खोटाङ । खोटाङका एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार विशाल भट्टराईले अपेक्षाकृत मत प्राप्त गर्न असफल भएको बताएका छन् ।पछिल्लो मतगणना अनुसार माओवादीका उम्मेदवार रामकुमार राई ‘पासाङ’ १२हजार १२४ मतसहित अग्रस्थानमा छन् ।
भट्टराईले ११ हजार २९४ मत पाएका छन् । भट्टराई वाम लोकतान्त्रिक गठबन्धन उम्मेदवार राईभन्दा ८३० मतले पछि परेका छन् ।भट्टराईले सामाजिक संजालमा लेखेका छन्, ‘अहिलेसम्मको मतगणनाको अवस्था यहि नै हो । हाम्रो पार्टी अपेक्षाकृत मत प्राप्त गर्न असफल देखिएको छ ।
अब बाराहपोखरी, खोटेहाङ, साकेला, दिक्तेल , रावाबेंशी र केपिलासगढीको मतगणना गर्न बाकी रहेको छ । जे छ मतपेटिका भित्र छ । जनताको मत मेरो लागि सदा सर्बदा शीरोपर छ ।’उता दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्र प्रसाद बडू विजयी भएका छन् ।
नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्नालाई २ हजार १३४ मतले पराजित गर्दै विजयी भएका हुन् ।मुख्य निर्वाचन अधिकृत खेम राज भट्टका अनुसार बडूले २८ हजार ५१५मत प्राप्त गरे भने प्रतिस्पर्धी ठगुन्नाले २६ हजार ३८१ मत प्राप्त गरे ।उता मतगणनाको सुरुदेखि नै पछि परेका नेकपा एमालेका नेता गोकुल बास्कोटा झिनो मतले अगाडि आएका छन् ।
बेथानचोक गाउँपालिका, बनेपा नगरपालिका र पनौतीका दुई वडाको गणना सकिदा बास्कोटाले २७६ मतको अग्रता लिएका छन् ।उनले १७ हजार ५२ मतले अग्रता लिँदा गठबन्धनका उम्मेदवार शिव हुमागाईंले १६ हजार ७७६ मत पाएका छन् । उता अछामबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पुष्पबहादुर शाह विजयी भएका छन् ।
पाँच वर्षअघि एमालेका यज्ञबहादुर बोगटीसँग पराजित खतिवडाले यस पटक बोगटीलाई नै पराजित गरेका हुन् ।शाह २२ हजार ९५४ मतसहित विजयी हुँदा बोगटी १६ हजार ११४८ मत पाएर पराजित भए । शाह ६ हजार ८४० को मतान्तरले विजयी भएका हुन् । २०७४ को निर्वाचनमा शाहलाई बोगटीले २ हजार ८५९ मतान्तरले पराजित गरेका थिए ।
यस पटक शाहले तेब्बर मतान्तरले पराजित गरेको छन् ।२०७४ को निर्वाचनमा बोगटीले २१ हजार ९६५ मत प्राप्त गर्दा शाहले १९ हजार १०६ मत प्राप्त गरेका थिए । अघिल्लो निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले तालमेल गरेका थिए भने यस पटक नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) सँग तालमेल छ ।
त्यस्तै – सोलुखुम्बुको प्रदेश सभा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बुद्धिकुमार राजभण्डारी दोस्रोपटक निर्वाचित भएका छन् ।उनले सत्ता गठबन्धनमा माओवादी उम्मेदवार शिवबहादुर बस्नेतलाई पराजित गरेका हुन् । राजभण्डारीले १०१२८ मत प्राप्त गर्दै विजयी हुँदा माओवादीका बस्नेत ६८१५ मतमा रोकिएका छन् ।
त्यस्तै रुपन्देहीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ल विजयी भएका छन् ।निर्वाचन अधिकृत देवेन्द्र आचार्यले क्षेत्र नम्बर ४ को ७६ हजार ६ सय ७५ मत गणना हुँदा शुक्लाले २८ हजार मत प्राप्त गरेको जानकारी दिए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमोद कुमार यादवले २२ हजार ७ सय ४ मत पाएका छन् । यादव सोही क्षेत्रका निवर्तमान सांसद हुन् ।यहाँबाट जनमत पार्टीका भोपेन्द्र यादवले १५ हजार ५ सय २६ मत पाएका छन् । नेकपा एमालेको समर्थनमा जनता समाजवादी पार्टीका ओमप्रकाश यादव चौथो स्थानमा रहेका छन् ।
१ लाख दस हजार ६ सय ५९ मतदाता रहेको क्षेत्रमा ७७ हजार ६४ मत खसेको थियो। लोसपाका कार्यकारिणी समितिका सदस्य रहेका शुक्ला योसहित तेस्रो पटक सो क्षेत्रबाट सांसद चुनिएका हुन् ।उता पश्चिम नवलपरासी प्रतिनिधि सभा २ को प्रदेश सभा १ मा स्वतन्त्र भएर उम्मेदवारी दिएका खड्ग बहादुर बस्नेत विजयी भएका छन् ।
खड्काले १२ हजार ४ सय ४९ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका आशिष प्रधानले १२ हजार ३ सय ७८मत प्राप्त गरेका छन् ।७१ मतको झिनो अन्तरले खड्का विजयी भएका हुन् । तेस्रो स्थानमा एमालेका थानप्रसाद गैरेले ९ हजार ९सय ७९ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेकपा माओवादीबाट प्रदेश सभामा दाबी प्रस्तुत गरेका खड्काले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।गठबन्धनको समर्थनमा माओवादीका आधिकारिक उम्मेदवार चिनक कुर्मीलाई चौथो स्थानमा पुगेका छन् । बस्नेत र कुर्मीलाई समर्थन गर्ने विषयमा यहाँको नेतृत्व पटक पटक विवादमा तानिएका थिए ।
डाक्टर बाबुराम भट्टराई निकट कुर्मीले केन्द्रबाट टिकट ल्याए पनि स्थानीय कार्यकर्ताले बस्नेतलाई साथ दिएका थिए ।मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (२) मा नेकपा एमालेका एकालाल श्रेष्ठ निर्वाचित भएका छन् ।एमाले जिल्ला कमिटी अध्यक्षसमेत रहेका श्रेष्ठले गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका आनन्दराम पराजुलीलाई ८ सय ७१ मतान्तरले पराजित गरेका हुन् ।
४ मंसिर आइतबार भएको मतदानमा प्रदेशसभा ९ख० मा ४५ हजार २ सय ५६ मत खसेको थियो । जसमा श्रेष्ठले १४ हजार २ सय २५ मत ल्याउँदै जित निकाले । पराजुलीले १३ हजार ३ सय ५४ मत ल्याएका छन् ।त्यस्तै झापा निर्वाचन क्षेत्र नं. २(२) बाट प्रदेश सभा सदस्य पदमा नेकपा एमालेका तिलचन पाठक (चिन्तन) भारी मतान्तरले विजयी भएका छन् ।
नेकपा एमाले प्रदेश कमिटीका सचिवसमेत रहेका पाठकले २० हजार १८४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिष्पर्धी सत्ता गठबन्धनका उम्मेदवार खगेन्द्र मैनालीले १६ हजार ३४४ मत प्राप्त गरे ।नेपाली कांग्रेसका मैनालीले ३ हजार ८४० मत कम पाएका हुन् ।
यसअघि झापा २(१)बाट नेकपा एमालेका एकराज कार्कीले पनि १२ हजार ६३० मतको अन्तरले सत्ता गठबन्धनका उम्मेदवार पुष्प पोखरेललाई पराजित गरिसकेको छन् ।त्यस्तै माओवादीका नेता हरिबहादुर चुमान दोस्रो पटक गण्डकी प्रदेश सभा सदस्य चुनिएका छन् । चुमान तनहुँ १ (२) बाट निर्वाचित भएका हुन् ।
चुमानले १३ हजार २७१ मत ल्याएर चुनाव जितेका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर गुरुङले १० हजार ४९८ मत पाउन सके । यहाँ कुल ३० हजार ३८१ सदर मत खसेको थियो । पूर्णबहादुर गुरुङ चुनाव अघि नेपाली कांग्रेस परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका थिए ।
निर्वाचित भएका चुमानले नेपाल प्रेससँग संक्षिप्त कुराकानी गर्दै अब आफूले मुख्यमन्त्रीको दाबेदारी दिने बताए । ‘अहिलेसम्म केही बोल्न मिल्ने अवस्था थिएन, अब मुख्यमन्त्रीको दाबेदारी दिन्छु, मेरो स्वतः दाबेदारी रहन्छ,’ उनले भने ।यससँगै माओवादी केन्द्रले गण्डकी प्रदेश सभामा ३ सिट जितेको छ । यसअघि माओवादी केन्द्रले म्याग्दी १ (२) र गोरखा १ (१) मा प्रदेशसभा सदस्य जितेको छ ।
उता नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।भर्खरै सकिएको मत गणनाअनुसार बानियाँले नेकपा एमालेका लालबहादुर थापालाई हराउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।बानियाँले थापालाई १७८२ मतान्तरले हराएका हुन् । बानियाँले १८७१७ मत प्राप्त गर्दा एमालेका थापाले १६९३५ मत प्राप्त गरेका हुन् ।
Leave A Comment