कांग्रेस महामन्त्री गगन थापा करिब साढे ७ हजारको मतान्तरले काठमाडौं-४ बाट विजयी बनेका छन् । एमालेका राजन भट्टराईमाथि हावी हुँदै थापाले सहज जित निकालेका हुन् ।प्राप्त विवरण अनुसार थापाले २१ हजार २९४ भोट ल्याउँदै जित निश्चित गर्दा भट्टराईको १३ हजार ८५३ मत आएको छ ।
निर्वाचन आयोगले औपचारिक रुपमा मतगणनाको अन्तिम विवरण सार्वजनिक गरिसकेको छैन । जित निश्चित भएसँगै गगन मतगणनास्थलमा आएका छन् ।अघिल्लो चुनावमा पनि यस क्षेत्रबाट भट्टराई नै हराउँदै गगन विजयी भएका थिए । यसपटक सत्तारुढ गठवन्धनको समर्थनका कारण उनको जित थप सहज बनेको हो ।
गगनले चुनाव जितेसँगै प्रधानमन्त्री पदमा दाबी गर्ने बताइरहेका छन् ।गगन २०७० र २०७४ सालको निर्वाचनमा पनि काठमाडौं ४ बाटै निर्वाचित भएका थिए । अघिल्लो पटक पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए ।यस अघि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं. १ बाट लगातार चौंथो पटक विजयी भएका छन्।
उता गुल्मी २ मा एमालेले अग्रता फराकिलो बनाउँदै लगेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका गोकर्ण विष्टले ८ हजार ५५८ मतका साथ अग्रता लिएका छन् ।उनलाई पछ्याइरहेकी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी
रामकुमारी झाँक्रीले ६ हजार ४८० मत पाएकी छिन् । विष्ट र झाँक्रीबीचको मतान्तर २ हजार ७८ छ । त्यस्तै झापा ४ मा एमालेले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाललाई पछि पार्दै एमालेका एलपी साँवा लिम्बुले अग्रता लिएका हुन् ।
एमालेका लिम्बुले ४ हजार २०४ मत पाएका छन् भने उनलाई पछ्याइरहेका रास्वपाका ढकालले ४ हजार १७० मत पाएका छन् ।सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका देउमान थेबेले २ हजार ४६७ मत पाएका छन् ।त्यस्तै कैलाली क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले कांग्रेसका वीरबहादुर बलायरसँगकाे मतान्तर बढाउन थालेका छन् ।
पछिल्लाे परिणामअनुसार भट्ट १ सय ७७ मतले अगाडि देखिएका छन् । भट्टले ५ हजार २ सय ७७ मत पाएका छन् भने बलायरले ५ हजार १ सय मत पाएका छन् । सुरुवाती अग्रता लिएका बलायर अहिले पछि परेका हुन् । त्यस्तै काभ्रे २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका शिवप्रसाद हुमागाईंले ४ हजार ११५ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका एमालेका गोकुलप्रसाद बाँस्कोटाले २ हजार ८५३ मत पाएका छन् ।कांग्रेसका हुमागाईं र एमालेका बाँस्कोटाबीचको मतान्तर १२६२ छ । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ५४९ मत पाएका छन् ।
Leave A Comment