चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ६४०१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ४६३६ मत ल्याएका छन्।
यसैगरी नेपाली कांग्रेसका उमेश श्रेष्ठ ४१६५ मतसहित तेस्रो स्थानमा छन्। अहिले सम्म १६२२० मत गनिएको छ । उता डडेल्धुरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । देउवा निकटतम प्रतिद्वन्द्वी सागर ढकाल भन्दा फराकिलो मतान्तरले अगाडी छन् ।
२३, ३६१मत गणना हुँदा सम्म देउवाले ११ हजार ५५४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार ढकालले ६ हजार १०५ मत पाएका छन् ।कांग्रेस बीपीका कर्णबहादुर मल्ल ३ हजार २९५ मत सहित तेस्रो स्थानमा छन् ।त्यस्तै झापा क्षेत्र नं– १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा अग्रस्थानमा रहेका छन् ।
३४ हजार ४२९ मत गनिसक्दा उनले १७ हजार दुई सय ९८ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का उम्मेदवार अग्नि खरेल १० हजार ७१६ मतसहित दोस्रो स्थानमा रहेका छन् । शर्माले एमालेका उम्मेदवार खरेललाई ६ हजार पाँच सय ७३ मतले पछि पारेका हुन् ।उता ताप्लेजुङको प्रारम्भिक मतगणनामा नेकपा एमालेका योगेश भट्टराईले अग्रता लिएका छन् ।
एमालेका भट्टराईले ६८ मत ल्याउँदा सत्ता गठबन्धनबाट उम्मेदवार खेलराज बुढा क्षेत्रीले ३३ मतसहित उनलाई पछ्याइरहेका छन् । ताप्लेजुङमा आजबाट मतगणना सुरू गरिएको हो । यहाँ २०७४ मा एमालेका भट्टराई विजयी भएका थिए ।त्यस्तै बझाङमा नेकपा एमालेका उम्मेदवार ऐन महरले सुरूवाती अग्रता लिएका छन् ।
प्रतिनिधिसभातर्फ महरले २१० मत प्राप्त गर्दा गठबन्धनका साझा उम्मेदवार भानुभक्त जोशीले १७७ मत ल्याएका छन् । उक्त मत साइपाल गाउँपालिका वडा नं. १ र २ को हो । अहिले साइपाल गाउँपालिका वडा नं. ३ को मत गणना भइरहेको छ ।उता र्सा क्षेत्र नम्बर २(१) प्रदेश सभामा नेपाली कांग्रेसका श्याम पटेल विजयी भएका छन्।
पटेलले १३ हजार ७ सय ८४ मत प्राप्त गरे।जनता समाजवादी पार्टीका राम नरेश प्रसाद यादवलाई १ हजार ६५७ मतान्तरले पराजित गर्दै पटेल प्रदेश सभा सदस्यमा निर्वाचित भए।पटेलले १३ हजार ७८४ मत ल्याए भने राम नरेश यादवले १२ हजार १२७ मत ल्याएका छन् ।
त्यस्तै नेकपा (एमाले) का उम्मेदवार कृष्णगोपाल श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गरी काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतितिनिधिसभा सदस्यमा विजयी भएका छन्।निर्वाचित भएपछि श्रेष्ठले मतदाताले दिएको जिम्मेवारीलाई पाँच वर्षसम्म कुशलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले आफ्ना निर्वाचन क्षेत्रका चालु योजना स्वाभाविकरुपले अगाडि बढाउने उल्लेख गरे।श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई ९९५ मतले पछि पारे। पोखरेल १० हजार ९६१ मत प्राप्त गरे। उक्त क्षेत्रबाट नेकपा (माओवादी केन्द्र)का कल्पना धमलाले भने ६ हजार ४०२ मत प्राप्त गरिन्। उक्त निर्वाचन क्षेत्रमा ४४ हजार ३७९ मत खसेको थियो।
Leave A Comment