आएका विवरण मिथ्या सूचना रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मतगणना सुरु नै नभएको प्रष्ट पारेको छ ।
आयोगले मिथ्या सूचना प्रवाह नगर्न समेत आग्रह गरेको छ । केही सन्चारमाध्यममा रवि लामिछानेको अग्रता भन्दै मत संख्या समेत सार्वजनिक भएपछि निर्वाचन अधिकृतको कार्यालयले गणना सुरु नभएको जनाएको हो । मतपेटिकाहरू मतगणनास्थलमा आइतबार राति नै आएका छन् ।
चितवन (१) को खैरहनी, चितवन (२) को भरतपुर र चितवन (३) को रामपुरमा मतगणना हुने छ ।त्यस्तै उता डडेल्धुराको मतगणना अझै सुरु हुन सकेको छैन । परशुराम नगरपालिकाका मतपेटिका संकलन हुन बाँकी रहेकाले मतगणना सुरु गर्न ढिलाइ भएको हो ।
डडेलधुरामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेको समर्थन पाएका नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्ल, जसपाका श्याम सिनाल, राप्रपाका गोविन्द खडायत, स्वतन्त्र उम्मेदवार सागर ढकाल र विक्रमबहादुर शाही लगायत उम्मेदवार छन् ।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने, ‘मतपेटिकामा पुग्ने क्रममा छन् । ती पुग्ने वित्तिकै सर्वदलीय बैठक बसेर मतगणना सुरु हुन्छ ।’मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको जिल्ला अदालतमा हुनेछ ।उत् झापा निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार देवराज घिमिरले अग्रता बनाउँदै लगेका छन्।
सोमबार बिहानदेखि जारी मतगणनामा एमालेका देवराज घिमिरेले अग्रता बनाइरहेका हुन्। १६ सय ७४ मत गनिसक्दा उनले ६३० मत ल्याएका छन्। घिमिरेलाई पछ्याएका नेकपा माओवादी केन्द्रका हरिकुमार रानाले ३९७ मत ल्याएका छन्। त्यहाँ स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले ३०१ मत प्राप्त गरेका छन्। अर्कातिर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १९८ मत ल्याउँदै पछ्याइरहेका छन्।
Leave A Comment