Latest
img

पाँच महिनाअघिमात्रै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले यसकारण तोड्यो ठुला दलका किल्ला

पाँच महिनाअघिमात्रै स्थापना भएको पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अप्रत्यासित चुनावी परिणाम ल्याउँदा स्थापित दलहरूलाई ठूलो धक्का लागेको छ । पुराना दलमा लामो समय काम गरेर अनुभव बटुलेका र राजनीतिमा स्थापित भइसकेका अनुहारहरू नै फराकिलो मतान्तरले हारेका छन् ।

अहिलेको प्रविधि र आधुनिक समाजको चरित्र बोकेका युवाहरूले सानो संगठन, कमजोर तयारी र पहिलो प्रयासमै चुनाव जितेका छन् ।स्वतन्त्र पार्टीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ५ क्षेत्रमा जित निकालेको छ । काठमाडौं–२ मा सोविता गौतम, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ र ललितपुर–३ मा तोसिमा कार्कीले जितेकी छन् ।

यी क्षेत्रमा कांग्रेस र माओवादी केन्द्रसहित चार दलीय गठबन्धनबाट उम्मेदवार बनेका बहालवाला मन्त्री जीवनराम श्रेष्ठदेखि पूर्वसभामुख ओनसरी घर्ती र पूर्वमन्त्री भीमसेनदास प्रधानसम्म फराकिलो मतान्तरले पराजित भएका हुन् ।स्वतन्त्र पार्टीले चुनाव नजितेका क्षेत्रमा समेत उल्लेख्य मत पाएको छ ।

काठमाडौं–९ मा उपविजेता बनेको छ भने काठमाडौं–१, ३, ५ र १० तथा ललितपुर–१ र २ मा तेस्रो भएको छ । रास्वपाले नेपाली कांग्रेसले जित्दै आएको काठमाडौं–६ र पहिले नेकपा एमालेले जितेका काठमाडौं–२, ७ र ८ तथा माओवादी केन्द्रले जित्दै आएको ललितपुर–३ खोसेको हो ।

काठमाडौं–२ बाट ०७० र ०७४ मा माधवकुमार नेपालले एमालेबाटै चुनाव जितेका थिए । एमाले फुटाएर नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनेका नेपाल यसपटक यहाँबाट उठेनन् । यहाँ नेपाल नेतृत्वको पार्टी एकीकृत समाजवादीसहितको सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी पूर्वसभामुख ओनसरी घर्तीदेखि राप्रपाकी कुन्ती पोखरेलसम्म प्रतिस्पर्धी थिए ।

तर, चुनाव भने स्वतन्त्र पार्टीकी सोबिता गौतमले जितेकी छिन् ।गौतमले १५ हजार २२९ मत ल्याउँदा नेकपा एमालेका मणिराम फुयाल ११ हजार ५५५ मत ल्याएर दोस्रो भए । राप्रपाकी पोखरेल तेस्रो र गठबन्धनकी उम्मेदवार घर्ती चौथो भएका छन् ।पोखरेलले ११ हजार १४ र घर्तीले ९ हजार ४४९ मत पाएकी छन् ।

काठमाडौं–२ मा एमालेले जस्तै कांग्रेसले बलियो पकड बनाएको क्षेत्र हो, काठमाडौं–६ । तर, यसपटक यहाँबाट दुई पटक निर्वाचित भइसकेका नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री भीमसेनदास प्रधान फराकिलो अन्तरले पराजित भएका छन् । यहाँबाट स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन् ।

खनालले १४ हजार २०४ मत ल्याएर जिते भने नेकपा एमालेबाट उम्मेदवार बनेका पूर्वआईजीपी सर्वेन्द्र खनालले ८ हजार ९११ मत ल्याए । कांग्रेसका प्रधानले भने ८ हजार ८०५ मत पाए ।चुनावअघि काठमाडौं–७ मा माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमि भट्टराईको चर्चा थियो । तर, चुनाव भने स्वतन्त्र पार्टीका गणेश पराजुलीले जितेका छन् ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन उम्मेदवार मानुषी भने तेस्रो भइन् । पराजुलीले ८ हजार ७४३ मत ल्याएर चुनाव जित्दा नेकपा एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८ सय मत पाएका छन् । मानुषीले ६ हजार ६३ मत पाएकी छिन् । यहाँबाट ०७४ मा नेकपा एमालेका रामवीर मानन्धर निर्वाचित भएका थिए ।

यसपटक एमालेमा टिकट नपाएका रामवीरले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले ७५३ मत ल्याए ।त्यस्तै, काठमाडौं–८ मा पनि बहालवाला मन्त्री जीवनराम श्रेष्ठलाई पराजित गर्दै स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । ०७४ मा एमालेबाट चुनाव जितेका जीवनराम यसपटक कांग्रेस नेतृत्वको गठबन्धनमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार थिए ।

तर, स्वतन्त्रका विराजभक्तले फराकिलो मतान्तरसहित चुनाव जितेका छन् । उनले १० हजार १०५ मत ल्याउँदा हाम्रो नेपाली पार्टीका सुमन सायमीले ५ हजार ८८९ मत ल्याएका छन् । जीवनरामले भने ४ हजार ८७७ मतमात्रै ल्याएका छन् ।उता ललितपुर–३ मा पनि बहालवाला मन्त्री पम्फा भुसाल पराजित भएकी छिन् ।

यहाँ पनि स्वतन्त्र पार्टीकै तोसिमा कार्कीले जितेकी छिन् । कार्कीले ३१ हजार १३६ मत ल्याउँदा नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत ल्याएका छन् । सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रहेकी मन्त्री भुसालले ८ हजार ७६९ मत मात्रै पाइन् ।

काठमाडौंका दस क्षेत्रमध्ये ०७४ मा एमालेले क्षेत्र नं २, ३, ५, ७, ८ र ९ गरी छ क्षेत्रमा जितेको थियो । यसपटक एमालेले क्षेत्र नं. ९ मात्रै जितेको छ । यो क्षेत्रमा एमालेका कृष्णगोपाल श्रेष्ठ दोहोरिएका छन् । त्यस्तै, कांग्रेसले पहिले क्षेत्र नं. १, ४, ६ र १० गरी चार क्षेत्र जितेको थियो । यसपटक कांग्रेसले पाँच क्षेत्र जितेको छ ।

कांग्रेसबाट क्षेत्र नं. १ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालिसे, ४ मा गगन थापा, ५ मा प्रदीप पौडेल र १० मा राजेन्द्रकुमार केसी निर्वाचित भएका छन् । यीमध्ये सिंह, थापा र केसीले आफ्नो क्षेत्रमा जितको हृयाट्रिक पूरा गरेका छन् । चालिसे र पौडेल पनि संसदीय यात्राको पहिलो प्रयासमै संसद्मा प्रवेश पाएका छन् ।

विराजभक्त श्रेष्ठ- काठमाडौं–८ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका ४१ वर्षे श्रेष्ठ प्रदेशसभामा सांसद्का रूपमा अनुभव बटुलिसकेका नेता हुन् । ०७४ मा विवेकशील साझाबाट समानुपातिकमा वाग्मती प्रदेशसभा सदस्य बनेका उनी यसपटक स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचन प्रचारमा ‘मतदान होइन, मत लगानी गरौँ, आउने पुस्ताको भविष्य सुनिश्चित गरौँ’ भन्ने नारा लिएर मातदातामाझ गएका थिए ।काठमाडौंको इन्द्रचोकमा जन्मिएका उनले बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातक गरेका छन् । पढाई सकेपछि सामाजिक अभियन्ता र सफल उद्यमीकोरुपमा चिनिएका श्रेष्ठले विभिन्न होटल र रेष्टुरेण्टहरू सञ्चालन गरेका छन् ।

प्रदेशसभामा नेपाल भाषा र तामाङ भाषालाई प्रदेश सरकारको काम काजको भाषाको मान्यता दिने कानुन बनाउन नेतृत्वदायी भूमिका खेलेका उनले इन्द्र चोक पुननिर्माण, शंखधर स्वास्थ्य नागरिक पार्क निर्माण लगायत योजना भित्राए । त्यसअघि उनी काठमाडौंमा भएका गुठी विधेयकविरुद्धको आन्दोलन र अकुपाई टुँडिखेललगायतका आन्दोलनबाट चिनिएका हुन् ।

सोबिता गौतम- काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी २७ वर्षे गौतम अधिवक्ता हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी उनी हालसम्म निर्वाचित भएकामध्ये सबैभन्दा कान्छी हुन् ।सम्भवतः उनी नै आगामी संसद्की सबैभन्दा कान्छी सदस्य रहनेछन् ।

नेपालमा पटक–पटक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन नभएको विषयलाई चुनावी मुद्दा बनाएकी उनले चुनावको बेला मतदातामाझ पुगेर परिवर्तनको आशा जगाउने काम गरेकी थिइन् ।नेपाल टेलिभिजनमा कार्यक्रम निर्माता र प्रस्तोताका रूपमा काम गरेकी उनी

पछिल्लो समय विभिन्न सामाजिक संघसंस्थाको नेतृत्वमा रहेर समेत काम गरिसकेकी छिन् । उनले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सल्लाहकारका रूपमा समेत काम गरेकी छिन् । नेपाल युवा संस्था सञ्जाल (आयोज)को निबर्तमान बोर्ड सदस्य रहेकी उनले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा इन्टर्नसिप गरेकी थिइन् ।

शिशिर खनाल- काठमाडौं क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका ४३ वर्षे खनाल काठमाडौं बनस्थलीका हुन् । खनालले अमेरिकाबाट राजनीतिक अर्थशास्त्र र सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन् । त्यसपछि केही समय उनी तुलसीपुर उपमहानगरपालिकाको शैक्षिक सल्लाहकारका रूपमा समेत रहे ।

अहिले उनी डेलिभरी र लजिस्टिक सेवा उपलब्ध गराउँदै आएको पिक एन्ड ड्रप्सका सञ्चालकसमेत हुन् । सन् २०१९ मा उनले युवा सीईओको अवार्डसमेत पाएका थिए ।शैक्षिक क्षेत्रमा खनालको विशेष परिचय छ । उनी टिच फर नेपालका सहसंस्थापक हुन् ।

यो संस्थाले नेपालका ग्रामीण भेगमा रहेका सरकारी विद्यालयमा करिब ५० हजार विद्यार्थीहरूलाई पढाउँदै आएको छ ।टिच फर नेपालले विश्वविद्यालयबाट स्नातक उत्तीर्ण युवाहरूलाई ग्रामीण भेगमा रहेका सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि फेलोसिप दिँदै आएको छ ।

जसमा छनोट भएका युवाहरूले २ वर्ष पारिश्रमिकसहित सरकारी विद्यालयमा पढाउँछन् । सामान्य मोबाइल वा कम्प्युटरको प्रयोगबाट सिकाइ पद्धतिमा सुधार ल्याउन सम्भव छ भन्ने कुरा टिच फर नेपालको प्रयोगले देखाएको छ ।सार्वजनिक शिक्षा सुधारमा उदाहरणीय भूमिका खेलेका खनाल सार्वजनिक शिक्षा सुधार र दिगो सहरी विकासलगायत एजेन्डा लिएर मतदातामाझ पुगेका थिए ।

गणेश पराजुली- काठमाडौं क्षेत्र नं. ७ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ४३ वर्षे पराजुली खोटाङमा जन्मिएका हुन् । पढ्नका लागि काठमाडौं आएका उनी अहिले एक सफल युवा व्यवसायीका रूपमा छन् । बालाजु नजिक चमतीमा हिमालयन हृयान्डिक्राफ्ट इण्डष्ट्रिज सञ्चालन गरेका उनले प्रत्यक्षरुपमा करिब ४० जनालाई रोजगारी दिएका छन् ।

अहिले उनले उद्योग, होटल तथा हस्पिटालिटी, कफी शप लगायत क्षेत्रमा लगानी गरेका छन् । व्यवस्थापन संकायमा स्नातकसम्म अध्ययन गरेका उनी अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लबमा समेत संलग्न रहेर सामाजिक कार्यहरूमा सक्रिय थिए । उनी देशमा व्याप्त बेथिति र भ्रष्टाचार अन्त्य गर्ने विषयलाई चुनावी मुद्दा बनाएर मतदातामाझ गएका थिए ।

तोसिमा कार्की- ललितपुर निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ३३ वर्षे तोसिमा कार्की चिकित्सक हुन् । चिकित्सा क्षेत्रको सुधारका लागि भएका आन्दोलनमा सहभागी हुँदै आएकी उनी हाल नेपाल मेडिकल काउन्सिलकी सदस्य समेत हुन् ।

काउन्सिलको सदस्यका रूपमा उनले सुविधा लिएको विषयलाई लिएर परेको उजुरीमा निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । तर, सर्वोच्च अदालतले उनको उम्मेदवारी कायम रहने फैसला गरिदिएको थियो । उनको उम्मेदवारीका विषयमा मुद्दा परेपछि तोसिमाको थप चर्चा चुलियो ।

ललितपुरको नख्खुमा जन्मिएकी उनले किष्ट मेडिकल कलेजबाट एमबीबीएस र काठमाडौं विश्वविद्यालयबाट शल्य चिकित्सा विषयमा स्नात्तकोत्तर गरेकी छिन् । उनी यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापकसमेत थिइन् । उनी निर्वाचनमा स्वास्थ्य क्षेत्रको सुधार र स्वस्थ समाज निर्माणको मुद्दालाई अघि सारेर मतदातामाझ पुगेकी थिइन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment