Latest
img

प्रतिनिधिसभामा कोरम पुर्‍याउनै धौधौ, भत्ता पचाउन हाजिर गरेर टाप

प्रतिनिधिसभाको आइतबारको बैठकमा गणपूरक संख्या नपुगेपछि स्थगित भयो। विधेयकहरूमाथि छलफल गर्ने र पारित गर्ने प्रक्रिया अगाडि बढिरहेका बेला सांसदहरू हाजिर गर्दै निस्किने गरेको पहिलोपटक भने होइन।

सांसदहरूले हाजिर गरेर बाहिरिँदा प्रतिनिधिसभामा विधेयक पारित गर्ने प्रक्रिया नै अवरुद्ध हुन पुगेको हो।

बैठक प्रारम्भ हुँदा १७९ सांसदले हाजिर गरे पनि बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत गर्दा भने ६७ सांसद मात्रै उपस्थित रहेको संसद् सचिवालयले जानकारी दिएको हो।

बैठक १५ मिनेटसम्म स्थगित भएपछि ६९ जना सांसद उपस्थित नहुँदा प्रतिनिधिसभा मंगलबारसम्मका लागि स्थगित भएको हो। सांसदहरू संसद् मा आउने र हाजिर गरेर टाप कस्ने गरेकोले यसअघि पनि संसद् स्थगित हुँदै आएको छ।

संसद् मा सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित गर्ने क्रममा सांसदहरूको गणपूरक संख्या पुगेन। उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्दा ६७ सांसद उपस्थित थिए। १५ मिनेट बैठक स्थगित गर्दा पनि सांसदहरूको संख्या ६९ नपुगेपछि कार्यसूचीमा रहेका बाँकी बिजनेस सूचीबाट हटाएर सभामुख अग्निप्रसाद सापकोटाले गणपूरक संख्या भन्दा २ सांसद कम रहेको भन्दै प्रतिनिधिसभा मंगलबार ११ बजेसम्मका लागि स्थगित गरे।

कुनै पनि विधेयक वा प्रश्न संसद् मा निर्णयार्थ प्रस्तुत गर्न सम्पूर्ण संख्याको एक चौथाइ अर्थात् ६९ सांसद उपस्थित हुनुपर्ने संवैधानिक व्यवस्था छ। पछिल्लो समय सांसदहरू भने बैठकमै जान छाडेका छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा गणपूरक संख्या पुग्न एक चौथाइ अर्थात् ६९ सांसद आवश्यक पर्दछ। ६९ जना सांसद पनि उपस्थित नहुँदा सभामुखलाई विधेयक पारित गराउन पनि हैरान भएको सभामुखकै सचिवालयका कर्मचारीहरू बताउँछन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment