कतार र इक्वेडरबीच हिजो भएको फिफा उद्घाटन खेलपछि जापानी दर्शकले रंगशाला सफा गरेको भिडियो भाइरल भएको छ ।बहराइनी युट्युबर ओमार अल फारुकले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा जापानी दर्शकहरूले रंगशाला सफा गरेको देख्न सकिन्छ ।
भिडियोमा उमर फारुकले किन यसो गर्दैछौ भन्ने प्रश्नमा एक दर्शकले हामी जापानी हौं र हामी आफू बसेको स्थानमा फोहोर छाडेर जादैनौ, हामी सबै स्थानको सम्मान गर्दछौ भनेका छन् ।भिडियो भाइरल भएपछि जापानी फ्यानहरूलाई धन्यवाद दिँदै जापानीहरुको अझ बढी सम्मान भएको धेरैले प्रतिक्रिया दिएका छन् ।
तर यो पहिलो पटक भने होइन । जापानी समर्थकले रंगशाला सफा गरेको समाचार यसअघि पनि भाइरल हुँदै गरेको छ ।त्यस्तै कतारमा हिजोदेखि सुरु भएको फिफा विश्वकप अन्तर्गत आज (सोमबार) तीन खेलहरु हुनेछन् । साँझ पौने ७ बजेदेखि सुरु हुने दिनको पहिलो खेल समूह बी मा रहेका इंग्ल्याण्ड र इरानबीच हुनेछ ।
यो खेल कतारको राष्ट्रिय रंगशाला खालिफा रंगशालामा हुनेछ ।राती पौने १० बजेदेखि सुरु हुने दोस्रो खेल समूह ए मा रहेका अफ्रिकी च्याम्पियन सेनेगल र नेदरल्याण्ड्सबीच हुनेछ । यो खेल अल थुमाना रंगशालामा हुनेछ । राती पौने १ बजेदेखि सुरु हुने दिनको अन्तिम खेल समूह बी मा रहेका अमेरिका र वेल्सबीच हुनेछ ।
यो खेल अहमद विन अली रंगशालामा हुनेछ ।यसअघि हिजो भएको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई २–० गोलले हराउँदै सुखद सुरुवात गरेको थियो । इक्वेडरका लागि एन्टोनियो भ्यालेन्सियाले दुवै गोल गरेका थिए ।विश्वकप फुटबल होस् वा युरोपियन च्याम्पियनसिप होस् इङल्यान्डको टोलीलाई सधै उपाधि दाबेदारको रुपमा लिइन्छ ।
तर इङलिस टोलीले भने अहिलेसम्म सो दाबेदारी प्रमाणित गर्न सकेको छैन ।सन् २०२० मा घरेलु मैदानमा सम्पन्न युरोपियन च्याम्पियनपसपको फाइनलमा प्रवेश गरे पनि इटालीलाई नतिजा सुम्पिएसँगै उपविजेतामा सीमित भएको इइङल्यान्ड यस पटकको विश्वकपमा आफ्नो दाबेदारीलाई प्रमाणित गर्न चाहन्छ ।
इङल्यान्डले सन् २०१८ को रुस विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । इङल्यान्ड सो लयलाई थप एक कदम अघि बढाउँदै विश्वकपको उपाधिसम्म पुग्ने लक्ष्यमा रहेको छ ।गारेथ साउथगेटको टोलीले आज समूह ‘बी’ को पहिलो खेलमा एसियाली प्रतिद्धन्द्धी इरानको सामना गर्दैछ ।
समूह बी मा इङ्ल्यान्ड र इरानसँगै अमेरिका र वेल्स छन् ।इरानविरुद्ध सहज जितसहित इङल्यान्ड समूह बी को विजेताको रुपमा अघिल्लो चरण प्रवेश गर्ने लक्ष्यको सुखद सुरुआत गर्न चाहन्छ । इङल्यान्डको विश्वकप यात्रा कहाँसम्म पुग्छ भन्ने कप्तान ह्यारी केनको लयले धेरै हदसम्म निर्धारण गर्नेमा दुबिधा छैन ।
सन् २०१८ मा इङल्यान्डको यात्रा सेमिफाइनलमा क्रोएसियाले रोकिदिएको थियो ।युइएफए नेसन्स लिगमा खराब नतिजाका कारण घटुवामा परेको इङल्यान्डका लागि लयमा फर्कनु नै सबै भन्दा ठूलो चुनौती हो ।इरान भने इङल्यान्डको खराब लयको फाइला उठाउने लक्ष्यमा रहेको छ ।
इरानका लागि रुस विश्वकपमा एक जित, एक हार र एक बराबरीको नतिजा ल्याए पनि नकआउट चरण प्रवेश गर्न लक्ष्यलाई पूर्णता दिन पर्याप्त भएको थिएन । त्यसैले इरान नकआउट चरण प्रवेशको लक्ष्य कतार विश्वकपमा पूरा गर्न चाहन्छ ।इङल्यान्ड, अमेरिका र वेल्ससम्मेलित समूह इरानका लागि सहज समूह पक्कै होइन ।
तर रुस विश्वकपको समूह चरणमा स्पेनसँग निराश भएको इरानले पोर्चुगलसँग अंक बाँडेको थियो । पहिलो खेलमा मोरक्कोमाथि इरानले जित निकालेको थियो ।इङल्यान्डविरुद्धको हारले इरानको समूह चरण पार गर्ने लक्ष्य पहिलो खेलबाटै कठिन बन्न सक्छ ।
इरान सोही लय यस पटक कायम रहोस् भन्ने लक्ष्यमा रहेको छ । सन् १९९८, २००६, २०१४ र २०१८ को विश्वकपमा प्रतिस्पर्धा गरे पनि अहिलेसम्म नकआउट चरणमा प्रवेश गर्न सकेको छैन ।
Leave A Comment