काठमाडौं ५ बाट नेपाली काँग्रेसका प्रदीप पौडेल बिजयी भएका छन् । पछिल्लो अपडेट अनुसार प्रदीप पौडेल १४०८३ मत र उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ९५०४ मत पाएका छन् । अहिले सम्मको अबस्था हेर्दा पौडेल र पोखरेल बिचको मतान्तर नै ४५७९ रहेको छ ।
अब बाकी रहेको मत गन्न भने ३८६४ मात्र रहेको छ । काठमाडौं ५ मा अहिलेसम्म ४२२५२ मत गणना भएको छ भने त्यहाँ कुल ४६११६ मत खसेको थियो । त्यस्तै उता रुकुमपूर्वमा एमालेको समर्थन पाएका माओवादीका बागी उम्मेदवार विजयी भएका छन् ।
प्रदेशसभा क्षेत्र १ मा माओवादी केन्द्रका अधिकारिक उम्मेदवार तेजबहादुर ओलीलाई हराउँदै सुरुल पुन विजयी भएका हुन् ।विजयी पुनले ४४६५ मत ल्याउँदा ओलीले ३९३२ मत मात्रै पाए ।पुनलाई नेकपा एमालेको समर्थन थियो ।उता नेकपा एसका उपमहासचिव
जगन्नाथ खतिवडालाई पराजित गर्दै नेकपा एमालेका अम्बरबहादुर रायमाझी उदयपुर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।मतगणना सकिएर रायमाझी विजयी घोषित भएको र अन्तिम परिणाम सार्वजनिक हुन लागेको मुख्य निर्वाचन अधिकृत जीवन भण्डारीले बताए ।
त्यस्तै आइतबार भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मत गणना जारी छ । सत्ता गठबन्धनबाट चुनावमा होमिएको नेकपा माओवादी केन्द्रले दाबी गरेअनुसारको नतिजा ल्याउन नसक्ने प्रारम्भिक मतगणनाको क्रममा देखिएको छ।नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको १६५ सीटमध्ये ४६ सीटमा मात्रै उम्मेदवारी दिएको थियो ।
पछिल्लो मतपरिणमअनुसार माओवादीले काठमाडौं उपत्यकासहित शहरी क्षेत्रमा शून्य बनेको छ । जबकी उसले कम्तीमा ३५ सीट जित्ने लक्ष्य राखेको थियो ।०७४ सालको निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन गरेर प्रत्यक्षमा ३६ सीट जितेको माओवादी कमजोर बन्ने देखिएको छ ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा लहर देखिएको बेलामा दशवर्षे जनयुद्ध गरेर शान्ति प्रक्रियामा आएको माओवादी झन्झन् कमजोर बन्दै गएको हो ।देशभर जारी मतगणनामा माओवादीका १२ उम्मेदवारले मात्रै अग्रता लिएका छन् । भने, अधिकांश हार्ने गणितसहित पछि परेका छन् ।
गोरखा २ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले अगाडि छन् । ०७४ सालमा चितवन ३ बाट निर्वाचित प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी र एमालेका अब्दुस मियाँसँग प्रतिस्पर्धामा छन् ।माओवादी केन्द्रका महासचिव देव गुरुङ पराजयउन्मुख देखिएका छन् ।
सुरूदेखि नै एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पछि परेका उनी करिब २ हजार मतले पछाडि छन् ।रोल्पामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले फराकिलो अग्रता बनाएका छन् । उनको मुख्य प्रतिस्पर्धी एमालेका पूर्ण बुढामगर हुन् । तर, रोल्पाबाट निरन्तर जित्दै आएका पुनलाई अहिले पनि ढुक्क देखिन्छ ।
माओवादीको गढ मानिने रुकुमपश्चिममा जनार्दन शर्मा फराकिलो मतान्तरले अगाडि छन् । सिन्धुली २ माओवादीका लेखनाथ दाहालले अगाडि छन् । भने त्यहाँ एमालेको मनोजजंग थापाले पछ्याइरहेका छन् । खोटाङमा माओवादीका रामकुमार राई र एमालेका विशाल भट्टराईको कडा टक्कर परिरहेको छ ।
रूकुमपूर्वमा माओवादीका पूर्णबहादुर घर्तीको सुरुवाती चरणदेखि नै अग्रता छ । माओवादीको गढ मानिएको यहाँ एमालेका कैलाशकुमार मल्ल प्रतिस्पर्धामा छन् । वागलुङ २ मा माओवादीका देवेन्द्र पौडेलको अग्रता कायमै छ ।यस्तै, भोजपुरमा सुदन किरातीले अग्रता कायम राखेका छन् ।
उनीसँग एमालेका शेरधन राईको रोचक प्रतिस्पर्धा भइरहेको छ । मोरङ ४ मा अमनलाल मोदी, दाङ २ रेखा शर्माले पनि फराकिलो मतान्तर बनाएका छन् ।रेखाविरुद्ध एमालेका महासविच शंकर पोखरेल चुनावी मैदानमा छन् । उनले अहिलेको अग्रता कायमै राख्ने नराख्ने निश्चित छैन ।
जाजरकोटमा माओवादीका शक्तिबहादुर बस्नेत, महोत्तरी १ मा गिरिराजमणि पोखरेल, सुनसरी १ मा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बा अगाडि छन् । भने, सर्लाही २ माओवादीबाट उम्मेदवार बनेका नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय र रौतहट ३ मा प्रभु शाह पनि अगाडि छन् ।
माओवादी केन्द्रबाट काठमाडौं उपत्यकामा उम्मेदवार बनेकाहरू पराजित हुने देखिएको छ । काठमाडौं २ मा उम्मेदवार बनेकी पूर्वसभामुखसमेत रहेको ओनसरी घर्ती मगर तेस्रो स्थानमा छिन्। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले सुरुवाती चरणदेखिनै अग्रता लिएकी छन् ।
मतगणनाको प्रारम्भिक नतिजाअनुसार काठमाडौं ७ की उम्मेदवार मानुषी यमी भट्टराई तेस्रो स्थानमा छिन् । त्यहाँ रास्वपाका गणेश पराजुलीले अग्रता लिइरहेका छन् । भने एमाले श्याम घिमिरेले पछ्याइरहेका छन् ।काठमाडौं ९ मा उम्मेदवार रहेकी कल्पना धमला तेस्रो स्थानमा रहेर पराजित भइसकेकी छन् ।
त्यहाँ एमोलका कृष्णगोपाल श्रेष्ठ जित्दा रास्वपाका टेकबहादुर पोखरेल दोस्रो भए ।काठमाडौं १० मा कांग्रेसका राजेन्द्रकुमार केसीले अग्रता लिइरहेका छन्। उनलाई रास्वपाका प्रदीप विष्ट, एमालेका हिमेश केसी र राप्रपाका बलराम थापाले पछ्याइरहेका छन्। त्यहाँ माओवादीकी उम्मेदवार अञ्जना विशंखे पाँचौ स्थानमा छिन्।
यस्तै, ललितपुर ३ मा उम्मेदवार रहेकी पम्फा भुसाल पराजित भइसकेकी छन् ।उपत्यकामा मात्रै भएर प्रदेशगत रूपमा हेर्दा पनि माओवादी उम्मेदवारले दाबी गरेझैं नतिजा ल्याउन सकेका छैनन् । झापा २ मा हरिकुमार राना हार्ने निश्चित भइसकेको छ । त्यहाँ एमालेका देवराज घिमिरे र स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालबीच प्रतिस्पर्धा भइरहेको छ ।
यस्तै, नुवाकोट १ मा हितबहादुर तामाङ, महोत्तरी २ मा मातृका यादव, सिरहा ३ मा विश्वनाथ साह, महोत्तरी १ मा गिरिराजमणि पोखरेल, सर्लाही नरेन्द्र साह, सिन्धुपाल्चोक १ मा माधव सापकोटा सुवोध, चितवन ३ मा भोजराज ढकाल, भक्तपुर १ मा सुनिल गोठे पछाडि छन् ।
कास्की ३ रामजी बरालको पराजय लगभग निश्चित देखिएको छ । बागलुङ २ मा देवेन्द्र पौडेलले अग्रता कायम राख्दा कपिलवस्तु १ मा चन्द्रप्रसाद खनाल, बाँके १ महेश्वर गहतराज कठिन प्रतिस्पर्धामा पछि परेका छन् । बर्दिया २ मा सुरेन्द्र पन्थी र जुम्ला गोमा कुँवर राप्रपाका ज्ञानेन्द्र शाहीसँग हार्ने पक्का भइसकेको छ ।
कैलाली २ मा भगत बढुवाल र बैतडी नरेन्द्र कुँवर पनि पछाडि छन् । कन्चनपुर १ मा विना मगर पनि आधा मतले पछाडि छन् ।यस्तै, मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डललाई माओवादीका शिवकुमार मंडलले पछ्याइरहेका छन् ।भने, ताप्लेजुङ खेलप्रसाद बुढाथोकी रहेको क्षेत्रमा मत गन्न बाँकी छ ।
उनीसँग एमालको योगेश भट्टराई चुनावी प्रतिस्पर्धामा छन् । बारा २ मा रामचन्द्र कुशवाह, हुम्ला कार्चेन लामा, कालिकोट महेन्द्रबहादुर शाही रहेको क्षेत्रमा पनि मतगणना बाँकी छ ।यसैबीच कालिकोटको सुरुवाती मतगणमा शाही पछि परेका छन् । दोलखामा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की छन्, त्यहाँ बुथ कब्जा भएको भन्दै एमालेले पुनः मतदान मागेकाले गणना सुरू भएको छैन ।
Leave A Comment