Latest
img

ओखलढुङ्गामा १ मा गठबन्धन २ एमाले अगाडी

मंसिर ४ गते भएको निर्वाचन अन्तर्गत ओखलढुङ्गामा मतगणना सुरुवात भएको छ । मतगणना सुरु भएपछि पहिलो चरणको मतपरिणाम सार्वजनिक भएको छ ।निर्वाचन क्षेत्र नं १ मा १५ सय मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक भएको प्रथम मतपरिणाम अनुसार प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ का गठबन्धनका उमेदवार नेपाली कांग्रेसका प्रदिप कुमार सुनुवारले ८७९ मत प्राप्त गरेका छन् । त्यहा नेकपा एमालेका अम्विरबाबु गुरुङले ४९२ मत पाएका छन् भने छाता चिन्हको उमेदवारले १४५ मत पाएका छन्।

त्यस्तै निर्वाचन क्षेत्र नं २ तर्फ पनि ११२६ मतगणना सकिएको छ । सार्वजनिक प्रथम चरणको मतपरिणाम अनुसार नेकपा एमालेका जिवी खड्काले ५९१ मत पाएका छन् भने गठबन्धनका उमेदवार नेकपा माओवादी केन्द्रका बाबुराम गौतमले ५०७ मत पाएका छन् ।

हालसम्म प्रदेश सभा तर्फ खिजिदेम्बा गाउँ पालिकाको वडा नं १ र २ तथा लिखु गाउँपालिकाको वडा नं १ र २ को मतगणना सकिएको छ ।उता काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमले सत्ता गठबन्धन र एमाले उम्मेदवारभन्दा दोब्बर मतले अग्रता कायम लिएकी छिन्।पछिल्लो मतपरिणामअनुसार गौतमले ८०८ मत ल्याएर अग्रता कायम गरेकी हुन्।

उनले सत्ता गठबन्धनकी साझा उम्मेदवार ओनसरी घर्ती र नेकपा एमालेका मणिराम फुयाँललाई पछि पारेकी हुन्। घर्तीले ४७८ मत ल्याएकी छन् भने फुयाँलले ४६२ मत पाएका छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेल ३६६ मत ल्याउँदै चौथो स्थानमा छन्।

उता अघिल्लोपल्ट प्रकाशमान सिंहविरुद्ध चुनाव लड्दा रवीन्द्र मिश्रलाई वैकल्पिक राजनीतितर्फ आकर्षण भएका मतदाताको साथ थियो । यसपल्ट राप्रपाबाट काठमाडौं–१ मा उम्मेदवार बनेका मिश्रलाई आफ्नो ‘मार्ग परिवर्तन’ निर्णयले असर पारेको प्रारम्भिक मतसंकेतले देखाएको छ ।

उसो त हालसम्मको गणनामा कांग्रेस उम्मेदवार सिंहसँग मिश्र कडा प्रतिस्पर्धामै रहेको देखिन्छ । तर विगतमा उनले पाएको मतमध्ये ठूलो संख्यालाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले प्रभावित पारेका छन् । यही अवस्था अन्तिमसम्म रहे मतभारको प्रवृत्ति नै प्रभावित हुन सक्छ ।

एक तिहाइ भन्दा बढी मत गणना हुँदासम्म मिश्र र सत्ता गठबन्धनका साझा उम्मेदवार प्रकाशमान सिंहबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । यो प्रतिस्पर्धामा सहज जितका लागि पाँच दलको गठबन्धनबाट साझा उम्मेदवार बनेका सिंह पनि सहज अवस्थामा छैनन् ।

काठमाडौं–१ मा काठमाडौं महानगरपालिकाका वडा नम्बर १०, ११, २९ र ३१ पर्छन् । यी सबै वडाको मत मिसाएर गणना भइरहेको छ ।बानेश्वर क्याम्पस, छुनामुना, पाठशाला, मिलन विद्या, बिजय मेमोरियल, मिनभवन, मीनभवन सहकारी लगायतका मतदान केन्द्रको मत गन्दा मिश्र र सिंहले एकले अर्कोलाई कहिले पछि पारेका छन् कहिले आफू अगाडि भएका छन् ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान पौने ९ बजेदेखी मतगणना जारी छ । निर्वाचन अधिकृतको कार्यालयले बिहान ११ बजे दिएको आधिकारिक विवरणमा सिंह अगाडि थिए । सिंहले ७५४ मत पाउँदा मिश्रले ६८० मत पाएका थिए । नेकपा एमालेका उम्मेदवार किरण पौडेलले ४९६ मत ल्याएर पच्छ्याएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले १७५ मत पाउँदा नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले २२५ मत ल्याए ।बम विगतमा उज्वल थापा, रवीन्द्र मिश्रसँगै वैकल्पिक राजनीति भन्दै साझा विवेकशीलमा संगै रहेका नेता हुन् । रवीन्द्र मिश्रले मार्ग परिवर्तन गरेर राप्रपा रोज्नुअगावै विवेकशील साझाको संगठन छिन्नभिन्न भयो ।

त्यही क्रममा बमले पनि साझा विवेकशील छाडे । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिश्रसँगै बम प्रतिस्पर्धामा उत्रिए । उनले आफू अझै वैकल्पिक राजनीतिकै बाटोमा रहेको बताउने गरेका छन् ।जारी मतगणनालाई नियाल्दा नयाँ अनुहार खोज्ने मतदाताहरु विभाजित भएको देखिन्छ ।

कतिपयले प्रत्यक्षतर्फ हलो र समानुपातिकतर्फ घण्टीमा मतदान गर्नु यसको एउटा उदाहरण हो । अर्कोतर्फ नयाँ अनुहारका रुपमा बम र खरेल पनि उम्मेदवार हुँदा नयाँ अनुहार खोज्ने मतदाताहरु विभाजित भएको देखिन्छ । तथापि, मिश्र र सिंह थोरै मतान्तरले अगाडि र पछाडि भइरहेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिउँसो एक बजे दिएको मतगणना अपडेटमा पनि केही मतले सिंह नै अगाडि थिए । तीन हजार १८९ मत गन्दा सिंहले ८१८ मत पाए भने मिश्रले ७३७ मत । एक बजेसम्म पुकार बमले आफ्नो मत ५२८ पु¥याउँदा एमाले उम्मेदवार पौडेल ४९६ मतमा समेटिएका थिए ।

दिउँसो साढे ४ बज्दा मिश्रले अग्रता लिए । त्यसयता मिश्र झिनो मतान्तरमा निरन्तर अगाडि छन् । साढे ४ बजेसम्म ९ हजार २८ मत गनिसक्दा सिंहले २३ सय दुई मत पाउँदा मिश्रले दुई हजार २२४ मत पाए । एमाले उम्मेदवार पौडेल १ हजार ४४१ मतमा समेटिँदा पुकार बमले १३६७ र रमेश खरेलले १०४६ मत पाएका थिए ।

बेलुकी साढे ६ बजेसम्म ११ हजार बढी मत गनिसक्दा सिंहले २८७७ मत पाएका छन् । निरन्तर अग्रता कायम राख्दै मिश्रले ३०५८ मत पाएका छन् । एमालेका उम्मेदवार पौडेल १७१३ मत ल्याउँदा पुकार बमले १७२९ मत पाएका छन् । रमेश खरेलको १३३६ मत छ ।

अर्थात, काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का मतदाताहरुले नयाँ पार्टी र नयाँ अनुहार खोजेको प्रष्ट देखिन्छ । तर, यही चाहना राख्ने मतदाताहरुको मत बाँडिदा त्यसको असर रवीन्द्र मिश्रलाई परेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment